नेता कार्यकर्तालाई मौरी झैं मेहनती बन्न प्रधानमन्त्री ओलीको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेता कार्यकर्तालाई मौरी झैं मेहनती बन्न प्रधानमन्त्री ओलीको निर्देशन


६ आश्विन २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त निर्र्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताएका हुन् । ‘कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस् । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाए । ‘आफ्ना आग्रह, पूर्वाग्रह छाडौं, आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिउ,’ ओलीले भने, ‘यसो गरे देश विकास हुन धेरै समय लाग्दैन।’

प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको बताए । ‘वामपन्थीको भूमिकालाई कांग्रेसले स्वीकारेको भए २०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन’, प्रधानमन्त्री ओलीले भने, ‘फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन ।’

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । साहानालाई महिला आन्दोलनकी नेतृको रुपमा हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ । ‘वहाँ नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ हो’, ओलीले भने, ‘२०४६ सालको जनआन्दोलनमा वहाँको भूमिकाले नै नेपालमा जनताका अधिकार पुनरबहाली गर्न सजिलो भएको हो ।’

प्रतिक्रिया दिनुहोस