जड्याहा छुटाउन दवाब दिनेलाई थुन्न नगर प्रमुखको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जड्याहा छुटाउन दवाब दिनेलाई थुन्न नगर प्रमुखको निर्देशन


२५ आश्विन २०७५, बिहिबार


डोटी । दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले चाडपर्वको समयमा मदिराको बिक्रिबितरण र सेवन अत्याधिक हुने गरेकोले यसलाई नियन्त्रण गर्न प्रहरीलाई आग्रह गरेकी छन् ।

६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख मलासीले मदिरा सेवन गरेर होहल्ला गर्नेलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएकी छन् । ‘जड्याहालाई नियन्त्रणमा लिनु गर्‍यो र त्यस्ता जड्याहलाई छोड्न दवाव दिनेलाई पनि नियन्त्रणमा लिनु पर्‍यो’ मलासीले भनिन्, ‘एक जड्याहका कारण टोलबासीकै चाडपर्व बिग्रिन्छ ।’

मलासीले दशैं तिहारको समयमा प्रहरीकै संलग्नतामा जुवा तास खेलाइने गरेको बिगतमा थुप्रै गुनासाहरु आएकोले प्रहरीलाई सजग हुन आग्रह गरिन् । ‘प्रहरी आफै संलग्न भएर जुवातास खेलाउछन् भन्ने सन्देश जनतामा गएको छ’, उनले भनिन्, ‘प्रहरीले यो आरोपलाई चिर्न सक्नु पर्छ ।’ उनले प्रहरीको गस्तिमा आफु पनि संगसंगै जाने बताइन ।

‘म आफै पनि तपाईहरुसँग सुरक्षा गस्तिमा जान्छु, तपाइहरुलाई के-के सहयोग गर्नुपर्छ म त्यसका लागि तयार छु’ मलासीले भनिन्, ‘नगरबासीहरुले शान्तिपूर्ण रुपमा दशैं मनाउने बातावरण बन्नु पर्छ भन्ने मेरो आग्रह हो ।’ उनले चाडपर्वको बेला सवारी दुर्घटना बढी हुने, मदिरा सेवन गरी झैंझगडा बढी हुने, चोरीका घटनाहरु हुने गरेकोले प्रहरीलाई सतर्क रहन आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले ढुक्क भएर चाडपर्व मनाउन जिल्लाबासीलाई आग्रह गरे । ‘शान्ति सुरक्षाको जिम्मा हाम्रो हो’ माझीले भने ‘हामीलाई सहयोग पुग्ने गरी जिल्लाबासीहरुले काम गरिदिनु पर्‍यो ।’ उनले दशैंको टिका लगाउने दिन कुनै व्यक्तिलाई ल्याएर खोरमा थुन्नु आफुहरुलाई पनि रहर नभएको बताए । चाँडपर्व मनाउदा शान्ति सुरक्षा खल्वलाउने गरी कुनै पनि गतिबिधि नगर्न माझीले आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस