अन्तर्वार्तामा कसरी प्रस्तुत हुने ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अन्तर्वार्तामा कसरी प्रस्तुत हुने ?


प्रमोद सिंखडा

३ आश्विन २०७५, बुधबार


अन्तर्वार्ता

लोक सेवा आयोगले गत वर्ष लिएको राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरी अन्तिम चरणअन्तर्गत सामूहिक परीक्षण तथा अन्तर्वार्ता कार्यक्रम सञ्चालन गरिराखेको अवस्था छ । यही भदौ २५ देखि करिब एक महिनाभन्दा धेरै समयका लागि अन्तिम चरणका कार्यक्रमहरू पूर्वनिर्धारित छन् । अन्तर्वार्ता तथा सामूहिक परीक्षणका लागि आफूले भोगेका केही अनुभवहरू तथा केही अग्रज अनि अध्ययनबाट पत्ता लागेका कुराहरू यसै लेखमार्फत् सेयर गर्न लागेको छु ।

अन्तर्वार्ता के हो ? कसरी प्रस्तुत हुने ?

  • परीक्षाका अनेकौं रूपहरूमध्ये मौखिक माध्यममा पहिलो पक्षले दोस्रो पक्षलाई पेशा र जागिरको बारेमा सामान्य जानकारी राख्ने कुनै पनि विषयको बारेमा प्रश्नोत्तर गर्ने प्रक्रिया नै अन्तर्वार्ता हो ।
  • अन्तर्वार्तामा परीक्षार्थीको विषयवस्तुको संज्ञानात्मक पाटाको मात्र नभई प्रस्तुतीकरण शैली र आत्मविश्वास पनि परीक्षण गर्ने गरिन्छ ।
  • लोक सेवा आयोगले पनि अन्तर्वार्ताको क्रममा आफ्नो पाठ्यक्रममा भएका विषयसूची तथा समसामयिक घटनाक्रमहरूबाट प्रश्नहरू सोध्ने गर्छ ।
  • शाखा अधिकृत वा सो सरहको पदको अन्तर्वार्ता कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष वा सदस्यको अध्यक्षतामा कम्तीमा तीन जनाको अन्तर्वार्ता समिति गठन गरिएको हुन्छ । जसमा समितिका अध्यक्ष सहित विषयविज्ञ तथा अर्को एक जना लोक सेवाका सदस्य समेत रहेका हुन्छन् ।
  • एकीकृत तथा संयुक्त प्रणालीबाट परीक्षा दिने प्रशासन, संसद तथा लेखापरीक्षण सेवाका प्रशिक्षार्थीहरूले कुल ४५ अंकको अन्तर्वार्ता दिनुपर्छ ।
  • अन्तर्वार्ताका लागि तोकिएको अंकको ४० देखि ७० प्रतिशतको बीचमा रहेर मूल्यांकनकर्ताले अंक प्रदान गर्छन् । अन्तर्वार्ता समितिका प्रत्येक सदस्यले आ–आफ्नो फाराममा अंक प्रदान गर्छन् । अंक दिने र दिएको विषयमा समितिका कुनै पनि सदस्यबीच छलफल हुँदैन । उक्त अंक प्रत्येकले गोप्य ढंगले दिन्छन् र उक्त फारामलाई एउटा खाममा राखी सबैको रोहवरमा सिलबन्दी गरिन्छ । अन्तर्वार्ताकर्ताको आफ्नो कुनै नातेदार हुँदा उक्त विज्ञापनको अन्तर्वार्तामा बस्न पाइँदैन÷बस्नुहुँदैन । अन्तर्वार्तापूर्व अन्तर्वार्ताका क्रममा र अन्तर्वार्तापश्चात उम्मेदवारको सवल/दुर्वल पक्षबारे चर्चा गर्न पाइँदैन । अन्तर्वार्तामा बस्नेलाई उम्मेदवारको लिखित परीक्षाको अंकबारे केही थाहा हुँदैन ।

