बच्चासहित फेला परेकी एक सुत्केरीलाई काठमाडौं पठाइयो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बच्चासहित फेला परेकी एक सुत्केरीलाई काठमाडौं पठाइयो


८ आश्विन २०७५, सोमबार


नवलपरासी । पश्चिम नवलपरासीको परासीमा बच्चासहित फेला परेकी एक सुत्केरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

रामग्राम नगरपालिकाले उपचार खर्चको व्यवस्थापन गर्ने गरी मानसिक सन्तुलन गुमाएकी ती महिलालाई आवश्यक उपचारका लागि काठमाडौं पठाइएको हो । सुत्केरीको मानसिक अवस्था राम्रो नभएकाले रामग्राम नगरपालिकाको सहयोगमा कोसिस नेपाल नामक संस्थाले उपचारका लागि काठमाडौं लगेको नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ताले बताए ।

बच्चा जन्माइरहेकोे, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी ती महिलालाई उद्धार गरी बच्चा र आमाको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । अस्पतालमा बच्चा र आमा दुवैको उपचार भएकोमा बच्चाको अवस्था राम्रो रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. अनन्तकुमार शर्माले जानकारी दिए।

महिलालाई मानसिक सन्तुलनको उपचार गर्न तीन महीनाका लागि राजधानी पठाइएको नगर उपप्रमुख रम्भा कुँवरले बताइन्। तीन महीनाको उपचार खर्च नगरपालिकाले व्यहोरेको छ । बच्चालाई भने अहिले अस्पतालमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीले बच्चाको रेखदेख गर्दै आएको स्वास्थ्य अवस्था राम्रो रहेको डा. शर्माले बताए।

प्रतिक्रिया दिनुहोस