पशु विभागमा बेथिति : गुपचुपमा सच्चाइयो सरुवा सूची « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पशु विभागमा बेथिति : गुपचुपमा सच्चाइयो सरुवा सूची


१४ आश्विन २०७५, आइतबार


काठमाडौं । पशु सेवा विभागले गत महिना सरुवा गरेका कर्मचारीको सूची गुपचुपमा सच्चाएको छ ।

विभागले गत भदौ १४ गते ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको थियो । जसमध्ये ४१९ जना कर्मचारीको लिष्ट प्रशासन डटकमले प्राप्त गरेको थियो । त्यस पछि पनि पटक पटक कर्मचारीको सरुवा गरिएको छ । ती कर्मचारीको सूची अहिलेसम्म पनि सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचार : पशु विभागका कर्मचारी खटनपटनमा बदमासी, तीन हप्तामा पनि सार्वजनिक भएन सरुवा सूची

आर्थिक चलखेल गरी सरुवा सूची सच्चाउने काम भईरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार केन्द्रीय जैविकी उत्पादन प्रयोगशालामा कार्यरत लक्ष्मीराज अधिकारीको सुर्खेतस्थित प्रयोगशालामा सरुवा गरिएको सूची बनाएको थियो । तर, केही समयपछि उनको सरुवा बदर गरी सो स्थानमा पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा कार्यरत खड्का थरका एक नायब पशु स्वास्थ्य प्राविधिकलाई सरुवा गरेको छ । धेरै कर्मचारीको हकमा यस्तो भएको छ ।

कर्मचारी समायोजन ऐन अनुसार समायोजन नहुन्जेलसम्मका लागि गरिएको अल्पकालीन व्यवस्थापनमासमेत ज्येष्ठता, स्थायी ठेगाना, रुचि, कामको प्रकृतिलाई आधार बनाइन्छ । तर, विभागले गरेको सरुवामा यी मापदण्ड पालना गरेको पाइँदैन । विभागले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कर्मचारी खटनपटनका लागि सिफारिस गर्दा ५५ सालदेखि साविकको जिल्ला पशु सेवा कार्यालयमा कार्यरत कर्मचारीलाई सिफारिस नगरी नियुक्ति भएको ६ महिनासमेत नपुगेका कर्मचारीलाई पठाएको बुझिएको छ ।

त्यसैगरी स्थानीय तहमा काज सरुवा गर्दा दोहोरो सहमतिमा मात्रै गर्ने प्रचलन रही आएको भए पनि हाल गरिएको सरुवामा पैसा खाएर सहमतिबिना नै सरुवा गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार २५–३० जनाको सरुवा गुपचुपमा मिलाइएको छ । सरुवा मिलाउन मन्त्रीका पिए कमल पराजुलीको सक्रियता रहेको स्रोत बताउँछ । उनी पशु स्वास्थ्य प्राविधिक (प्रा.स.स्तर)का हुन् ।

स्रोतका अनुसार पराजुलीले गत मंगलबार साँझ करीब साढे ६ बजे बबरमहलस्थित रातो भाले रेस्टुरेन्टमा तराई मुलका केही कर्मचारीसँग आर्थिक लेनदेनको विषयमा छलफल गरेका थिए । विभागका महानिर्देशक पनि तराई क्षेत्रका कर्मचारीलाई सहयोग गर्ने र अन्यको भने कुरै सुन्न नचाहने गरेको कर्मचारीको आरोप छ ।
सरुवा सेटिङमा विभागकै कर्मचारीसमेत संलग्न रहेको तथ्य खुलेको छ । पशु सेवा विभागका शाखा अधिकृत श्रीप्रसाद गौतमले कर्मचारीबाट उठाएको पैसा नै फिर्ता गर्नुपरेपछि सो रहस्य बाहिर आएको हो ।

उदयपुर जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रमा पशु सेवा प्राविधिक कर्मचारी पठाउन मन्त्रालयलाई सिफारिस गर्ने क्रममा आर्थिक लेनदेन भएको र पछि सो ठाउँमा सरुवा गर्न नसकेपछि पैसा नै फिर्ता गरेको विश्वस्त स्रोतले प्रशासनलाई बतायो ।

स्रोतका अनुसार सरुवा टिप्पणी उठाउँदा नै आ–आफ्ना मान्छेलाई बोलाएर साँठगाँठ गर्ने गरेको खुल्न आएको छ ।  विभागका महानिर्देशक विमलकुमार निर्मलले फाजिल र डबल परेकोलाई व्यवस्थापनको काम भईरहेका दाबी गरे । कर्मचारीले आर्थिक चलखेल गरी कर्मचारीको काज सरुवा गरेको सुनिन्छ नि ? उनले भने, ‘यसबारे मलाइ केही जानकारी छैन ।’

कर्मचारी व्यवस्थापन गरेको महिनौं भइसक्दा समेत किन सूची सार्वजनिक भएन भन्ने प्रश्नमा उनले भने, मन्त्रालयले अन्तिम लिष्ट नपठाई हाम्रोबाट मात्रै बन्दैन । ‘प्रशासनमा प्रकाशित समाचारसहित मन्त्रालयबाट पत्र आएपछि वेवसाइटमा हालेका छौं ।’–महानिर्देशक निर्मलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस