ब्यायामप्रतिको आकर्षण बढ्दो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ब्यायामप्रतिको आकर्षण बढ्दो


९ आश्विन २०७५, मंगलबार


नेपालगञ्ज । आकर्षक देखिने र स्वास्थ्यप्रतिको जागरुकताका कारण नेपालगञ्जमा ब्यायाम गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । बिहानीको हिँडाइ र खुल्ला मैदानमा गरिने ब्यायाम मात्र होइन यहाँ जिमखाना जानेको सङ्ख्या पनि विस्तारै बढ्न थालेको पाइन्छ ।

जिमखानामा आधुनिक प्रविधिका उपकरणको प्रयोगबाट ब्यायाम गर्न पाइने भएकाले त्यसतर्फको आकर्षक विशेष गरी युवा पुस्तामा बढ्दै गएको छ । केही सङ्ख्यामा प्रौढ उमेर समूहका पनि ब्यायामशाला जाने गरेका छन् ।

बढ्दो शहरीकरणमा अछुतो रहन नसकेको नेपालगञ्जमा अहिले दिनभरिको बसाइँयुक्त कामले शरीरलाई एका बिहानै तरोताजा र स्वस्थ बनाउन जिमखाना जाने, बिहानको हिँडाइ र मैदानमा ब्यायाम गर्ने बढ्दै गएको ओम फिटनेसका सञ्चालक लव श्रेष्ठ बताउँछन् ।

केही वर्ष अघिसम्म नेपालगञ्जमा ब्यायामका लागि खुल्ला मैदानमा जानुबाहेकको विकल्प थिएन । अहिले यहाँ धमाधम ब्यायामशाला खुल्न थालेका छन् । नागरिकको ब्यायामप्रतिको आकर्षणलाई दृष्टिगत गरी ब्यायामशाला खुल्न थालेको हेल्थ बेनिफिट ब्यायामशालाका प्रशिक्षक रमेश बमको बुझाइ छ ।

नेपालगञ्जमा अहिले १० भन्दा बढी ब्यायामशाला सञ्चालनमा छन् । पछिल्लो ब्यायामप्रति महिला र पुरुष दुबैको आकर्षण बढ्दै गएको छ । शारीरिक बनोट राम्रो बनाउन र स्वस्थ रहन ब्यायामशालामा जाने क्रम बढ्दै गएको हो ।

ब्यायामशालामा अहिले ब्यायाम गर्ने मात्र नभई नृत्य कक्षा पनि सञ्चालन भइरहेका छन् । नृत्य सिक्न पाइने भएकाले पनि ब्यायामशालामा जाने क्रम बढेको छ ।

शारीरिक ब्यायाम शरीरको बनोटको दृष्टिले मात्र नभई स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्छ । ढाड दुख्दा वा अन्य समस्या भएमा पनि ब्यायामशाला जाने चलन बढ्दो छ । पहिले ब्यायाम महिलाको आकर्षण कम हुन्थ्यो भने अहिले महिला पुरुष दुबैको ब्यायामशालामा बराबर सहभागिता हुने गरेको छ । तौल बढाउन ब्यायामशालामा जान थालेपछि१५ दिनमा आफ्नो पाँच किलो तौल बढेको नेपालगञ्ज वडा नं. ९ की प्रसिद्धीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस