प्रविधि : समृद्धिलाई गति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रविधि : समृद्धिलाई गति


झलकराज पौडेल

२ आश्विन २०७५, मंगलबार


सूचना र प्रविधिको द्रुततर विकासले मानिसको कल्पनाशक्ति भन्दा धेरै दूर रहेका असम्भव कुराहरूलाई वास्तविक तथ्यमा परिणत गरी उपयोग गर्नसमेत पाउने अवस्था सृजना गरिदिएको छ । आज प्रविधिको विकासबाट हामीले परिकल्पना गर्न भ्याएसम्मका कुराहरू एवं सपनामा देखिएका कुराहरू पूरा भएका छन्, अर्थात् सम्भव भएका छन् । सूचना तथा प्रविधिको एक मात्र माध्यम हो, इन्टरनेट । हामीसँग इन्टरनेटको पहुँच, प्रयोग गर्नसक्ने सीप र ज्ञान छ भने देशको जुनसुकै कुना कन्दरामा रहेर पनि संसार हेर्न तथा बुझ्न सक्छौं । विश्वको जुनसुकै स्थानको भौगोलिक अवस्थिति, परिवेश र संस्कृतिबारे एउटा कोठाभित्र सीमित रहेर नियाल्न सक्छौं ।

अहिलेको परिवेश कस्तो भइदियो भने हाम्रो जीवन अस्थित्वको निम्ति भोक प्यासको तृसना मेटाउनु जति महत्वपूर्ण छ, त्यतिकै महत्व इन्टरनेटको सहज उपलब्धता र पहुँचसँग ठोक्किन पुग्यो । त्यसैले भन्ने गरिन्छ, इन्टरनेट हाम्रा सूचना तथा जानकारी आदानप्रदानको एक अत्यावश्यक र महत्वपूर्ण साधन हो । इन्टरनेटको प्रयोग र हाम्रो जीवन अस्थित्वको अन्योन्याश्रित सम्बन्ध छ, भन्ने नयाँ उक्ति अहिले समय सान्दर्भिक देखिन्छ ।

अब प्रसंग जोडिन आउँछ, नेपालजस्तो अति कम विकसित राष्ट्रका हरेक दुर दराजमा रहेका सर्वसाधारणहरूको लागि इन्टरनेट र त्यससँग सम्बन्धित ज्ञान र सीपको सहज उपलब्धतासँग । जहाँ १७ प्रतिशत मानिसहरू चरम गरिबी अर्थात् आफ्नो जीवन अस्थित्वको लागि न्युनतम आधारभूत आवश्यकता प्राप्तिबाट पनि वञ्चित छन् भने केही प्रतिशत मानिसहरूले न्युनतम आवश्यकता मात्र मुस्किलले पूरा गर्न सकेका छन् । ती व्यक्तिहरूको लागि इन्टरनेटको सहज उपलब्धता भनेको अलि परको विषय बनेको छ । तर, पनि समयको माग होला अधिकतम प्रतिशत मानिसहरूमा अहिले के पनि देखिन्छ भने आहार–व्यहार तथा लुगाफाटोलगायत अन्य अत्यावश्यक खर्चहरूमा समेत कटौती गरेर पनि मोबाइल, नोटबुक, आइप्याड जस्ता प्रविधिहरूको प्रयोगमा बढी लालयित देखिन्छन्, जसमा केही अंश वैदेशिक रोजगारीको प्रभाव पनि पाउन सकिन्छ ।

विज्ञानको विकास सँगसँगै विनासको बाटो पनि सृजना गर्छ भनेजस्तै ती डिभाइसहरू उनीहरूका लागि एउटा सहज र द्रुततर सञ्चारको माध्यम त बनेको छ । तर, त्योभन्दा बढी गलत तरिकाको प्रयोगबाट विकृति पनि त्यतिकै बढ्दै जान थालेको छ । नेपालमा पछिल्लो समयमा प्रविधिको गलत प्रयोगबाट कतिपय अकल्पनीय दुर्घटनाको दृष्टान्तहरू पनि हाम्रासामु यदाकदा छर्लंग रहेका छन् । जसको एक मात्र कारण हुन सक्छ, हामीमा ती डिभाइसहरूको सही ढंगले प्रयोग गर्नसक्ने ज्ञानको अभाव, तिनीहरूको भेग उपयोगिता र प्रभावकारिता सम्बन्धी ज्ञान नहुनु अर्थात् प्रविधियुक्त उपकरणहरूको उपयोगप्रति रहेको अल्पज्ञान ।

सूचना तथा प्रविधिको सहज पहुँचले निम्ताएका विकृति र विसंगतिहरूलाई कम गर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय तहबाट नै कम्प्युटरलगायत सूचना तथा प्रविधि विषयलाई पाठ्यक्रममा समावेश गरी अध्ययन–अध्यापनलाई प्रभावकारी बनाउनु एक प्रमुख आवश्यकता देखिन्छ भने अर्कोतिर सर्वसाधारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारको रूपमा रहेका स्थानीय तह, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको विशेष पहलमा विभिन्न तालिम, गोष्ठी र सेमिनारहरूको सञ्चालनद्वारा कम्प्युटर, सूचना तथा सञ्चारको समुचित प्रयोगको लागि ज्ञान, सीप तथा व्यापकरूपमा तत्सम्बन्धी सचेतना प्रदान गर्नुपर्ने देखिन्छ । एउटा सामान्य कम्प्युटरबाट नै विश्व हल्लाउने यो समयमा विद्यालय तहमा, विद्यार्थी र सबैका लागि महत्वपूर्ण छ ।

नेपालमा २०६८ सालको जनगणना अनुसार कम्प्युटर प्रयोगकर्ता ७.२८५ र इन्टरनेट प्रयोगकर्ता ३.३३५ मात्र रहेकोमा आ.व. २०७२/७३ सम्म आइपुग्दा इन्टरनेट प्रयोगकर्ता ४६.५५ पुगेको तथ्यांकबाट देखिन्छ भने पछिल्लो चौधौं योजनामा इन्टरनेट प्रयोग गर्ने मानिसहरुको संख्या ६५५ पुर्‍याउने लक्ष्य समेत रहेको छ । यसरी हेर्दा पछिल्ला वर्षहरूमा नेपालमा कम्प्युटर तथा सूचना प्रविधिको उपयोग गर्ने जनसंख्याको अनुपात ह्वात्तै बढेको पाइन्छ ।

सर्वप्रथम नेपालमा कम्प्युटर प्रयोगको सुरुवात जनगणनाको क्रममा केन्द्रिय तथ्यांक विभागले वि.सं. २०१८ मा एफएसिआइटी नामक क्यालकुलेटिङ मेसिन प्रयोग गरेको थियो । त्यसबाट विभिन्न त्रुटिहरू देखिएकाले राष्ट्रलाई ठूलो नोक्सान समेत हुनपुग्यो । २०२८ सालमा जनगणनाका निम्ति तत्कालीन सरकारले प्रतिमहिना एक लाख २५ हजार रूपैयाँ भाडा तिर्ने गरी आइबिएम १४०१ नाम गरेको दोस्रो पुस्ताको कम्प्युटर ल्याइएको थियो, जसको भाडा समेत नेपाल सरकारले तिर्न नसकेर पछि नेपाललाई नै उपहारको रूपमा दिइएको थियो । विश्वमा नै सूचना, प्रविधि तथा सञ्चारको क्षेत्रमा अगाडि रहेको चीन र भारतको बीचमा रहेको नेपालमा पनि विश्वसँग मुकाबिला गर्न यस्तो शिक्षाको माग र आवश्यकता देखिन्छ । अन्य मुलुकहरूले कम्प्युटरको माध्यमबाट नै सम्पूर्ण शिक्षण सिकाई गर्ने गर्छन् ।

त्यस्तै २०६८ सालदेखि विद्यालय स्तरमा कम्प्युटर विषयलाई अनिवार्य विषयका रूपमा पाठ्यक्रममा समावेश गरी पठनपाठन सञ्चालन गरेको पाइन्छ भने केही विश्वविद्यालयहरूमा समेत कम्प्युटर शिक्षाको अध्ययन–अध्यापन सुचारु छ । यद्यपि भौगोलिक विकटता, विश्व बजारको तुलनामा सम्बन्धित विज्ञताको अभाव, सबै विद्यालयमा पर्याप्त विद्युत आपूर्तिमा समस्या, समान र सहजरूपमा इन्टरनेटको असुविधा जस्ता जटिलताका कारण यसको प्रभावकारिता र उद्देश्य अनुरूपको उपलब्धी हासिल गरेको भने देखिँदैन । सामान्य विद्यार्थीले समेत प्रयोगात्मक विषयको रूपमा रहेको कम्प्युटरको प्रयोग गर्न नपाउनु तथा छुट्टै व्यवस्थित प्रयोगात्मक कक्षा र दक्ष शिक्षक नहुँदा अहिले पनि ग्रामीण क्षेत्रका ऐच्छिक तथा अनिवार्य विषयको रूपमा कम्प्युटर विषय पढेका विद्यार्थीहरू पाठ्यपुस्तक मात्र हेरेर पढ्न बाध्य छन् भने कतिपय विद्यालयले कम्प्युटरको चित्र पोस्टरमा हेरेर नेपाली तथा अन्य विषय शिक्षकहरूले कम्प्युटर पढाउने अवस्था विद्यमान छ ।

नेपाल सरकारले नवौं योजना (२०५४–२०५९) मा विद्यालयमा कम्प्युटर शिक्षाको व्यापक विस्तार गर्ने र सूचना प्रविधि पार्कको निर्माण गर्ने योजना अनुरूप उक्त योजना अवधिबाट सूचना तथा प्रविधिको विकास र विस्तारको प्रभावकारितामा केही सुधार भने देखिन्छ, जसमध्ये काभ्रेको बनेपामा २०५५ सालमा सूचना प्रविधि पार्क स्थापना समेत भएको छ । सरकारले २०५७ सालमा सूचना प्रविधि नीति पहिलो पटक जारी त गर्‍यो । तर, विभिन्न कारणले कार्यान्वयन हुन सकेन । त्यस्तै राज्यले सूचना तथा प्रविधिको प्रयोगमा नियमन गर्ने र विकासमा थप प्रभावकारिता ल्याउने हेतुले प्रतिलिपि अधिकार ऐन, दुरसञ्चार ऐन तथा नियमावली, विद्युतीय कारोबार ऐनजस्ता सम्बन्धित थुप्रै ऐन तथा नियमावलीहरू समेत जारी गरी कार्यान्वयन समेत गरिरहेको अवस्था छ । सामान्यतया विद्यालयमा प्रशासनिक तथा शैक्षणिक क्रियाकलाप सञ्चालनको लागि कम्प्युटर शिक्षाको विकास वर्तमान समयमा द्रुत गतिमा हुन आवश्यक पनि देखिन्छ ।

सूचना तथा प्रविधिको प्रयोग, विकास तथा विस्तारको क्रमसँगै वर्तमान परिप्रेक्ष्यमा राज्य र शासन व्यवस्थासँग जोडिन आउने इ–गभरमेन्ट, डिजिटल गभरमेन्ट, पेपरलेस गभरमेन्ट, इ–गभरनेन्स मास्टर प्लान, इ–जिएमपी, इ–गभरनेन्स, इ–भिलेज, इ–स्कुलजस्ता केही नवीनतम शब्दावलीहरूको व्यापकतासँगै तिनीहरूलाई सार्थकता प्रदान गर्न राज्य निकायबाट विशेष पहलकदमी चाल्नुपर्ने देखिन्छ । जसको निम्ति पहिलो प्रयास नै विद्यालय तहबाट हुनुपर्छ । शिक्षक वर्गबाट हुनुपर्छ ।

शिक्षकहरूलाई सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रवेश गराउने, अभ्यस्त गराउने पहिलो माध्यम हो– कम्प्युटर शिक्षाको ज्ञान र चलाउने सीप । शिक्षकहरूलाई विभिन्न माध्यमबाट कम्प्युटर शिक्षा र तत्सम्बन्धी सीप दिन सकियो भने मात्र उनीहरूले भविष्यका कर्णाधार विद्यार्थीहरूलाई आफूले प्राप्त गरेको ज्ञान र सीप बाँड्न सक्छन् । परम्परागत शिक्षण सिकाइ क्रियाकलापको विकल्पस्वरूप आफ्नो शिक्षण सिकाइ कार्यलाई थप प्रभावकारी, आधुनिक र प्रविधिमैत्री बनाउन सक्छन् । परिणामतः विद्यार्थीहरूमा समेत आधुनिक सूचना तथा प्रविधिको ज्ञान, क्षमता एवम् सोचको विकास हुन्छ, साथै समाजमा विश्वव्यापीकरणको प्रभावले एक्कासी सृजना गरेका चुनौतीहरूसँग मुकाबिला गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धी बन्न सक्षम बनाउँछ ।

यिनै परिवेशहरूलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिका वडा नं.२७ का वडा जनप्रतिनिधिहरूको आर्थिक तथा प्राविधिक व्यवस्थापन र लेखनाथको शिशुवास्थित लक्ष्मी आदर्श माविका प्रधानाध्यापकको विशेष पहल र संयोजनमा पोखरा महानगरपालिका वडा नं.२७ अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका करिब ६५ जना शिक्षक– शिक्षिकाहरूलाई शिशुवाको लक्ष्मी आदर्श माध्यामिक विद्यालय र रिठ्ठपानीको वीर आधारभूत विद्यालयमा केन्द्र बनाई आधारभूत कम्प्यूटर सिकाई तालिमको सुरुवात गरेको छ । हरेक दृष्टिकोणबाट समृद्ध बनाउने राज्यको योजना अनुरूप समृद्ध राष्ट्र निर्माणको अभियानमा यो कार्यक्रम एउटा महत्वपूर्ण कोशे ढुंगाको रूपमा रहने कुरालाई अनुमान गर्न सकिन्छ ।

संघीय संरचना अनुरूप बनेको पहिलो स्थानीय सरकारका पछिल्ला केही घटनाक्रम तथा क्रियाकलापहरूबाट निर्वाचित जनप्रतिनिधिहरू केवल आफ्नो सेवा सुविधा र स्वार्थमा मात्र केन्द्रित रहेका, जनताको अपेक्षा अनुरूप कार्य नगरेका भन्ने जस्ता कुराहरूबाट जनप्रतिनिधिहरूप्रति गरिएको विश्वासको वातावरण गुमाउने क्रम रहेको र सर्वसाधारण जनताको प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारको हरेक क्रियाकलापलाई शंकाको घेरामा राखेर हेर्न थालिसकेको वर्तमान परिस्थितिमा यस वडाका वडा अध्यक्षको शिक्षा क्षेत्रको सुधार, आधुनिक प्रविधिको विकास र विस्तारमा देखाइएको लगाव तथा समुन्नत राष्ट्र निर्माणको निम्ति राखेको प्रगतीशिल सोच, अन्य सदस्यहरूको भावनात्मक साथ र सहयोग एवम् वडामा कार्यरत कर्मचारीहरूको कार्यक्रम कार्यान्वयनमा देखाएको क्रियाशिलता तथा लक्ष्मी आदर्श मावि र वीर आवि (आवासीय विद्यालय)का प्रधानाध्यापकज्यूहरूको सक्रियता साथै अधिकतम चुनौती एवम् कठिनाइहरूको सामना गर्दै, उमेर अवस्था, शारीरिक अशक्तता जस्ता असहजताको समेत प्रवाह नगरी तालिम कार्यक्रममा सहभागी हुने शिक्षक शिक्षिकाहरुको उत्सुकता साँच्चै नै प्रशंसनीय देखिन्छ ।

वडा अध्यक्षको विशेष पहलमा आयोजित उक्त कार्यक्रम नेपाल अधिराज्यभर पहिलो, नवीनतम र एक उदाहरणीय कार्यक्रमको रूपमा रहेकोले उक्त कार्यक्रम पोखरा महानगरपालिकालगायत अधिराज्यभरका अन्य वडा साथै अन्य तहको सरकारको लागि पनि अनुकरणयोग्य छ । आधुनिक प्रविधिमा शिक्षकहरूलाई अभ्यस्त गराई कलिला बाबुनानीहरूलाई आधुनिक प्रविधिबाट शिक्षण सिकाइ गरिनुपर्ने, उनीहरूलाई जुनसुकै तवरबाट पनि विश्व समुदायसँग प्रतिस्पर्धी बनाउनुपर्ने दृढ र आधुनिक सोच राखेर वडा अध्यक्षज्यूको अग्रसरतामा आयोजित सो कार्यक्रमले पक्कै पनि समाजमा नतिजामुखी प्रभाव छर्नेछ ।

स्थानीय सरकारको रूपमा रहेको महानगरपालिकाको एउटा वडाबाट सुरुवात गरिएको उक्त कार्यक्रमले एउटा सुधारात्मक तथा सकारात्मक सन्देश दिनेछ भने वडा अध्यक्ष लगायतका अन्य सदस्य ज्यूहरू यी र यस्ता खालका समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने खालका प्रगतिशिल र रचनात्मक कार्यका लागि चाल्नुभएका कदमले निरन्तरता पाउनेछ र पाओस् पनि । जुन सपना बाँडेर जनाधार प्राप्त गरी जनप्रतिनिधि हुने अवसर पाउनुभएको छ, अवश्य पनि आफ्ना वाचाहरू पूरा गर्न यस्ता कार्यहरूबाट थप सहयोग मिल्नेछ ।

संघीय संरचनाको एउटा सुन्दर नमुना वडाको रूपमा विकास गरी जनताको विश्वास जित्न अनि समृद्ध समाज निर्माणको लागि यहाँहरू सफल हुनुहोस् । बाँकी कार्यकालको उल्लेखनीय सफलताको शुभकामना !

Tags :
प्रतिक्रिया दिनुहोस