टिभीको बिल तिर्न पनि घुस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टिभीको बिल तिर्न पनि घुस


२१ आश्विन २०७५, आइतबार


काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिन एक सेवाग्राहीसँग पटकपटक घुस मागेको रहस्य खुलेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार टिभी गरिद गरी ल्याइदिन र त्यसको बिलवापतको रकम भुक्तानी गरिदिन भनेको अनुसन्धानका क्रममा खुलेको हो । प्रहरी उपरीक्षक राईले टिभी खरिदबापतको बिलको भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले शनिबार साँझ ८ बजे राईलाई महानगरीय वृत्त बौद्धको कार्यालयबाटै एक लाख ४० हजार घुससहित पक्राउ गरेको थियो । यस्तै आयोगले आज नापी कार्यालय बूढानीलकण्ठमा कार्यरत नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहानामा सेवाग्राहीसँग २५ हजार घुस माग्दामाग्दै गरेको अभियोगमा आयोगले केही दिन पहिले उनलाई पक्राउ गरेको थियो । आयोगले नापी सर्वेक्षक कुँवरविरुद्ध २५ हजार बिगो कायम गरी कैद सजायको माग गरेको छ ।

यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी जवान मानसिहं रोका र प्रहरी जवान रत्नप्रसाद रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा व्यवसायीसँग पाँच हजार घुस मागेको अभियोग उनीहरुमाथि लागेको छ ।

यस्तै आयोगले साविक जिल्ला विकास समितिको कार्यालय रुपन्देहीअन्तर्गत गजेडी गाउँ विकास समितिमा सचिव पदमा कार्यरत तत्कालीन शाखा अधिकृत राजकुमार श्रेष्ठ र कुञ्जी प्वाकल माध्यमिक विद्यालय, काठमाडौँका शिक्षक लक्ष्मण सापकोटाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस