दुई कर्मचारीका भरमा गाउँपालिका « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दुई कर्मचारीका भरमा गाउँपालिका


८ आश्विन २०७५, सोमबार


बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका दुईजना मात्रै कर्मचारीको भरमा सञ्चालन भइरहेको छ ।

जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्देश्यले गठन भएका स्थानीय तहले कर्मचारी अभावका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन कठिनाई भएको हो । प्रदेश नं. ३ अन्तर्गतको विकट सो गाउँपालिकामा १७ जनाको दरबन्दी रहेको छ । तर अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्रै रहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमोण्ड थापामगरले पनि गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नभएको बताए । त्यस्तै हुनुपर्ने वडा सचिवसमेत नहुँदा गाउँपालिकाको प्रशासनिक काम तथा सेवाप्रवाहमा धेरै समस्या व्यहोर्नु परेको उनको भनाइ छ ।

“कर्मचारी पर्याप्त नहुँदा प्रभावकारी रुपमा सेवा दिन सकिरहेका छैनौँ”, उनले भने, “जसका कारण यसक्षेत्रका सेवाग्राहीको गुनासो धेरै आइरहेको छ ।” गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले दरबन्दीअनुसार कर्मचारी नहुनु र वडामा वडा सचिव नहुँदा निकै समस्या खेपिरहनु परेको बताए।

“दरबन्दीअनुसार कर्मचारी उपलब्ध गराउन र वडा सचिव पर्याप्त मात्रामा उपलब्ध गराउन भनेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक/पटक निवेदन पेश गरिरहेका छौं, तर कुनै पनि प्रतिक्रियासमेत पाइरहेको छैनौ”, अध्यक्ष जिम्बाले भने, “सधैँजसो हामी व्यवस्थापन गरिरहेका छौंँ भन्ने मात्रै जवाफ दिइरहेका छन् ।” उनका अनुसार गाउँपालिकाको आठ वडामा अहिले तीन जना मात्रै वडा सचिवले काम गरिरहेका छन् । पर्याप्त वडा सचिव नहुँदा सेवाग्राहीले भन्ने बेलैमा सेवा लिन नपाएको उनले बताए ।

सचिव पर्याप्त नहुँदा सेवाग्राहीलाई भन्ने बेलामा सेवा दिन नसकेको वडा नं. ६ का वडा अध्यक्ष रमेशकुमार लुङ्गेलीले बताए । “वडा सचिव पर्याप्त नभएका कारण सिफारिस लेख्नेदेखि सबै काम आफूले नै गर्नुपर्दा समस्या खेप्नु परिरहेको छ”, उनले भने, “सेवाग्राहीलाई भन्ने बेलामा सेवा नै दिन गाह्रो भइरहेको छ ।”

भएका तीन जना वडा सचिवमध्ये अहिले रेवतीरमण निरौलाले वडा नं. १, २ र ८, रामचन्द्र ढकालले वडा नं. ३, ४ र ५ तथा भरत बस्नेतले ६ र ७ नं. वडाको जिम्मा लिएर काम गरिरहेको कार्यालयले जनाएको छ । वडा सचिवको अभावमा जनताको काम प्रभावित नहोस् भन्ने उद्देश्यले अहिले कार्यालय सहयोगी नियुक्त गरी काम गरिरहेको अध्यक्ष जिम्बाले बताए ।

प्रतिक्रिया दिनुहोस