हाकिम साब ! जागिर छोडौँ कि बच्चा ? « प्रशासन
prasaLogo
२२ आश्विन २०७५, सोमबार

हाकिम साब ! जागिर छोडौँ कि बच्चा ?


प्रकाशित मिति : 8 October, 2018 7:30 am

हाकिम साब

२८ वर्षीया साधना खत्री (नाम परिवर्तन) नायब सुब्बा स्तरकी सरकारी कर्मचारी हुन् । गत वैशाखको पहिलो साता उनले छोरी जन्माइन् । प्रसूति व्यथा नलागुन्जेलसम्म उनी कार्यालय आइन् । उनका श्रीमानले एक महिना घर बिदा लिएर घरमै आराम गर्न सुझाएका थिए । तैपनि उनी सकेसम्म कार्यालय गइन र आफ्नो जिम्मेवारी पूरा गरिन् । उनले निजामती सेवा ऐन तथा नियमावली अनुसार ९८ दिन प्रसूति बिदा पाइन, उक्त अवधिको तलब पनि पाइन । बिदा सकिएपछि थप बिदा स्वीकृत गराउन उनी कार्यालय गइन । तर, हाकिमसाबले उनलाई देख्नासाथ कामको चाङ देखाउन थाले । ‘साधनाजी तपाईँको बिदा सकियो । आजदेखि प्रशासनको काम सम्हाल्नुस्, स्टोरको काम पनि अर्को व्यवस्था नभएसम्मको लागि तपाईँकै जिम्मामा ।’ तीन महिनाकी छोरीलाई दुध खुवाएर श्रीमानको जिम्मा लगाएर एकैछिनमा आउने बाचासहित कार्यालय पुगेकी साधना हाकिमका कुराले अवाक् भइन । ‘सर म काम गर्न होइन, थप ६ महिना वेतलबी बिदा स्वीकृत गराउन आएकी हुँ, मेरो बच्चा सानो छ हेरिदिने कोही छैन यो बिदा स्वीकृत गरिदिनु न ।’ तर, उनको अनुनय हाकिमले सुनेनन् । भने, ‘तपाईँको बिदा सकियो आजदेखि अघि भनेको जिम्मा तपाईँको हो १०–५ दायाँबायाँ गर्न पाइँदैन…।’

जबकी निजामती सेवा ऐन, नियमावलीमै व्यवस्था गरिएको छ महिला कर्मचारीले प्रसूति बिदासँगै थप ६ महिना बेतलवी बिदा लिन पाउँछन् । तर, हाकिम ‘निर्दयी’ बनेपछि साधनाको गला अवरुद्ध बन्यो । उनले मनमनै सोचिन्– ‘यिनका पनि दिदीबहिनी÷छोरीबुहारी होलान्, भोलि उनीहरूलाई यस्तै अवस्था आइपर्दा के भन्दा हुन् ? आफ्ना नातेदार, चाकडीवाजहरूलाई बिना काममा पनि काज दिन्छन्, मनलाग्दी बिदा दिन्छन्, तर, कतै पहुँच नभएको एउटा महिला कर्मचारी आपूmले पाउनुपर्ने बिदा लिन जाँदा पनि स्वीकृत गरिदिन्नन् ।’ उनले निकै कर गर्दा पनि बिदा स्वीकृत भएन । हाकिम साब एकोहोरो भनिरहे, ‘सक्नुहुन्छ भने बरु अन्ततिर सरुवा गर्नुस्, यहाँ बसेपछि त जिम्मेवारी बहन गर्नैपर्छ, अर्को दरबन्दी छैन, दरबन्दी पनि ओगट्ने, काम पनि गर्न सक्दिनँ बिदा बस्छु भनेर त कहाँ पाइन्छ र ?’

अहिले साधनालाई सरकारी कर्मचारी भएकोमा ग्लानी भइरहेको छ । ‘प्राइभेट अफिसमा शोषण हुन्छ भनेको त सरकारी कार्यालयमै निम्छरा कर्मचारीको यो हालत हुँदोरहेछ यो कहानी कसलाई सुनाऊ ?’ उनी भन्छिन् । हाकिम साबलाई उनको प्रश्न छ– जागिर छोडौँ कि बच्चा ? बच्चाको भविष्यको लागि रातदिन मरिमेटेर नाम निकालेर जागिर खाएको के अर्थ भयो ? जब त्यही बच्चालाई दुध खुवाउने अधिकारसमेत हाकिम साबले खोसिदिएपछि । जागिर छोडौँ भने रातदिन घुँडा धसेर मिहिनेतले पाएको हो, नछोडौं भने बच्चालाई यातना दिएर उसलाई स्तनपान समेत बेलामा गराउन नपाएपछि के जागिर खाने ?

अर्की एक प्राविधिक स्तरकी महिला कर्मचारीलाई सरकारी कार्यालयकै हाकिमले दिएको वचन कम बिझेको छैन । उनका श्रीमानको उपत्यकाबाहिर सरुवा भयो । पाँच र सात वर्षका दुई छोराछोरी उनकै जिम्मामा थिए । रातिको सिफ्टको काम उनको लागि सहज थिएन । एक त महिला कर्मचारी त्यसमाथि दुई सन्तानको एकल जिम्मेवारी, उनी धेरै पटक हाकिमको कोठा चहारिन्, धेरै बिन्ती गरिन् । आपूmलाई रातिको डिउटी नपारिदिन धेरै आग्रह गर्दा पनि हाकिमसाब गलेनन्, उल्टै आदेश दिए– तपाईँका छोराछोरी अफिसमै ल्याएर भए पनि आफ्नो काम समयमा पूरा गर्नुस् । हाकिम साबले ती कर्मचारीलाई कसरी त्यस्तो भने, सुन्दा पनि अचम्म लाग्छ । महिला कर्मचारीप्रति हाकिम साबहरू किन यति निर्दयी हुन्छन् ? हाकिमले आफ्नो छोरीको ठाउँमा ती कर्मचारी साथीको पीडा राखेर हेर्दा के सोच्दा हुन् ? एउटी महिलाले आफ्ना सन्तानको चिन्ता गरेर रातिको डिउटी फेरबदल गरिदिनुस् भन्दा ‘अफिसमै ल्याएर काम गर’ भन्ने हाकिम साबलाई कुन शब्दले सम्बोधन गरौँ ? सरकारी कार्यालयमा त महिला कर्मचारीलाई यस्तो निम्छरो व्यवहार गरिन्छ भने यस्तै अवस्थामा निजी संस्थामा काम गर्ने महिला कर्मचारीहरूले कति पीडा भोग्दा हुन् ? उनीहरूमाथि कति तल्लो स्तरको व्यवहार गरिँदो हो ? महिला कर्मचारीहरू आमा बनिसकेपछि निकै पीडामा देखिन्छन् । उनीहरूका गुनासाहरू हाकिम साबले सुन्न मन पराउँदैनन्, सबै महिलाको लागि बच्चा र जागिर एकसाथ अगाडि बढाउन मुस्किल छ । अझै निजी संस्थामा काम गर्ने महिला कर्मचारीको पीडा झनै दुःखद् छ ।

एक जना साथी निजी कार्यालयको लेखाप्रमुख थिइन् । उनले बच्चा जन्माउने अघिल्लो दिनसम्म कार्यालय गएर काम गरिन् । उनी प्रसूति भइसकेपछि दुई महिना बिदा पाइन् । बिदा सकिएपछि कार्यालय जाँदा उनको जागिर ‘चट्’ भइसकेको थियो । दुई महिनाको बच्चा घरमा सासूको जिम्मा लगाएर कार्यालय जाँदा जागिर खोसिएको थाहा पाएपछि ति साथीको हृदय छियाछिया भयो । मैले यत्रो वर्ष कार्यालयमा गरेको योगदानको कुनै मूल्यांकन भएन, म आमा बन्नु नै अपराधजस्तै गरे हाकिमले । ‘एउटी युवतीलाई निजी क्षेत्रमा पहिले विवाहित हो कि होइन भनेर सोधिन्छ । विवाहित हो भन्नासाथ जिम्मेवारी दिन हच्किन्छिन्, भोलि बच्चा जन्माइहाल्छन् काममा बाधा पर्छ भन्ने हाकिमहरूको मनसाय हुँदोरहेछ,’ उनले गुनासो पोखिन् ।

पोहोरसाल खरिदारमा नाम निकालेकी सविता खरेल (नाम परिवर्तन) मंसिरमा आमा बन्दैछन् । उनको मुटुमा समस्या छ, त्यही कारण मंसिरको पहिलो साता अप्रेसन गर्न डाक्टरसँग टाइम निकालेकी छन्, उनले । उनका श्रीमान उपत्यका बाहिरबाट काठमाडौं सरुवा भएका छन्, उनले आफ्नो पनि काठमाडौं सरुवा गरिदिन हाकिम साबलाई हजार चोटी बिन्ती गरिन्, तैपनि उनको गुनासो सुनुवाइ भएन । मुटुमा समस्या भएकी एउटी गर्भवती महिलाको चित्कार सुन्दैनन् सरकारी कार्यालयका हाकिम साबले । सविताले गुनासो गरिन्, ‘हाकिमहरू नेताले भने वा नेताका मान्छेको एक कल फोन गरे भने दरबन्दी नभएको ठाउँमा पनि दरबन्दी खडा गरेर सरुवा गर्न सक्छन् । तर, मैले अस्पतालका कागजात पेश गर्दा पनि सरुवा गर्न मानेनन् । सरकारी कर्मचारी भन्न पनि लाज लाग्छ, जहाँ पनि पावर नै लगाउनुपर्ने, मजस्ता कर्मचारीले कहिले न्याय पाउने ?’

कार्यक्षेत्र कहिले महिलामैत्री होला ? महिलाका समस्याका विषयमा उच्च पदस्थ हाकिम साबहरूको सद्बुद्धी कहिले आउला ? साना बच्चा घरमा छोडेर कार्यालय गएका महिलाहरूले बच्चालाई स्तनपान गराउन पाउँदैनन्, एकातिर स्तनपान गर्ने अधिकारबाट बच्चाहरू विमुख भइरहेका छन्, अर्कातिर महिला कर्मचारीहरू निर्धक्क भएर आफ्नो जागिर जोगिएको छ भन्न सकिरहेका छैनन् । सिंहदरबारभित्र स्तनपान कक्षहरू राखिए पनि त्यो महिलाहरूका लागि पर्याप्त हुन सकेको छैन । महिलाका संवेदनशील विषयमा उच्च ओहोदाका हाकिम साबहरू किन उदार हुन सकिरहेका छैनन् ? एउटी महिला कर्मचारीको नजरबाट होइन, आफ्ना बहिनी, छोरीको नजरबाट ति महिला कर्मचारीको पीडा बुझिदिएको भए सायद साधना, सविताजस्ता पात्रहरू सरकारी कर्मचारी हुँ भनेर पनि दुःखी हुनु पर्दैनथ्यो । अझ निजी क्षेत्रमा कार्यरत महिला कर्मचारीहरूको व्यथा कहिले सम्बोधन होला ?

Tags :
प्रतिक्रिया दिनुहोस