विपद् व्यवस्थापन सम्बन्धी संयुक्त सैन्य अभ्यास सम्पन्न « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विपद् व्यवस्थापन सम्बन्धी संयुक्त सैन्य अभ्यास सम्पन्न


१२ आश्विन २०७५, शुक्रबार


काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्रको संयुक्त आयोजनामा सञ्चालन भएको विपद् व्यवस्थापन तथा अनुभव आदान प्रदानसम्बन्धी तालिम सम्पन्न भएको छ ।

चार दिनसम्म चलेको तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, अरु सुरक्षा निकाय, विभाग, रेडक्रसलगायत विपद् व्यवस्थापनमा कार्यरत सङ्घ, संस्थाका ३०२ जनाको सहभागिता रहेको थियो । तालिममा प्राकृतिक विपद्मा छोटो समयभित्र गरिने उद्धार कार्यको अभ्यास गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

जनधनको न्यूनतम क्षतिका लागि अपनाइने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यासद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाबीच एकैसाथ भूकम्पलगायत अन्य विपद् व्यवस्थापन कार्य गर्नसक्ने क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइएको छ ।

नेपाली सेनाको उपत्यका पृतना, महावीर गण, भैरवनाथ गण, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, वीरेन्द्र अस्पताल छाउनी, ट्रमा सेन्टर, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टुँडिखेल र क्षेत्रपाटी क्षेत्रमा अभ्यास सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस