प्रदेशसभा सचिवालयका कर्मचारीले यस्तो बनाए गण्डकी प्रदेशको लोगो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेशसभा सचिवालयका कर्मचारीले यस्तो बनाए गण्डकी प्रदेशको लोगो


१५ आश्विन २०७५, सोमबार


पोखरा । गण्डकी प्रदेशले लोगो सार्वजनिक गरेको छ । लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार आज गण्डकी प्रदेशको लोगो सार्वजनिक गरिएको हो ।

दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला, त्यसभन्दा तल गाढा र फिका रङको पहाड छ ।

लोगोको माथिपट्टि देखिने हिमालले अन्नपूर्ण हिमाल क्षेत्रलाई जनाउँछ। हिमाली जिल्लालाई समेत यसले प्रतिनिधित्व गर्दछ। लोगोको दायँबाया राखिएका धानको बाला समृद्धिका प्रतीक हुन्।

नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा छ । पहाडको काखबाट बगेको गण्डकी नदीलाई पनि नक्सामा समेटिएको छ । नदीको संकेतको वारिपारि गैँडा र जरायो चरेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गण्डकी प्रदेशका वन्यजन्तुको प्रतिनिधित्व स्वरुप यी जनावर राखिएको बताइएको छ ।

लोगोभित्रको डाँफे पनि समावेश गरिएको छ । जुन नेपालको राष्ट्रिय पंक्षी हो । लोगोमा लालिगुरास समेत राखिएको छ । जुन नेपालको राष्ट्रिय फूल हो ।

लोगोमा लैंगिक समानता झल्काउन महिला र पुरुषले हात मिलाएको संकेत राखिएको छ ।

लोगो गोरखाका विनित रानामगरले बनाएका हुन् । उनी प्रदेशसभा सचिवालयका कर्मचारी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस