दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’


४ आश्विन २०७५, बिहिबार


काठमाडौं । ‘नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ ।

छमछमी नेपाली माटोसुहाउँदो मौलिक नृत्य कार्यक्रम हो । ‘नेपाली मनको, नेपालीपनको’ मौलिक कार्यक्रम छमछमीमा आउने दर्शकको मतको मात्राले पनि यो कार्यक्रमप्रतिको आकर्षणलाई देखाउँछ । मेचीदेखि महाकालीसम्म करीब दुई हजार पाँच सय नृत्यप्रेमीले छलछमी–३ सम्म नाचेर गइसकेका छन् । संविधान दिवसका अवसरमा नेपाल टेलिभिजनले आजदेखि ‘छमछमी–४’ को ‘काठमाडौं अडिशन’(जाँच) शुरु गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले छमछमी–४ को उद्घाटन गर्दै देशको आर्थिक समृद्धिका लागि कला, संस्कृति र सभ्यताले ठूलो सहयोग गर्न सक्ने बताए । मन्त्री बाँस्कोटाले भने, “ देउडा, तामाङ सेलो, चण्डी नाच, सोरठी आदि हाम्रा मौलिक संस्कृति हुन् ।” सबल राष्ट्र निर्माणको आधार कला र संस्कृति बन्न सक्ने बताउँदै उनले नेपालका सबै संस्कार र संस्कृतिलाई व्यापक प्रचारप्रसार गरेर त्यसलाई पर्यटनमा रुपान्तरण गर्न सके अर्थोपार्जन हुनाका साथै संस्कृतिको पनि संरक्षण हुने स्पष्ट गरे । मन्त्री बाँस्कोटाले छमछमी कार्यक्रमले देशमा छरिएर रहेका प्रतिभाहरुको पहिचान तथा कला र संस्कृतिको संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले शुरु गरिएको सो कार्यक्रममा नेपालीको मौलिक पहिचान झल्कने तथा मुलुकभित्रका १२५ जातजाति र १२३ भाषाभाषीको वेशभूषा देखिने बताए । ‘छमछमी’ नृत्य कार्यक्रममा १४ वर्षमाथिका नेपाली नागरिकले भाग लिन पाउनेछन् । नेपाल टेलिभिजनको रजत महोत्सवका उपलक्ष्यमा २०६६ सालदेखि सो कार्यक्रमको शुरुआत भएको हो । छमछमी–४ का निर्णायकमा नृत्याङ्गाना मिथिला शर्मा छन् । उनी पहिलो शृङ्खलादेखि नै निर्णायकको भूमिकामा रहेकी छन् । त्यस्तै राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा समेत नृत्य मञ्चमा स्थापित महेश गोदार र नेपाली सिने जगत्की नायिका सञ्चिता लुइँटेल छन् । छमछमी–४ मा २०० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडौँ पछि बिर्तामोड, इटहरी, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढी अडिशन हुनेछ ।

आगामी कात्तिक ४ गतेदेखि साँझ ८ः५० बजे प्रसारण गरिने छमछमी–४ पनि दर्शकमाझ लोकप्रिय हुने विश्वास आयोजकले गरेको छ । छलछमी सिजन–१ मा झापाकी अजुजा अग्रवाल, छलछमी सिजन–२ मा पूर्वकै साजन तामाङ र छलछमी सिजन–३ मा हेटौँडाका सरोज प्रजा विजेता बनेका थिए ।

प्रतिक्रिया दिनुहोस