दिगोे विकास लक्ष्यको तेस्रो वार्षिकोत्सव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दिगोे विकास लक्ष्यको तेस्रो वार्षिकोत्सव


१० आश्विन २०७५, बुधबार


काठमाडौं । दिगो विकास लक्ष्यको तेस्रो वार्षिकोत्सव राजधानीमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग, नेपालका नागरिक संस्थाहरूको साझा मञ्च नेपाल दिगो विकास मञ्च र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको संयुक्त आह्वानमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कणेलले दिगो विकासका लागि सरकार, नागरिक समाज, विकास साझेदार, निजी क्षेत्र र आम जनतासँग सहकार्य र समन्वय गर्दै अघि बढ्न इच्छुक रहेको बताए । उनले नेपालमा दिगो विकास लक्ष्यहरू कार्यान्वयनका चुनौती र अवसरहरूमाथि यथार्थपरक ढंगले प्रकाश पारेका थिए ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि भेलरी जुलियाण्डले नेपाल संघीय संरचनामा प्रवेश गरिसकेको सन्दर्भमा दिगो विकास लक्ष्यको मूल प्रवाहीकरणमा नेपाल सरकारले सामाजिक संस्थाहरूलाई विकास साझेदारको रूपमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै उनले नागरिक संस्थाहरूको क्षमता अभिवृद्धिमा राज्यको ध्यान जानुपर्नेमा समेत जोड दिए ।

दिगो विकासका लक्ष्य प्राप्तिका लागि नेपालले विकासका कार्यक्रमहरूलाई द्रुत गतिकासाथ अगाडि बढाउनुपर्ने कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

दिगो विकासका लक्ष्यका विभिन्न सूचकहरूका परिणामहरू योजनाअनुरुप नै कार्यान्वयन भइरहेको तथापि लक्ष्य प्राप्त गर्न विभिन्न चुनौती रहेको सरोकारवालाको भनाइ छ ।

दिगो विकास लक्ष्यमा १७ लक्ष्य र १ सय ६९ सहायक लक्ष्य समावेश छन् । यी लक्ष्यलाई सन् २०३० सम्म प्राप्त गर्ने प्रतिवद्धता सबै मुलुकले जनाएका छन्, जसमा नेपाल पनि एउटा सदस्य राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस