मलेसियाका मानव संशाधन मन्त्री नेपाल आउँदै, ‘फ्रि भिसा’का लागि कात्तिक १२ गते हस्ताक्षर हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मलेसियाका मानव संशाधन मन्त्री नेपाल आउँदै, ‘फ्रि भिसा’का लागि कात्तिक १२ गते हस्ताक्षर हुने


२८ आश्विन २०७५, आइतबार


काठमाडौं । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन नेपाल आउने भएका छन् । नेपाल – मलेसियाबीच भएको सम्झौता पत्रमा हस्ताक्षर गर्न कात्तिक ११ गते मन्त्री कुलेसागरन नेपाल आउने भएका हुन् ।

गत असोज १२ गते एमओयूको मस्यौदमा दुई देशबीच सहमति जुटेको थियो । कात्तिक १२ गते सो सहमतिमा दुई देशबीच हस्ताक्षर हुने छ । हस्ताक्षर पछि लगतै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्ने छ ।

समझदारीपत्रमा नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति रहेको छ । एमओयूमा हस्ताक्षरपछि कुनै पनि शुल्क तिर्नु नपर्ने गरी सहमति भएको जनाइएको छ ।

कामदारको स्वास्थ्य परीक्षण यसअघि २९ वटा मात्र मेडिकलले चलाएकामा अब नेपाल सरकारबाट मान्यताप्राप्त जुनुसुकै स्वास्थ्य संस्थाबाट कामदारको मेडिकल हुनेछ । मेडिकलका लागि ४५ सय तिर्नु पर्नेमा अब बढीमा २ हजारमा मेडिकल गरिने जनाइएको छ । त्यो पनि रोजगारदाताले दिने छ ।

एमओयू अनुसार अब नेपाली कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि  करार अवधि तीन वर्षको थियो । कम्पनीले चाहेमा २ वर्षको करार अवधिपछि पुनः कामदार फर्किन सक्ने जनाइएको छ ।

कामदार पठाउने म्यानपावर एजेन्सीले सेवा शुल्क बापत कामदारको आधा महिनाको तलब बराबरको रकम पाउने जनाएको छ तर सो रकम कामदारको तलबबाट भने काटिने छैन । मस्योदामा रोजगारदाताले सो रकम तिर्ने सहमति भएको छ ।

केही महिनादेखि नेपाली कामदार मलेसिया जान रोकिएको थियो । कामदारलाई आर्थिक शोषण गर्दै आएका विभिन्न पाँच संस्थालाई मन्त्रालयले गत जेठमा खारेज गर्दै कारबाहीको दायरमा ल्याएपछि नयाँ श्रम स्वीकृति लिएर मलेसिया जाने प्रक्रिया बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस