ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणमा जोड « प्रशासन
prasaLogo
३ आश्विन २०७५, बुधबार

ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणमा जोड


प्रकाशित मिति : 19 September, 2018 12:06 pm

काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ सि चीनफिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा उठाएकोमा खुशी व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो क्रममा पूर्वप्रधानमन्त्री दाहालले आफ्नो दुवै प्रधानमन्त्रीत्वकालमा भएका चीन भ्रमण र ती भ्रमणका क्रममा भएका छलफल र समझदारीको स्मरण गर्दै ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणमा विशेष जोड दिएको थियो । उक्त अवसरमा उनीहरूबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ विषयमा छलफल भएको र अध्यक्ष दाहाल आफैँले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको बताताएका थिए ।

भेटमा अध्यक्ष दाहालले भने, “पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धिमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रान्सपोर्ट एण्ड ट्रान्जिट’ सम्झौताले दूरगामी महत्व राख्दछ । चार वटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो ।” उनले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता, समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको बताए । भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष दाहालको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका थिए।

समझदारी र सम्झौताको शीघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उनको भनाइ थियो । विदेश विभाग प्रमुख ताओले भने, “तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको छ ।” चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै नान्जिङ पुगेका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गरेका थिए । अध्यक्ष दाहाल चार दिने चीन भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस