दाहिने-देब्रे « प्रशासन
prasaLogo
६ आश्विन २०७५, शनिबार

दाहिने-देब्रे


प्रकाशित मिति : 22 September, 2018 7:40 am

दाहिने-देब्रे

प्रतापे, लोके र म खेल्न पाएपछि घर बिर्सिन्थ्यौं । न मार्सापका झापडले छेके, न त बाका थप्पडले ।

लोके भन्थ्यो– नियम मान्नुपर्छ । जसरी ठू्लाबडा चल्छन् त्यसरी चल्नुपर्छ । पँधेरामा नुहाएर घर फर्कँदा उसले सधैं दाहिने पारेर घुम्यो, वर–पीपललाई । सधैं ढोग्यो, बाटोमा भेटिएका गाई, बेल र तुलसीलाई । कोलचौरीको पुच्छरबाट सधैं ढोग्यो सुनकोसीलाई ।

मनमनै हाँसो उठ्छ, जब प्रतापेलाई सम्झन्छु । गाईलाई लात हान्ने, बेलको पोथ्रो भेटे तुर्क्याउने, तुलसीतिर फर्केर खाक्खाक–खुक्कुक गर्ने प्रतापेले वरपीपललाई कहिल्यै दाहिने पारेन । छड्किएर देब्रेतिरबाट हिँड्थ्यो र भन्थ्यो, ‘हेर, पृथ्वी दाहिनेतिरबाट घुम्छ, हामी देब्रेपट्टिबाट हिँड्नुपर्छ । जता जान्छ संसार उतै बग्नुपर्छ भन्ने जरुरी छैन ।’

संसारले हजारौं चक्कर मारिसक्दा आज संयोगले हामी तिनैजना बालसखा भेट भयौं आर्यघाटको किनारमा । अचम्म लाग्यो । पर्तापे लपक्कै निहुरिएथ्यो भैरव मूर्तिअगाडि । लोकेले आफ्नो डिक छोडेको रहेछ । गफिँयौं एकछिन ।

जहाँ जाँदा पनि खुसुक्क छेऊ लागेर लेख्ने बानी आफ्नो । उनीहरू दुईजना गफिँदै थिए । एकछिन अलि पर गएर एउटा छोटो काव्यांश लेखें र फर्केर उनीहरूलाई सुनाएँ । दुवैको घैंटामा घाम लागेछ, खित्का छाडेर हाँसे ।

प्रतापेले मेरो हातबाट चिर्कटो तान्यो र वाचन ग-यो ।

न देब्रे हो न दाहिने हो संसार
दुई मुठ्ठी सास छउन्जेल न चाहिने हो संसार
ऊ हेर त ब्रह्मनालहरू, कसरी छन् जाज्वल्यमान
अनि केको ठेक्का, कमिसन र अन्तःशुल्क भन्सार ?

अहिले भने म खित्का छाड्दै थिएँ ।

प्रतिक्रिया दिनुहोस