– खगेन्द्रप्रसाद सुवेदी, सहसचिव

  • अन्तर्वार्ता हुने मिति, स्थान र समयको बारेमा अग्रिम सुसूचित भई अन्तर्वार्ताका दिन अन्तर्वार्ता सुरु हुनभन्दा कम्तीमा एक घण्टाअगावै लोकसेवा आयोगमा पुग्ने ।
  • ड्रेस अप फर्मल बनाउँदा सकारात्मक प्रभाव देखाउन सकिन्छ । मौसम अनुसारका कपडाहरू लगाउनुपर्छ ।
  • अन्तर्वार्तामा सोधिने साधारण र साझा प्रश्नहरूको बारेमा जानकारी राखिरहनुपर्छ, जसको बारेमा आफ्नो अन्तर्वार्ता कार्यक्रमअगावै आफ्ना साथीभाइसँग तयारी तथा अभ्यास गर्न पाइयोस् । जस्तै ः
  • तपाईँको परिचय दिनुहोस् ।
  • तपाइँ निजामती सेवामा किन प्रवेश गर्न खोज्दै हुनुहुन्छ ?
  • पुरानो जागिरमा के कारणले सन्तुष्ट हुन सक्नुभएन ?
  • पढाईको विषय र जागिरको फिल्ड मिलेन नि त ? काम गर्न सक्नुहुन्छ त ?
  • राजस्व नै किन रोज्नुभएको ? छिट्टै धेरै पैसा कमाउन पाइन्छ हो ?
  • अनि निजामती सेवा त बिग्रदै छ भन्छन् त ! के देखेर आउन खोज्नुभएको ?
  • अहिले निजामती सेवा प्रवेश गर्नुभयो भने तपार्इँले गर्ने कामहरू के–के होलान् ? थाहा छ ? बताउनुहोस् ।
  • केही समसामयिक घटनाक्रमहरुको बारेमा सोध्न सकिन्छ ।
  • चर्चित व्यक्तिहरुको जीवन तथा भोगाइका कुरा समेत सोधिन सक्छ ।
  • तपार्इँलाई मनपर्ने विधा कुन हो ? त्यसबाट पनि प्रश्नहरू सोधिने सम्भावना रहन्छ ।
  • तपार्इँले लिखित परीक्षा दिँदा पढेका सबै पत्रका पाठ्यक्रमहरू सरसर्ती हेरेर जानुहोस्, त्यसबाट धेरै प्रश्नहरू सोधिन्छन् । जस्तै ः जलवायु परिवर्तन के हो ? संयुक्त राष्ट्र संघले कसरी शासन गर्छ होला ? संविधानको कति धारामा बजेटको व्यवस्था गरिएको छ ? आदि ।
  • आफुले प्राप्त गरेको शैक्षिक उपाधिको बारेमा विस्तृत जानकारीहरू राख्नुहोस् ।
  • अन्त्यमा तपाईँलाई अन्तर्वार्ता कस्तो लाग्यो ? केही सुझावहरू दिनुहोस् । जस्ता प्रश्नहरू सोधिन सक्छन् ।
  • प्रश्नको जवाफ कसरी दिने त ? मानसिकरूपमा तयार रहनुहोस् । तपाईँको आत्मविश्वासको सबैभन्दा धेरै जाँच गरिन्छ त्यहाँ । त्यसैले क्रमैसँग नआत्ती, नहडबडाई, आफ्नो स्वाभाविक स्वरमा, पोस्चर एन्ड गेस्चरमा विशेष ध्यान दिएर सभ्यताका साथ अनुशासित रहेर जवाफ दिनुहोस् ।

माथिका प्रश्नहरूको जवाफ यसरी दिन सकिन्छ: 

  • म रामबहादुर श्रेष्ठ, मेरो घर मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका वडा नं ५ मा पर्छ । हालै मैले त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्नातकोत्तर गरेको छु । म निजामती सेवाको लागि फ्रेस क्यान्डिडेट हुँ ।
  • देश र जनताको सेवा गर्ने धेरै विकल्पहरूमध्ये सबैभन्दा प्रतिष्ठित र उच्चतम विकल्प निजामती सेवा भएकोले म निजामती सेवाप्रति आकर्षित भएको हुँ ।
  • मैले गणित विषयमा स्कुलदेखि मास्टर्ससम्म पढेका अनेकौं ज्ञानहरूलाई प्रशासनमा उपयोग गर्न र गणितीय ज्ञानलाई निजामती सेवाको क्षेत्रमा प्रयोग गर्नेछु ।
  • यसरी अन्तर्वार्तालाई आफ्नो भित्री इच्छाको क्षेत्र भएको र आफूले निजामती सेवामा जति अरु कुनै क्षेत्रमा पनि योगदान गर्न नसकिने कुरालाई अन्तर्वार्तामा प्रयोग गर्नुहोस् ।
  • अन्तर्वार्तामा सोधिएका प्रश्नहरूको सही जवाफ नआउने भए अनुशासित भई त्यो प्रश्नको उत्तर आउँदैन भन्नुपर्छ । त्यो क्षेत्रमा मेरो अध्ययन पुगेनछ भनेर एक्सक्युज गर्नुभयो भने सकारात्मक प्रभाव पार्न सक्नुहुन्छ ।
  • कुनै कुराको बारेमा धेरै विज्ञ हुनुहुन्छ भने पनि आफ्नो विद्धता धेरै नदेखाउनुहोस् । घमण्ड नगर्नुहोस् । सीमिततातर्फ मोडिनुपर्छ ।

सामूहिक परीक्षणमा कसरी सहभागी हुने ?

  • परीक्षार्थीको समूहमा प्रस्तुतीकरण शैली कस्तो छ र समूहमा आफ्ना कुराहरूलाई समूहको नियममा बाँधिएर कसरी व्यक्त गर्न सक्छ ? लेखाइ अनुसारका कुराहरू व्यक्त गर्न कति सक्छ, निर्णय क्षमता कस्तो रहेछ ? समस्या समाधान क्षमता, सामुहिक नेतृत्व क्षमता तथा समय व्यवस्थापन कसरी गर्ने भनेर जाँच्ने गरिन्छ ।
  • निजामती सेवाको क्षेत्र विस्तार तथा कार्य पद्धति परिवर्तन समेत भइरहेको सन्दर्भमा नेपाल सरकारका नीति, योजना, कार्यक्रम आदि माथि विचार–विमर्श, छलफल गरी तिनको अझै बढी प्रभावकारी तथा कार्यान्वयन योग्य समाधान पहिल्याउने सम्बन्धमा उम्मेदवारहरूको क्षमता पहिचान गर्नु यस परीक्षणको मूल मर्म हो ।
  • यस परिक्षणले छलफल, विचार–विमर्श गरी परिस्थिति बुझ्न सक्ने, निर्णय दिने, जनतालाई क्रियाशील बनाउने, चित्त बुझाउने, निर्धारित लक्ष्य अनुसार काम गर्ने/गराउने जस्ता कामका लागि परीक्षार्थीको क्षमता कति छ भनेर परीक्षण गर्ने काम गर्छ ।
  • सामूहिक परीक्षण मूल्यांकन गर्नको लागि उम्मेदवारहरूलाई कुनै समसामयिक विषय, सवाल र समस्यामा सामूहिक छलफल गरी प्रभावकारी र कार्यान्वयन योग्य समाधान निकाल्न दिइन्छ ।
  • यस प्रयोजनको लागि गरिने परीक्षण १० पूर्णांक र ३० मिनेट अवधिको हुनेछ, जुन नेताविहिन सामूहिक छलफलको रूपमा अवलम्बन गरिने छ । दिइएको प्रश्नका विषयमा पालैपालोसँग निर्दिष्ट समयभित्र समूहबीच छलफल गर्दै प्रत्येक उम्मेदवारले व्यक्तिगत प्रस्तुति गर्नुपर्नेछ ।
  • यस परीक्षणमा मूल्यांकनको लागि देहाय अनुसारको तीन जनाभन्दा बढीको समिति रहनेछ ।
    • आयोगका सदस्य – अध्यक्ष
    • आयोगका सदस्य – सदस्य
    • मनोविज्ञ – सदस्य
    • दक्ष र विज्ञ (१ जना) – सदस्य
  • सामूहिक छलफलमा दिइने नमुना प्रश्न वा शीर्षक उदाहरणको लागि–ऊर्जा संकट, गरीबी निवारण, स्वास्थ्य बीमा, खाद्य सुरक्षा, प्रतिभा पलायन, निजामती सेवा, सुशासन प्रवद्र्धनमा निजामती कर्मचारीको भूमिका, सामाजिक सुरक्षा, मानव विकास, साझेदारी विकास, समावेशीकरणको आवश्यकता र वर्तमान स्थिति, संघीयता, अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका, संयुक्त राष्ट्र संघ र नेपालको भूमिका, सामाजिक न्याय जस्ता शीर्षकहरूमध्ये कुनै एक मात्र दिइनेछ ।
  • यस्ता शीर्षकहरू धेरैजसो हामीले लिखित परीक्षाको तयारी गर्दा ताका पढेका दोस्रो र तेस्रो पत्रका पाठ्यक्रमका शीर्षकहरूमध्येबाट राखिन्छन् ।
  • सामूहिक परीक्षण सुरु हुनुपुर्व नै तपाईँको समूह निक्र्याैल भइसकेको हुन्छ । साथै तपार्इँको समूहमा तपाईँले बोल्ने पालो समेत । तर, यदि तपार्इँको समूहमा भएका साथीहरू परिचित हुनुहुन्छ भने बोल्ने पालो फेरबदल समेत गर्न सक्नुहुन्छ । सामूहिक परीक्षणको परीक्षाको दिनभन्दा पहिले नै भेटघाट गरी एक/दुई शीर्षकमा तयारी गर्न सक्नुभयो भने त्यो झन् लाभदायी ठहरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस