नेता र जनताले सङ्घीयता बुझेनन् : महामन्त्री कोइराला « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेता र जनताले सङ्घीयता बुझेनन् : महामन्त्री कोइराला


३० भाद्र २०७५, शनिबार


चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेता र जनताले सङ्घीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताए । उनले भने, ‘सङ्घीयताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन् ।’

एक÷दुईवटा निर्वाचनपछि सङ्घीयता कार्यान्वयन सहज भएर जाने पनि उनले बताए । महामन्त्री कोइरालाले काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको बताए । उनले भने, ‘सरकारका राम्रोलाई राम्रो र गलतलाई गलत भन्नुपर्छ । कांग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्याङ्कन गर्नेछ ।’

समृद्ध राष्ट्र बनाउने अभियानमा काङ्ग्रेस पहिलेदेखि नै लागिरहेको भन्दै उनले सरकारका समृद्धिका योजनामा आफ्नो पार्टीको सहयोग रहँदैआएको बताए ।

फरक प्रसङ्गमा उनले देशभरका नेता कार्यकर्ताको राय बुझेर आफूले पार्टीको सभापतिमा उम्मेदवारी दिने वा नदिने टुङ्गो लगाउने बताए । पार्टीभित्र केही मतभेद रहेपनि त्यसको उचित व्यवस्थापन गरी एकढिक्का भएर जाने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस