नामजस्तै मंगल मंगलसेन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नामजस्तै मंगल मंगलसेन


२० आश्विन २०७५, शनिबार


मंगलसेन

शुक्रबारको दिन । बेलुका ४ बजेतिर अफिसबाट फर्केर आफ्नै कोठामा बसिरहेको थिएँ । बिस्तारै ढोका खुल्यो । हेरेँ, कोही थिएन । ढोका पश्चिमतिर फर्केको छ । घरको ग्यालरी हुँदै मसँग मितेरी गास्न आइपुग्ने त बतास पो रहेछ ।

चिसो बतास ढोका खोलेर मेरो अंग अंग सर्वाङ्ग हुँदै हृदयको चारैकुना पुग्यो, छोटो मंगलसेन बसाईका सारा यादहरू उधेलिएर मनैभरि बतास जस्तै सलबलाउन थाले । सायद त्यो बतास पनि अछामकै सुन्दरता र सुवासलाई बोकेर मसम्म आएको थियो । सुन्दर अछामको याद लिएर वा सायद त्यो शितल पवनसँगै प्रकृतिले पठाइदिएको थोरै शान्ति र एकान्तपन लिएर आएको थियो । अक्सर हुरीझैँ अस्थिर उडिरहने मेरो मनलाई प्रकृति माताले केही तिलस्मी खुश्वु मिश्रित अलौकिक झोक्काहरूसँग स्थिरता र लयबद्धता मिसाएर नासो पठाएको हुनुपर्छ ।

प्रकृतिकै काख रुचाउने, प्रकृतिकै वात्सल्यपूर्ण काखमा सुस्ताउने अनि सुस्ताइरहने र प्रकृतिको क्षणभङ्गुरतालाई स्वीकार्र्दै परे प्रकृतिकै काखमा अस्ताउने आकांक्षा बोकेको प्रकृति प्रेमीलाई प्रकृति नै भेट्न आएपछि, उपहार पठाएपछि, के नै चाहियो जिन्दगीमा संसार शान्तिले सजाएपछि । हुन त धेरै भएको छैन, अछामबाट फर्केको । तर, अफिसको काम, दिनभरि सेवाग्राहीसँगको कोकोहोलो, सेवा प्रवाह गर्दागर्दा कहिलेकाहीँ आफैलाई सम्झिने पनि फुर्सद हुँदैन । कुन्नी के हो, कर्मचारीको कुर्चीमा बसेपछि मेसिन भइँदो रहेछ ।

अधिकांश सेवाग्राहीले त कर्मचारी अमान्छे भन्ने सोच्दा रहेछन् । उसको आफ्ना इच्छा, आकांक्षा केही हुँदैनन्, उसँग मन नै हुँदैनजस्तो । सेवाग्राहीलाई मात्र के दोष दिनु, नेपाली राजनीतिका जिम्मेवार नायक भनाउँदाको खलनायकीपन पनि सबैसामु स्पष्ट नै छ । सबै दोष प्रशासनमाथि थोपरेर परिवर्तनको श्रेय लिन पल्केका राजनीतिका मसिहाहरू आफूलाई परिवर्तनकामी शक्ति सम्झिन्छन् । तर, परिवर्तनको मूख्य संवाहक संयन्त्र श्रमिक वर्गलाई दबाउन चाहन्छन् । कोही पूँजीवादी भएर कोही समाजवादीको खोल ओढेर रगत र पसिनाको अवमूल्यन गर्ने र धज्जी उडाउने काममा दिनरात कटिबद्ध छन्, नेपालका राजनीतिज्ञहरू ।

श्रमिक वर्गका प्रतिनिधि हौँ भन्ने, कम्युनिज्मको सुन्दरता, समानता र सहअस्तित्वका आदर्श सपनाहरू जनताको परिवर्तनकामी मानसिकतामा खेती गरी पद र प्रतिष्ठा हत्याउने व्यवहारमा पतितहरू सत्ताबाहिर हुँदामात्र साम्यवादी हुने रैछन््, सत्तामा पुगेपछि त कुनै शासक भन्दा कम लागेनन् । हुन त कर्मचारीतन्त्रमा पनि आफूलाई शासक सोच्ने प्रशासनका मसिहाको पनि कमी छैन । तर, ज–जसले प्रशासनको अधिकारको दुरुपयोग गरी सेवाको बदनामी गरेका छन्, ती राष्ट्रसेवक पनि कता–कता राजनीतिकै आडमा प्रशासनलाई खोक्रो बनाउँदै छन् । उनीहरूले कहिले नेताको विरोध त कहिले चाकरी गरी आफ्नो पोल्टो भरेकै छन् । गाह्रोसाह्रो त इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीलाई पो छ । वास्तवमा देशलाई संकट पर्दा भोक–निद्रा नभनी लागिपर्ने तिनै कर्मचारीमाथि राजनीतिले गिद्दे नजर लगाउनु राष्ट्रको समृद्धिका लागि चुनौती हो ।

प्रशासनमा मन्किरहेका केही झिंगा भगाउने नाममा प्रशासनको नाक काट्ने दुष्प्रयास कदापि समृद्धिको लक्ष्य सापेक्ष छैन । प्रशासनलाई प्रदूषित पार्ने केही तत्वहरू छन् भने ती राजनीतिबाट पोषित र संरक्षित छन् । आफ्नालाई मालदार अड्डामा सरुवा गर्ने, बढुवा गर्ने, भ्रष्टाचारीलाई संरक्षण दिने, बलात्कारी र हत्यारालाई उन्मुक्ति दिने जस्ता कार्यहरूले गर्दा प्रशासनमा शासक बन्न आएका रक्तपिपासु जुकाहरूले राज गर्न पाएका छन् । जनताले तिनै जुकाहरूको जीवनशैली र व्यवहार देखेर समग्र प्रशासनलाई गलत सम्झेका छन् । आफ्नो निजी स्वार्थका लागि एक–अर्काको विरोध र आलोचना गर्ने पतित राजनीतिज्ञ र भ्रष्ट प्रशासकले देशको समृद्धिमाथि धावा बोलिरहेका छन् । तिनीहरूको चपेटामा इमान्दारहरू धान खाएको आरोपमा कुटिने भ्यागुताजस्तै पीडित छन् । वर्तमानमा एक–अर्काबीच आरोप–प्रत्यारोपभन्दा पनि देशले बोकेको समृद्धिको लक्ष्य हासिल गर्न जुटेर लाग्नुको विकल्प छैन । आजकलका घटनाक्रम नियाल्दा अक्सर इमान्दारको भविष्य प्रशासनमा धुमिल हुँदै गएको भान हुन्छ ।

केही दिनदेखि यस्तै वाक्क दिक्क लाग्ने सन्दर्भहरू केलाउँदा लागेको दिक्दारीपन हटाउन प्रकृतिको शरणमा जानु नै थियो । तथापि कामले नै मंगलसेन जानुपर्ने भयो । गजेन्द्र सरले अनिल सर र मेरा लागि काठमाडौंबाट अफिसरका केही किताब ल्याइदिनु भएको थियो । किताब त कसैसँग पठाइहुन्थ्यो होला । तर, केही दिन विचरण गर्ने मन लागेर आयो । अनि दुवै जनाले मंगलसेन जाने निधो गर्याै । अछाम जिल्लाको सदरमुकाम मंगलसेन ।

मंगलसेन नामजस्तै मंगल छ कि छैन हेर्ने धोको मनभरि थियो । यद्यपि बाध्यतावश एक दिनको मात्र बिदा लियौँ । एक-दुई दिनदेखि चिसो बढिरहेको छ र बेलुकापल्ट आकासले धर्तीमा सिञ्चन गरिहाल्छ । यसै कुरालाई मध्यनजर गर्दै झोलामा दुवैका लागि रेनकोट राखेँ र ज्याकेट पनि । असोज ९ गतेको घमाइलो बिहानीमा अनिल सरले बाइक स्टार्ट गर्नुभयो, हाम्रो अछामको यात्रा सुरु भयो । मन फुरुंग थियो । जिन्दगीमा खासै थोरै यात्रा गरेको छु । तर, यात्राविहिन जीवनयात्रामा रहेको मलाई यात्रा गर्न निकै रमाइलो लाग्छ ।

जिन्दगी बाँचेजस्तो लाग्छ । त्यसमा पनि बाइकको यात्रा निकै मनपर्छ मलाई । बाटोभरिका सुन्दर दृश्यहरू नियाल्दै, प्रकृतिका अनेक रूपहरूको अवलोकन गर्दै, आफूले चिनेका ठाउँहरू देखाउँदै, रुख बिरुवाहरू चिनाउँदै रमाइलो गर्दै यात्रालाई अविस्मरणीय बनाउने प्रयास गरिरहेको थिएँ । बाटोको दुवैतिर निकै हरियाली छ । प्रकृतिले आफ्नो सुन्दर रूपलाई सबैसामु उदांग पारेकी छिन् । कोदो पाक्दैछ, धान पहेंलिँदै छन् । बाली भित्र्याउने क्रम सुरु भइसकेको छ । बूढीगंगा शान्त ढंगले बगिरहेको छ, निकै टाढाको गन्तव्यमा पुग्ने यात्री जस्तै अनवरत । यस्तै प्रकृतिलाई नियाल्दै हामी पनि अगाडि बढिरहेका छौँ । बाटो अलि विग्रेको रहेछ । माथिबाट पहिरो खसेर, तलबाट भासिएर बिग्रेको बाटोमा उफार्दै बाइक हुइँकिरहेको छ । बाइकले जति उफारे पनि वारिपारिका सुन्दर दृश्यहरू आँखाभरि टाँसिदा, शितल बतासले सुस्तरी सुस्तरी छुँदा झनै ऊर्जा मिलेजस्तै हुन्थ्यो । कता–कता काउकुति लागेर आउँथ्यो । सर्वांग नै रोमाञ्चित हुन्थ्यो ।

हुन त मार्तडी पनि कम सुन्दर छैन । तर, अफिसमा काम गर्दागर्दै दिन बित्छ । कहिले त अफिसबाट निस्केर वारिपारि हेर्न पनि फुर्सद हुँदैन । त्यसैले यो बेला निर्धक्क प्रकृतिलाई हेरेर आँखा सेकिरहेको थिएँ । चाहेर नचाहेर अफिस र आफ्नै कोठाका चार भित्ता हेर्दाहेर्दा आजित भइसकेका मेरा आँखाले पनि स्वतन्त्रता महसुस गरिरहेका थिए । फुक्का भएर कहिले आकास त कहिले क्षितिजपारिका बस्तीहरूमा आँखा डुलिरहेका थिएँ । म पनि कुनै दृश्य नछुटोस् भनेर सजग थिएँ ।

अनिल सर बाइक चलाउँदा बिल्कुल बोल्नुहुन्न । बोल्न थाले पनि एकैछिनमा रोकिनुहुन्छ, बिर्सिनुहुन्छ क्यारे । बानी नै यस्तै छ, बाटोभन्दा अर्काे केही हेर्दिनँ, भन्नुहुन्थ्यो । उहाँले बाटोमै ध्यान दिने कुरा बताएपछि म झन् ढुक्क । चारैतिर आँखा डुलाउन थालँे । निर्धक्क हेरेँ । कतिपयले बाटोका दृश्यहरूबारे बताउँथे । यस्तै रमाइलो गर्दै करिब साढे दुई घन्टामा एअरपोर्ट बजार, साँफे पुगियो ।

यात्रा लगभग आधा भइसकेको थियो । अब मंगलसेन पुग्न पनि त्यतिकै समय लाग्छ भन्ने बुझियो । भोक लागिसकेको थियो । एउटा होटेलमा गयौँ । चाउचाउ र फ्राइफिस खायौँ । पुनः जनकल्याण टोल हुँदै मंगलसेनतर्फको यात्रा सुरु भयो । मार्तडीबाट मंगलसेन करिब चार घन्टा टाढा छ । आधा बाटो पार गरिसकेका थियौं । आधा मात्र बाँकी थियो । मंगलसेन पुग्न पनि त्यस्तै दुई घन्टा लाग्ने ।

एअरपोर्ट, काखैमा सुसाइरहेको बूढीगंगा । निकै रमाइला दृश्यहरू नियाल्दै अगाडि बढियो । मंगलसेन जाने बाटो सोध्यौं । हामी गइरहेकै बाटो नबिराई मंगलसेन जाने बुझियो । बाटो उक्लिरहेको थियो । बाटोसँगै हामी पनि । एकैछिनमा बयलपाटा अस्पतालमा पुगियो । विदेशीले सञ्चालन गरेको अस्पताल हो यो । अस्पताल क्षेत्र तुलनात्मक रूपमा ठूलो र व्यवस्थित देखेँ । अछाम, डोटी, बझाङ, बाजुरा, हुम्ला, जुम्लालगायत जिल्लाबाट बिरामीहरू सेवा लिन आउँछन् । केही समय अगाडी यहाँ सीमित स्रोत साधनकै भरमा सफलतापूर्वक अपरेसन सम्पन्न भएको रहेछ, पछि गजेन्द्र सरले बताउनुभयो ।

जे होस्, विदेशीकै भए पनि यो क्षेत्रमा निकै सेवा पु¥याइरहेको छ । गरिबीले पिल्सिएका मान्छेहरूका लागि त अश्विनीकुमार नै साबित छन्, यहाँका डाक्टरहरू । अस्पताललाई दाहिने पारेर माथितिर लाग्यौँ । पाटनका ठूला फाँटहरू जस्तै आफ्नो सुन्दरता प्रदर्शन गर्दै लमतन्न परेको साँफेलाई उचाइबाट हेर्नुको मजा बेग्लै । साँफै निकै सुनौलो देखिरहेको थियो । कतिपय खेतमा धान काटेर भित्र्याइसकेको देखिन्थ्यो । धेरैजसो धान काटेकै थिएनन् । त्यसैले वारिपारिको हरियाली बीचमा पहँेलपुर साँफे सोभायमान देखिन्थ्यो, जस्तो टिलपिल ताराहरूका माझ शशी शोभायमान देखिन्छ ।

०७३/०७४ को एक वर्ष खप्तडको हिउँलाई कुल्चेको अनि असाढ साउनको हरियाली र विविध प्रकारका फूलहरूसँग सेल्फी लिएको आजैजस्तो लाग्छ । सम्झ्यो कि सारा मानसपटलभरि खप्तड भरिन्छ, खप्तडको सुवास, चस्मा, बुकी फूलको सुगन्ध बोकेर पवनले ल्याई दिएजस्तो लाग्छ । यस्तो स्वर्गीय भूमिको सुन्दरतासँग परिचित मलाई अछामको सुन्दरताले पनि आफ्नै विशिष्टता बोकेको भान भयो । हुन त मेरो जिल्ला बाजुरा, बाजुराको शिरमा शोभायमान बूढीनन्दाका चट्टानी तालहरू, हिमाली बगैँचामाझ अवस्थित शान्त सरोवरहरू, पल्टाएर राखेका जीवन पढाउने ग्रन्थजस्तै बूढीनन्दा पाटनका सुन्दर फराकिला फाँटहरूको पनि विचरण गरिसकेको म ।

बूढीनन्दा माताकै आँगनमा जिन्दगीका भोलापन, बालापन सकाउँदै, समयले युवा भइसकेको मलाई अछामको सेरोफेरो पनि अलौकिक सुन्दरताको खानीजस्तै लाग्यो । यस्तो लाग्यो कि अछाम एक सुन्दर फूल अनि म पत्रपत्र चुम्ने भवँरा । तर, अछाम जहाँसम्म म पुगे त्यतिमात्र होइन । अछामको व्यापकता र अछामभित्रको अछाम छामछुम गर्न ओल्टाइपल्टाई सारा हेर्नलाई त समय पनि पुग्नेवाला थिएन, सीमिततामा बाँधिएर धर्तीमा ओर्लेका हामी, यही छोटो समयमा कहाँ–कहाँ पुग्नु, कस्को–कस्को बन्नु त्यसमा पनि अफिसमा सीमित समय जो मागेर निस्केका थियौँ । लम्पसार परेर भगवानसँग समय मागियो होला, धर्तीमा आउनलाई । त्यही समयमा पनि पूरै अधिकार हाम्रो हुुन्न, हातमुख जोर्न बेचिसकेका छौँ ।

कतै थोरै झर्दै कतै उक्लिँदै साँफे पुगेका हामी । जयगढ बजार पुगुन्जेल उक्लिरह्यौँ । केही मध्यम आकारका घरहरू र केही जस्ताले झकिझकाउ होटलहरूले करिब साढे २ को चहकिलो घामका रिमझिम देखिरहेको थियो, डाँडामै अवस्थित जयगढ बजार । निलो आकाशमा सुकिलो रुइको गुन्टाजस्तै भरीभरी छरिएका बादलका जमातहरूले अछामको सुन्दरतालाई टाढैबाट भए पनि एकपटक हेरिरहेका थिए । भाग्यमानी बादलजस्तै जयगढलाई आँगनसरी देख्न सक्ने शालिन पहाडहरूको पनि कमी छैन । मंगलसेन बोेकेको पहाडले पनि सायद हेरिरहेको थियो । यिनीहरूको हेराई यस्तो लाग्यो, जस्तो यिनीहरुलाई आफू कस्तो छु थाहा छैन, अर्काकै सुन्दरतामा मन्त्रमुग्ध रमाइरहेका छन् । जयगढ, साँफेका लागि आफैमा क्षितिज थियो । तर यहाँ पुग्दामात्रै थाहा पाएको थिएँ, जयगढको आकाशसँगको दुुरी । यहाँबाट पनि थुप्रै क्षितिजहरूको मनोरम दृश्य नियाल्न सकिन्छ ।

धेरैपछि आँखाभरि प्रकृति टाँसिदा ऊर्जा मिलिरहेको थियो । जयगढमा मंगलसेनतर्फको बाटो सोध्यौँ । अनि बाटो लाग्यौँ । बाटोको तलमाथि निकै हरित दृश्यहरू थिए । बाख्राहरू छाडेर बाटोको छेउछाउमा मुस्काउँदै बसेका छो¥याट्टी पनि । कति गाई, बाख्राहरू बाटो लागिसकेका थिए । कति चर्नमै तम्सिएका । यस्तै आँखाबाट ओझेल पार्न मनै नलाग्ने रमणीयता हेर्र्दै, आनन्द लिँदै बाटो ओर्लिसकेको थियो, बाटोसँगै हामी पनि । सल्लाघारी छिचोल्दै झरेको बाटोसँगै प्रकृतिका पत्रपत्र स्पर्श गरी आफूसम्म आइपुगेको सुवासित हावालाई सकेसम्म तानेँ , तानीराखेँ । सारा शरीरभरि पु-याउने गरी तानेँ । साँच्नै नमिल्ने सास जति ताने पनि नफ्याकी नहुने । त्यसैले त सास फेर्नु भनिन्छ, यसलाई । आखिर आफै पनि त फेरिनु छ एकदिन, प्रकृतिको नियमानुसार ।

कैलाशखोला पुगियो । कैलाश खोलाको पानीले सिञ्चित किनाराका खेतहरू, जीवनहरूले मनै छोयो । कोदो पनि पाक्ने क्रममा थियो, कति खेत रित्तिसकेका थिए । धान भित्र्याइसकेका रहेछन् । कति खेतमा स–साना मन्दिर जस्तै कुनियाँ पनि थिए । केही धान काट्नै बाँकी । कैलाश खोला एकतमास बगिरहेको थियो । हामी पनि कैलाश खोलाजस्तै आफ्नै यात्रामा यात्रारत…।

अब मंगलसेनको उकालो सुरु भयो । मैले सोचेकै थिइनँ । मंगलसेन त पहाडको भिरालो छातिमा रहेछ । उकाली चढ्दै गर्दा रमाइला दृश्य हेर्न छुटाउने कुरै भएन । मनलाग्दी हेरेँ । त्यसरी त कुनै बैँसालु युवतिलाई पनि हेरेको छैन आजसम्म । यस्तै सुन्दरतासँग आँखा जुझाउँदै, मिलाउँदै मंगलसेन बजारमा पुगियो । शिक्षा र वन लगायतका अफिसहरू बजारमै रहेछन् । अधिकांश अफिसहरू भने बजारभन्दा माथि । जिल्ला प्रशासन, अदालत, कारागार, हुलाक, निर्वाचन, स्वास्थ्य इत्यादि अफिसहरू ।

बजारमा पुग्नेबित्तिकै एउटा किराना पसलकी दिदीलाई सोध्यौँ, जिल्ला निर्वाचन कार्यालय कहाँ छ भनेर । गजेन्द्र सर निर्वाचन कार्यालयमा सुब्बा हुनुहुन्छ । मसँगैको पोस्टिङ हो, उहाँको पनि । हामीसँगै एउटै व्याचमा अछाममा सिफारिस भएका साथीहरू धेरै हुनुहुन्छ । गजेन्द्र सरलाई फोन लगाएँ । उहाँले बजारबाट अझ माथितिर आउनु भन्नुभयो । मध्यपहाडी लोकमार्गमै माथि लाग्यौँ । तर, पनि कुनै अफिसको मेसो पाइएन । गजेन्द्र सरले आफै फोन गर्नुभयो, यति समयसम्म पुगेनन् सोचेर होला । सरले अझ सहज पारेर भन्नुभयो । हामी अफिसभन्दा माथि गइसकेका रहेछौँ । फक्र्यौँ । अलि तल झरेर दायाँतिर लागेपछि हुलाक देखियो । त्यहाँबाट अगाडि बढेपछि जिल्ला प्रशासन, निर्वाचन कार्यालय, निर्वाचनकै बायाँपट्टि कारागार अफिसहरू सबै नजिकै रहेछन् । सुरुमा गजेन्द्र सरसँग भेट भयो । ५, ६ महिनाअघि छुटेपछिको पहिलो भेट थियो यो । निकै रमाइलो लाग्यो र खुसी पनि ।

सरहरूको आत्मीयताले मंगलसेन कुनै नयाँ ठाउँ जस्तो लागेन । मित्रताले संसारलाई बिरानो बन्न नदिने रहेछ । आ–आफ्ना अनुभव साटासाट गर्याैँ । आफ्नो अफिसको कुरा त आउने नै भयो । ३ः३० बजे पुगिसकेका थियौँ । अफिसमा छुट्टी भएको थिएन । छुट्टी भएपछि छत्र सर पनि आउनुभयो । मीठा मीठा गफ भए । त्यसै दिन फर्किने योजना भए पनि लामो समयपछि साथीहरूसँगको आत्मीयता र प्रकृतिको अदृश्य आकर्षणको जादू परिसकेको हुँदा भोलिपल्ट मात्रै फर्किने निधो गर्याै । त्यो सुन्दरता र शितलतासँग एकदिन नबसी फर्किनु पनि भएन । हुन त मार्तडी पनि सुन्दरता र शितलतामा कम छैन । तर, मार्तडीमा तातो हावा चलाउन आफ्नो अफिस पनि छ, अनि अफिसको काम पनि । निर्वाचनका हाकिमसा’ब भट्ट सर, गजेन्द्र सर, छत्र सर, सरोज सर सबैसँग भेट्दा निकै खुसी लाग्यो । यस्तैमा बाहिरतिर घुम्न निस्किने कुरा भयो ।

टाढा जानलाई समय थिएन । ६ बज्न लागिसकेको थियो । उज्यालो मधुरो बन्दै थियो । उज्यालो हटे भरिने अँध्यारो न हो । तर, पनि नजिकै बजारमा रहेको मंगलसेनको ऐतिहासिक दरबारतिर लाग्यौँ । दिन सकिएर रात सुरु हुनै लागेको क्षणमा त्यहाँ पुगियो । हतार हतार दरबारलाई राम्रोसँग नहेरेरै सेल्फी खिच्यौं, फेरी अँध्यारोले छोप्छ भन्ने डरले । धेरैपछि भेट्दाका खुसीहरू स्पष्ट देखिने गरी मुस्काउँदै सेल्फी खिचेको सम्झँदा फेरि ओठमा खुसी भरिन्छ । गालामा लाली चढ्छ । दरबारलाई हेर्याै । पुरानै स्वरूपमा निर्माण हुन लागेको रहेछ । द्वन्द्वकालमा दरबारकै वरिपरि सबै अफिस थिए रे, त्यतिबेला धेरै अफिस ध्वस्त पारिएछ । अनि अहिले बजारको माथिपट्टि निर्माण भएका रहेछन् । तर, अहिले सेवाग्राहीलाई भने उकालो चढ्नुपर्ने झन्झट थपिएको जस्तो लाग्यो । एकछिन रमाइलो गर्दै मन्द उज्यालोमा त्यहाँबाट देखिने मनोरम वातावरणलाई हेर्याै । अँध्यारो गाढा बन्दै गयो । फर्कियौँ । पढाइका कुरा, बसाइका कुरा यस्तै–यस्तै कुराहरू भए । सुत्ने बेला भयो । निर्वाचन कार्यालयमै सरले व्यवस्था मिलाउनुभएको थियो । खाना खाएर ओछ्यानमा पल्टेँ । रमाइला क्षणहरू सम्झिँदै, दिनलाई केलाउँदै निद्रा पर्खँे । निदाएछु, पत्तो पाइनँ ।

भोलिपल्ट बिहान ६ः३० बजेतिर मात्र निद्रा खुल्यो । त्यहाँको स्वच्छ हावा लिँदै निदाउनुको मजा बेग्लै । आकासबाट तारा हराउदै थिए, भानु उदाउने क्रममा । लगभग कालो अँध्यारो हराइसकेको थिए । चिसो हावाले आँत छोएजस्तो । झरी बोकेको बादल पनि सयर गर्दै थियो, मंगलसेनको नजिकै आकासमा रहेर । चराहरू आफ्ना गुँडबाट निस्किँदै थिए । यी सबै दृश्यले दिनको संकेत गर्दै थिए । मन प्रफुल्ल भइरहेको थियो । जीवन फूल्ने यो प्रकृति, शान्ति उब्जने यो शान्तभूमिमा कल्पनाको अलौकिक स्वर्गीय आनन्दानुभूति भइरहेको थियो । नित्यकर्म सकेर बस्दाबस्दै छत्र सर आउनुभयो । हामीले ठूला सैन जाने योजना बनाएका थियौँ । पानी पर्लाजस्तो थियो ।

आकासभरि बादल थियो । चिसो हावाको बहाव पनि । बादलले खासमा यताउता कतै देखिन्थेन । तर, हामी त्यसैदिन फर्किने भएकाले ठूलासैनतिर लाग्यौँ । पानीका स–साना थोपाहरू छल्दै, लामो श्वास भर्दै, अलिकति चिसो परिवेशमा जंगल हुँदै ठूलासैन पुुगियो । मध्यपहाडी लोकमार्ग त्यहाँसम्म राम्रो बनेको रहेछ । केहीपछि बादल पनि हट्यो । त्यहाँबाट वारिपारिका सुन्दर पहाडहरूलाई हेरेर रमाऔँ । ठूलासैन खिरका लागि चिनिने रहेछ । खिर र चिया अर्डर गर्यौँ । धेरैपछि मीठो खिर खान पाउँदा निकै रमाइलो लाग्यो । होटेलमा रोपेका फूललाई पृष्ठभूमिमा पारेर फोटो खिँचियो ।

मध्यपहाडी लोकमार्गसँग पनि सेल्फी हानियो । त्यो रमणीयताबाट ओझेल पर्नु नै थियो । सुन्दरतालाई धेरै हेर्याे भने त्यो पनि घट्दै जान्छ भन्छन्, नजर न हो– चन्द्रमा पनि दाग देखिन्छ । तर, प्रकृतिको सुन्दरता घट्ने कुरा त थिएन । तैपनि ९ बजिसकेकाले फर्कियौँ त्यहाँबाट । जहाँसम्म म पुगेँ, अछाम साँच्चिकै रमाइलो लाग्यो, प्रकृतिको वरदानजस्तै । म त संसारमा केही पूर्ण देख्छु भने त्यो प्रकृति नै हो । हामी सारा चराचर, वनस्पति र अन्य भौतिक वस्तु त यसका अवयवमात्र हौँ । एक अंश, अंशका लागिमात्र पूर्ण हुन्छ । तर, प्रकृतिजस्तो सम्पूर्ण हुन्न । प्रकृतिपूजक जाति हामी प्रकृतिको सुन्दर रूप देख्दा माता पार्वती सम्झेर आँखा चिम्लेर नमन् गर्छाैं । यस्तो हिमाली सभ्यताका हामी प्रकृतिभन्दा पर कुनै ब्रह्म देख्दैनौँ । अनि सारा सृष्टि चलाउने ऊर्जावान् प्रकृतिलाई पुज्छौँ । जुन, प्राणी जगतको भविष्यका लागि नभई नहुने छ । यस्ती ब्रह्मस्वरूप प्रकृति मातालाई नमन गर्दै, प्रकृतिका विचित्र रूपमा आँखा डुलाउँदै तल पुगियो । निर्वाचन कार्यालयमा ।

खाना खायौँ । एकछिन बस्यौँ । भेटिनु, छुटिनु त के हो र, संसारकै रीत हो । साथीहरुको आत्मीयताले तानेकै थियो, तथापि छुट्नु नै थियोे, बाजुरा फर्किनलाई । पवना म्याडमलाई एकफेर नभेटी फर्किन मन लागेन, उहाँ पनि हामीसँगैको सुब्बा । जिल्ला प्रशासन कार्यालयमै गएर भेट्याँै । एकदम छोटो, कमिलाको भेट जस्तो एकै सासमा हाई बाई दुबै । यतिबेलासम्म १२ः३० भइसकेको थियो । रामारोशनसँगै जाने निर्णय गर्दै र उहाँहरूलाई बाजुरा घुम्न आउने निमन्त्रणा दिँदै बिदाइका हात हल्लाऔँ । अछाम निकै राम्रो पर्यटकीय क्षेत्र हो । मंगलसेन पनि नामजस्तै मंगल रहेछ । सारा प्रकृति एकै फाँटमा थुप्रिएजस्तै खातखात सुन्दरताले भरिपूर्ण छ अछामको सेरोफेरो ।

हुन त बझाङ पनि गएको छु, यस्तै सुन्दर छ । आखिर सुन्दर सुदूरपश्चिम न हो । अछाम यात्रालाई अझ रमाइलो पार्न सहयोग गर्ने, आत्मीयता देखाउने आदरणीय सर प्रेम भट्ट, गजेन्द्रप्रकाश थारू, छत्रबहादुर माझी, पवना खनाल म्याम र यात्राभरि साथ दिने अनिल चौधरी सरलाई हृदयदेखि धन्यवाद । जसका कारण यो यात्रा अविस्मरणीय र वर्णनीय बन्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस