पूर्वन्यायाधीश शर्माको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वन्यायाधीश शर्माको निधन


२५ आश्विन २०७५, बिहिबार


काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

पर्वत जिल्ला, फेलेवास नगरपालिकामा वि.सं. २००४ असार २० गते जन्मनुभएका शर्मा वि.सं. २०३० चैत १ गतेदेखि न्याय सेवाको शाखा अधिकृत पदबाट सेवा प्रारम्भ गरी जिल्ला न्यायाधीश, पुनरावेदनको मुख्य न्यायाधीश हुँदै वि.सं. २०६५ माघ ९ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भई २०६८ चैत १ गते सेवा निवृत्त हुनुभएको अदालतले जनाएको छ । शर्मा संवैधानिक, वातावरणीय र वाणिज्य कानूनका क्षेत्रमा विशेष दखल राख्थे ।

यसैबीच अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले आज जारी गरेको प्रेस विज्ञप्तिमा शर्माको निधनले न्यायालय अत्यन्त मर्माहत भएको तथा न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतको न्याय सम्पादनका क्रममा रहँदा शर्माले न्यायपालिकामा सूचना प्रविधिलाई संस्थागत गर्ने, अदालत तथा न्यायाधीशको सुरक्षा व्यवस्था चुस्त बनाउने र न्यायिक जनशक्ति व्यवस्थापन लगायतमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

सर्वोच्चका अनुसार उनी एक निर्भीक, मिलनसार, सहृदयी, मृदुभाषी, न्यायका मर्मज्ञ, कानूनका ज्ञाता एवं अनुभवी र न्यायिक क्षेत्रमा स्थापित व्यक्तित्व थिए । रासस

प्रतिक्रिया दिनुहोस