जिल्ला स्वास्थ्य कार्यालयले सरुवापत्र दिन नमान्दा स्वास्थ्यकर्मी समस्यामा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जिल्ला स्वास्थ्य कार्यालयले सरुवापत्र दिन नमान्दा स्वास्थ्यकर्मी समस्यामा


२ आश्विन २०७५, मंगलबार


बैतडी । सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी समस्यामा परेका छन् ।

गत भदौ १७ गते कर्मचारी जिल्लाबाट सरुवा भएपनि हालसम्म उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले सरुवापत्र उपलब्ध गराएको छैन । कार्यालयले सरुवापत्र दिन नमान्दा २२ स्वास्थ्यकर्मीलाई समस्या भएको छ । स्वास्थ्य सेवा विभागले सरुवा गरेपनि स्वास्थ्य कार्यालयले सरुवापत्र दिन नमानेको कर्मचारीको आरोप छ ।

“सरुवा भएपनि अन्योलमा छौँ,” दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्यचौकीका अहेव प्रेम चन्दले भने । गाउँपालिकाले समेत सहमति दिएको अवस्थामा जिल्लाले रोकेको उनको गुनासो छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जगदीशचन्द्र विष्ट विभागबाट सरुवा गरिएकोबारे आधिकारिक पत्र प्राप्त नभएको बताउँछन्। उनले भने, “प्रदेश नं ७ सरकारले सरुवापत्र नदिनु भन्ने निर्देशन दिएको छ ।”

प्रदेश नं. ७ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका प्रमुख, स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बैतडीमा मात्र नभइ प्रदेशभरिका सबै जिल्लाका सरुवा भएका स्वास्थ्यकर्मीलाई सरुवापत्र नदिन निर्देशन दिएको बताए । तीन हजार १७७ स्वास्थ्यकर्मीको दरबन्दी भएको प्रदेश नं. ७ मा झण्डै २०० पद रिक्त रहेको छ । उनले भने, “यही प्रदेशबाट १५० स्वास्थ्यकर्मीको सरुवा गर्दा स्वास्थ्य संस्था बन्द हुन्छन् ।”

डा. अवस्थीका अनुसार सङ्घीय सरकारले प्रदेश नं. ७ बाट सरुवा मात्रै गरेको र अन्यत्रबाट यहाँ स्वास्थ्यकर्मी नपठाएको बताए । सङ्घीय सरकारले अन्य प्रदेशबाट प्रदेश नं. ७ मा स्वास्थ्यकर्मी नपठाउँदासम्म सरुवापत्र नदिइने उनले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस