आजबाट खुल्दै डीभी, कसरी भर्ने ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आजबाट खुल्दै डीभी, कसरी भर्ने ?


१७ आश्विन २०७५, बुधबार


काठमाडौं । आजबाट अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि खुला हुने भएको छ ।

आज राति ९ः४५ बजेबाट कात्तिक २० गते राति १०ः४५ बजेसम्म डीभीको आवेदन खुला गरिने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

आवेद भर्न कुनै पनि शुल्क नलाग्ने समेत दूतावासले प्रष्ट पारेकोे छ ।  डीभी भर्न कन्सल्टेन्टहरुको सहयोग लिने क्रम बढिरहेका बेला दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको सहयोग लिएर आवेदन भर्न सुझाएको छ ।

डीभी भर्न इच्छुक आवेदकले www.dvlottery.state.gov  मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् । आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न पनि अनिवार्य गरिएको र उनीहरुलाई समावेश नगरिएको आवेदन अमान्य ठहरिने राजदुतावासले जनाएको छ ।

राजदुतावासका अनुसार २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा नयाँ नीतिगत व्यवस्था गरिएको छ । जसमा मुख्य आवेदकले अयोग्य पति–पत्‍नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्यो अयोग्य ठहरिने छ । आवेदन एउटामात्र बुझाउनुपर्ने छ । एकभन्दा बढी आवेदन बुझाएमा चिठ्ठाका लागि अयोग्य ठहरिने जनाइएको छ ।

फोटो सम्बन्धी नियम पनि कडाइका साथ पालना गर्नु पर्ने छ । अघिल्लो वर्ष प्रयोग भएको फोटो प्रयोग गर्न मिल्दैन ।

आवेदन भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर पनि सुरक्षित साथ राख्नु पर्ने छ । कन्फर्मेसन नम्बरकै आधारमा पछि चिठ्ठा परे नपरेको ७ मे २०१० पछि हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस