खुसी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खुसी


३० भाद्र २०७५, शनिबार


खुसी

इलेक्ट्रोनिक हाजिरी सुरु भएदेखि धेरै परिवर्तन भएको छ, सिंहदरवारमा । सबेरै चहलपहल सुरु हुन्छ । आउँदा जाँदाको भने सास्ती । बाटोमा धूलो–धूवाँ । ट्राफिक जाम नभएको रुट नै छैन । पानी पर्‍यो भने जताततै हिलाम्मे । बिहान ८ः३० बजेसम्म घरबाट ननिस्कने हो भनेसमयमा अफिस पुगिँदैन । सबेरै उठ्यो, खाना पकायो, हतार–हतार खायो, अफिस दौडनकै हतार सधैं ।

अफिसमा फेरि त्यस्तै हतारो छ, आजकल । संघीयताको सकस । कर्मचारी समायोजनको अनिश्चितता । के हो कता खटाइने हो पत्तो छैन । हाकिमहरू विषयगत ऐन, नियमको ड्राफ्ट अनि संगठन संरचनाको खाका कोर्न मिटिङै मिटिङ । घरी यता घरी उता गर्दागर्दै उर्वशी भोकाइसक्छे, दिउँसो १२ नबज्दै ।

उर्वशीलाई सधैं उकुसमुकुस भइरहन्छ । घर, अफिस अनि आफ्नै मनको छटपटीले पनि सताइरहेको हुन्छ उसलाई । कता जाउ के गरौं भन्ने छटपटी भइरहँदा क्यान्टिनमा भेटिएका केही महिला कर्मचारीहरू नै उसका नजिकका साथी बनेका छन्, आजकल । तिनीहरूसँगको छोटो टिफिन गफबाट नै उसले आफ्नो जीवनमा खुसी ल्याउन खोजिरहेकी हुन्छे सधैं ।

‘ओई शर्मिली ! निक्लने होइन ? मलाई त साह्रै भोक लाग्यो आज । निक्ल, अब खाजा खान जाऊ । फेरि ढिला भयो भने त्यो सर्भिस सेन्टरमा बस्ने ठाउँ नै हुँदैन । कुरेर बसेर पनि के खाजा खानु ! यसै त यस्तो थकाई अनि भोक, कुर्न पर्‍यो भने सक्दिनँ म त । सम्पदा अनि विनितालाई पनि म फोन गरिहाल्छु । तिमी निक्लिहाल है शर्मिली,’ उर्वशीले फोन गर्छे शर्मिलालाई ।

शर्मिलाको फेरि आफ्नै थप व्यस्तता छ आजकल । सम्पर्क अधिकृत भएर बेस क्याम्प पुगेर अस्ती मात्रै फर्केकी । त्यसैको डि–ब्रिफिङ छ रे पर्सी । उनलाई हाकिमले माया गरेर सम्पर्क अधिकृत बनाई पठाइदिएका हुन् । साढे एक लाख रूपैयाँको कुरा अनि आफ्नै रेकर्ड पनि बिगार्न भएन । उसलाई आफ्नै कामको हतारो छ आजभोलि ।

‘तिमीहरू जाँदै गर, म रिर्पोट सकाएर आउँछु,’ उनले भनी । शर्मिलाले भने सर्भिस सेन्टरभन्दा संसद् सचिवालयको क्यान्टिन जान सल्लाह दिई ।

सर्भिस सेन्टरभन्दा संसद् सचिवालयको क्यान्टिन अलिक फराकिलो छ, बाहिरै छतरीमुनि बसेर कफी पिउन र गफ गर्न पाइने । शर्मिला फेरि त्यस्तै पनि छे, शर्म मान्छे । मान्छेसँग ठ्याक्कै मिल्नेछ त्यसको नाम -शर्मिला । पण्डितले नै राखिदिएका रे ।

उर्वशी, सम्पदा र विनिता क्यान्टिनमा आइपुग्छन् । बाहिरपट्टिको छतरीमा बस्छन् तीनै जना । अलिक उता एक जना सांसद पनि थिइन् एक्लै, चिया पिउँदै गरेकी । एकछिन सबैले मुखामुख गर्छन् । सांसदको उपस्थितिले तिनीहरूलाई के बोलौं के बोलौं भइरहेको हुन्छ । सन्नटालाई चिर्न त्यस्तैखाले कुराकानी निकाल्छे उर्वशीले…। ‘त्यो एउटा राष्ट्रिय दैनिकले कार्यस्थलमा यौनजन्य हिंसाबारे समाचार लेखेको थियो नि, त्यसको केही प्रगति आयो त विनिता ? मैले त कतै देखिन त्यसको अपडेट,’ उसले भनी ।

नजिकै बसेकी सांसदले तुरुन्तै चासो राखिहाल्छिन् । ‘के समाचार आएको थियो र बहिनी पत्रिकामा ?’

विनिताले थप प्रष्ट पार्न खोज्छे । ‘महिला कर्मचारीहरूमाथि भएको यौनजन्य हिंसाको विवरण छापिएथ्यो पत्रिकामा । भन्दा बहिनी भन्ने तर व्यवहार भने अर्कै रे । कल्पनै गर्न नसकिने परिस्थिति पनि छ भन्ने कुरा छापिएथ्यो पत्रिकामा ।’
सांसदले थप चासो बढाउँछिन् । ‘अनि केही भएन त ? समाचारको असर केही परेन ?’

‘अहँ । त्यसको केही प्रगति फेरि छापिएन । …हुन त ऐन पनि आइसकेको छ, माननीयज्यू, कार्यस्थलमा हुने यौनजन्य हिंसा निवारण गर्नलाई । तर, व्यक्तिगत उजुरी दिनसक्ने अवस्था अझै बनिसकेको रहेनछ । सरकार त जवाफदेही बन्नैपर्छ, सरकार भाग्न त सक्दैन नि । तपाईंले संसदमा कुरा उठाइदिनुपर्‍यो माननीयज्यू,’ विनिताले आग्रह गर्छे ।

सांसदको मोबाइलमा घण्टी बज्छ । उनले टेलिफोनमा निस्कने कुरा गर्छिन् ।

जाँदै गर्दा उनले भनिन्, ‘बहिनीहरू ! म उठाउँछु है यो कुरा संसदमा । तपाईंहरूले याद गरिराख्नु होला । बरु मलाई नम्बर दिनु न तपाईंको, म डिटेल पनि माग्नेछु बोल्ने बेलामा ।’

शर्मिला पनि टुप्लुक्क आइपुग्छे क्यान्टिनमा । उनी आफ्नो लागि मगाएको खाजाबारे सोध्छिन् । ‘म त फ्रुट खान्छु है । मगाएको छ कि नाई ? नाई भए म थपेर आउँछु ल,’ उनले भनिन् ।

सम्पदाले उत्सुक भएर जवाफ दिन्छे, ‘…अब तिमी सम्पर्क अधिकृत भएर गएकी, आफू जान नपाए पनि सुन्न त पर्‍यो नि तिम्रो अनुभव । त्यही भएर तिम्रो च्वाइस के नमगाउनु, मगाएको छ । बरु भन त कस्तो रहेछ अमादब्लम ? के–के गरिस् तैले त्यहाँ ?’

‘ओहो ! छुट्टै संसार छ, यार ! यो काठमाडौंको कोलाहल चटक्कै बिर्साइदिन्छ । जति माथि गयो उति जाऊँ जाऊँ लाग्ने । नाम्चेसम्म पुगेर फर्कौंला भन्ठानेकी थिएँ । यति आनन्ददायक रहेछ कि म त बेसक्याम्पसम्मै पुगेँ । फर्किनै मन लागेन । लेडी माउन्टेन भन्दोरहेछ अमादब्लमलाई । शेर्पिनी आमाले आफ्ना बच्चालाई दुवैतिर समातेर बसेजस्तो । मैले त पूजा गरें पुग्नेबित्तिकै । हिमालमा शंकर भगवान् बस्नुहुन्छ भन्नुहुन्थ्यो आमाले म सानो हुँदा । मन शान्त भयो मेरो त पूजा गर्दा ।’ शर्मिलाले सविस्तार वर्णन गरिन् ।

‘के मागिस् त वर शंकर भगवानसँग ?’ सम्पदाले जिस्क्याउँदै सोध्छे शर्मिलालाई ।

‘के माग्नु नि ! प्रगति तथा प्रमोसन होस्, हाकिम हुन पाम् भने भगवानलाई ।’

‘अनि राम्रो श्रीमान् पाऊँ भनिनस् ?’ उर्वशीले थप जिज्ञासा राख्छे उसँग ।

‘भने नि । किन नभन्नु ! माया गर्ने अनि मलाई घुमाइरहने बूढा पाम् भने भोलेनाथलाई । जिन्दगीको पीर मलाई पनि त छ नि । के हुने हो, कसो हुने हो भोलि । चिन्ता त हुन्छ नि सबैलाई ।’

‘त्यस्तो कुनै रोमान्टिक सिचुएसन ?’ सम्पदाले उत्सुकता पूर्वक सोध्छे शर्मिलालाई ।

‘हा हा हा । के भनौं यार ! दुई ग्रुप मिलाएर लगेको रहेछ एजेन्सीले । अर्को ग्रुपको सम्पर्क अधिकृत साह्रै सोझा । पर्यटनका सुब्बा रहेछन् । म परे अधिकृत । उनलाई साहस नै आएन । इन्फेरिटी कम्प्लेक्स हुनेरहेछ । पेम्बोचेमा बसायो ग्रुपले । होटेलकी शेर्पिनीले पो पार्नु पारी नि मलाई त ।’

‘के पारी त्यस्तो शेर्पिनीले !’ थप कुरा थाहा पाउन लालायित हुन्छे सम्पदा ।

‘खोइ ! दुई वर्षअघि को गएको रहेछ कुन्नी सम्पर्क अधिकृत भएर । लेडिज र जेन्स रहेछन् । कोठा भने दुई लिएछन् तर एउटैमा सुतेछन् । उसका विदेशी ग्राहक राख्न नपाएर दुखेसो गरी मलाई । नेपालीले खर्च नगर्ने । विदेशीलाई राख्ने उसको कोठा बेकार ओगटिएछ । दुई–दुई जनालाई एउटा–एउटा कोठा देखाई हामीहरूलाई पनि । मलाई त त्यही पर्यटनका सुब्बा सा’बसँग पो सँगै बस्न भन्छे बाई । कस्तरी भनेकी… तिमीहरू त अर्कै हुन्छौ, देखाउँछौ एउटा तर गर्छौ अर्कै रे !’

विचरा सुब्बा सा’ब नीला भए, म पनि बोल्नै सकिनँ । पछि बरु मैले भनेँ…। सबै एउटै हुँदैनन् नि दिदी । मलाई छुट्टै कोठा दिनुहोस्…। यही एउटा हो, छुट्टै सुत्ने भए डाइनिङ हलमा पो सुत्न भन्छे मोरीले । विचरा सुब्बा साब स्लिपिङ ब्यागमै पल्टिए डाइनिङ हलमा ।’

‘हाउ रोमान्टिक ! म भएँ त विन्दास हुन्थे ।’ आफ्नै पारामा चुक्चुकाउँछे सम्पदा ।

शर्मिलालाई खपिनसक्नु हुन्छ । ‘हैट ! त्यस्तो सोझो अनि चुरोट ठुस्स गनाउने सुब्बा पो जोडाउँछे यार मलाई त । कल्पना पनि अलिक सुन्दर गर्दै न सम्पदा ।’

सम्पदाले झनै जिस्क्याउँछे शर्मिलालाई । ‘तँलाई सुब्बासँग किन जोड्थे हो मैले । देखेकी छु तँलाई कतिले फलो गर्छन् यो सिंहदरवारमा । तेरो फेसबुक पोस्टमा एकैछिनमा सयौं लाइक आइहाल्छ । था नपाएकी हुँ र मैले ? विदेशीलाई घुमाउन लगेकी, न्यू टेस्ट पो भन्या के मैले । कुरै बुझ्दिन यार !’

‘हा हा हा !’ हाँसोको फोहरा निस्किन्छ माहोलमा ।

‘हैट ! यो सम्पदासँग सक्दैन कसैले ।’ विनितालाई एकदमै रमाइलो लाग्छ सम्पदाको प्रस्तुतीकरण । एकछिनअघि सांसदसँग भएको संवाद बसिरहेको रहेछ, उसको मानसपटलमा । पत्तै नपाई आफ्नै हाकिमले कार्यालयमा बनाउने गरेको त्यस्तै रोमान्टिक माहोल कोट्याउन पुग्छे विनिता ।

‘मेरै हाकिम छन् नि, क्या रोमान्टिक बन्छन् भने कहिले कहिले त । उनलाई यो आरक्षण एकदमै मनपरेको छ । कहिले हो भन्दै थिए, अफिस सुरु हुने र सकिने बेला झ्यालमा बसेर बाहिर हेर्दा एकदमै आनन्द आउँछ रे हाकिमलाई । कर्मचारीको पनि फूलबारी जस्तै छ भन्छन् सिंहदरवारलाई । उनको टर्मिनोलोजी पनि गज्जबको छ । को–वर्क । पहिला–पहिला एक–दुई महिलामात्रै हुने अनि सबैको ध्यान तिनै एक–दुई महिला कर्मचारीमा जाने । सन्तुलन नमिल्दा नचाहेरै पनि यौनजन्य हिंसा भइहाल्थ्यो भन्छन् विचरा । आरक्षणले महिलाको संख्या बढेर यौनजन्य हिंसा स्वतः घटेको निष्कर्ष छ उनको । कस्तरी भन्छन् भने लाजै नमानी सन्तुलन मिले हन्टिङ हुँदैन रे ।’

‘आहा ! दार्शनिक छ के हो तेरो हाकिम ?’ सम्पदालाई मज्जा लाग्छ उसको हाकिमको तरिका । ‘ठीकै त भने नि तेरो हाकिमले ।’

‘विपरीत लिंगको आकर्षण सबैमा हुन्छ त । आफ्नो इच्छा रहँदासम्म त हिंसाको अनुभूति हामीलाई पनि हुँदैन नि । तेरो हाकिमको निष्कर्ष एकदमै सही हो । नो हन्टिङ इन इक्वलिब्रियम ।’

‘हेर न यो सम्पदा । यसलाई कसैको डर छैन । विनिताले त भनी आफ्नो हाकिमको चर्तिकला । के छ नि तेरो फेरि ?’ उर्वशीलाई सम्पदाको वातावरणबारे पनि थाहा पाउन रहर जाग्छ । शर्मिला भने मुसुमुसु हासिरहेकी हुन्छे त्यो माहोलमा ।
सम्पदाले भनी, ‘ओहो ! मेरा हाकिम त ज्यादै पो मायालु छन् त । अब हेर न, यही अफिसमा आएपछि हो मेरो चिनजान भएको हाकिमसँग । एउटा परियोजनाको फोकल पर्सन बनाइदिएका छन् मलाई । बजेट पनि टन्न छ । विदेश पनि पठाइदिन्छन् बेलाबेलामा । अस्ती नै लाडिएर पिएचडी मिलाइदिनु न सर के भनेथेँ, इमेल गरिहालेछन् दातृ संस्थालाई । हिजो मलाई इमेल देखाउँदै थिए । कार्यक्रम नै राखेर पठाइदिन्छु भनेछन् मलाई त ।’

‘जान्छेस् त विदेश पढ्न ?’ उर्वशीले फेरि प्रश्न गरी ।

‘लन्डनमा गएर पीएचडी पढ्न पाउनु त्यो पनि स्कलरसिपमा । किन नजाने, जान्छु म त । जागिर भनेको यस्तै हो उर्वशी । घर भनेको बुबा वा श्रीमानको । तर, अफिस त हाकिमकै हो नि । सरुवा, बढुवा, सेवा सुबिधा सबैमा हाकिमकै त चल्छ । अब यस्तै छ जताततै । जे सोच्यो त्यही न हुने हो । सक्दिनँ म त कक्रक्क बाँधिएर बस्न । स्वतन्त्रताबिनाको जीवन नि जीवन हो र ? एकबारको जिन्दगी बिन्दास जिउने हो । जे मन लाग्छ बाँकी नराख्ने । अरूको चित्त नदुखाई म आफ्नो जीवन जिउन स्वतन्त्र छु । एउटा हिन्दीमा कहाबत छ नि– मन चंगा तो कठौती में गंगा । त्यस्तै हो उर्वशी ।’

सम्पदाको कुराले एकछिनसम्म सन्नटा छाउँछ माहोलमा । टेबलमा राखिरहेको विनिताको मोबाइलमा म्यासेज आइपुग्छ । म्यासेजको ट्वाङग आवाजले सबैको ध्यान तानिन्छ । बाहिरै देखिने सेटिङ मिलाएकी रहेछ म्यासेजको । सबैले देख्छन् उसको म्यासेज । ‘…हाई डियर ! कता छौं ? कल मि है निस्कने बेला । सेन्डरको नाम भने कोडमा थियो । अन्लक्की ।’

उर्वशीले शंकास्पद तरिकाले सोध्छे, ‘को हो त्यो डियर भन्ने तँलाई ?’

विनिताले भने मुस्कुराउँदै जवाफ दिन्छे । ‘मेरो बालककालको साथी हो, सौभाग्य । सँगै पढेको मसँगै । गंगालालमा डाक्टर छ मुटुको । माया गर्दोरहेछ मलाई एकदमै । धेरैपछि थाहा पाएँ मैले । तर, मेरो बिहे अर्केसँग भइसकेको थियो । तैपनि उसले मलाई कहिल्यै बिर्सिएन । मेरो मुटुमा घर बनाउँछु भन्छ अझै पनि जिस्किएर । आज मंगलबार, उसले मेरा लागि नै छुट्याएको छ यो दिन । डाक्टर जस्तो मान्छे, कति व्यस्त होला । मसँग एकछिन भए पनि बस्नैपर्छ उसलाई । त्यो पनि बानेश्वरको बी क्याफेमा । कमसेकम त्यहाँ तिरेको सेवा शुल्क र टिप्स फरक तरिकाले सक्षम व्यक्तिहरूले पाउँछन् भन्छ सौभाग्य । बरु मै पो भ्याउँदिन कहिलेकाहीँ । कस्तो मुटु छुने गरेर भन्छ भने सौभाग्यले…। मुटुको डाक्टर भएर के गर्नु ! आफ्नै मुटु आफैंसँग नभएपछि । अनि म केको सौभाग्य ! अभागी हुँ म अभागी । अन्लक्की नाम पनि उसैले सेभ गरिदिएको हो मेरो मोबाइलमा ।’

विनिताको कुरा सुनिरहेकी शर्मिला भने मुसुमुसु हाँसिरहेकी हुन्छे । उर्वशीलाई शर्मिलाको हाँसो एकदमै मनपर्छ । ‘घत लाग्यो क्या हो शर्मिला ? बोल्दिनस् त । हाँसोभित्र लुकाइराखिछेस् त तेरा कुरा । के छ हो भन न तँ पनि ।’

‘मेरो त बेहाल छ यार । अनम्यारिड न परे । त्यस्तो केही छैन मेरोमा । म त आफ्नै कुरामा हराइरहेकी हुन्छु सधैं । अब हेर न, दिदीले लभ म्यारिज गरेकी, जात भात नमिलेर वुबा आमा अहिलेसम्मै बेखुसी हुनुहुन्छ । आमाका आँखा सधैं रसिला, रोएको रोयै । आमा रोएपछि बुबा फेरि सधैं त्यस्तै । गाह्रो पो छ हो, मलाई त । ‘…जुक्ति त निकालेकी छु निकाल्न त । दादाले छनोट गरेको केटासँगै बिहे गर्दिम्ला भनेकी छु । आमाबुबाको चित्त बुझाउनलाई । … दादा बरु बुझेको छ । देश विदेश घुमेको छ । समयअनुसार के कस्तो उसलाई थाहा छ । …हेरौं कस्तो रोजिदिन्छ दादाले मलाई । राम्रै रोज्ला, रोजेन भने पनि ठीकै छ… स्वतन्त्र जिउने हो । स्वतन्त्रता गुमाएर पनि के जिउनु अहिलेको जमानामा । लोक सेवाले ट्याग भिराइदिएकै छ क्यारे क्वालिफाइड भनेर । बिन्दास जिउने हो चंगाजस्तै उडेर ।’

फेरि सबै मज्जाले हाँस्छन् । त्यहीबेला सम्पदाको मोबाइलमा उसको हाकिमको फोन आउँछ । उनी फोनमा भन्दै थिए, ‘बधाई छ सम्पदा…। तिम्रो रहर पूरा हुने भो । तिमीले पिएचडी गर्न पाउने भयौं स्कलरसिपमा । तिमीलाई भेटेरै भनौला भनेर कुरेथेँ । आइपुगिनौं, अनि फोन गरेको । स–परिवार जान पाउने भयौं लन्डनमा ।’

सम्पदा एकदमै खुसी हुन्छे । उनलाई साथीहरूले बधाई दिन्छन् । उसलाई आफ्नो हाकिमलाई भेटेर धन्यवाद दिन एकदमै हतार भइरहेको हुन्छ । घडीमा २ बजिसकेको थियो । उनीहरू आ–आफ्नै कार्यालय फर्कन्छन् त्यसपछि ।

बाटोभरि उर्वशीको दिमागमा अनेक कुराहरू खेलिरहन्छन् । चुकचुकाउँछे ऊ आफ्नै जीवनदेखि । उसलाई साथीहरूको जीवनदेखि डाहा लाग्छ । परिवारसँगै भएर पनि कति स्वतन्त्र छन् तिनीहरू । शर्मिला त अविवाहित हो, उसले पनि चंगाजस्तै उड्ने सपना बुनेकी छ भविष्यको । तिनीहरूको खुसी देखेर उर्वशीलाई अर्कै जीवनको रहर जागेर आउँछ । उसलाई भित्रैदेखि एउटा चेत खुलेर आउँछ । समाज, संस्कार र परम्पराले तोकेको तनको स्वच्छताले मात्रै खुसी हुन सकिने रहेनछ जीवनमा । खुसी हुन त मन पो चंगा हुनुपर्ने रहेछ । सम्पदाले सुनाएको हिन्दी कहावतले घच्घचाइरहन्छ उर्वशीलाई । ‘मन चंगा तो कठौती में गंगा ।’ स्वतन्त्र भएर जिउनुको आनन्द अर्कै रहेछ ।

अफिसको कुर्सीमा पुगेर बसेको पत्तै हुँदैन उर्वशीलाई । निकैबेरसम्म घोत्लिइरहन्छे उर्वशी । अफिस सकिएर सबै साथीहरू निस्किसकेका हुन्छन् । ऊ भने एक्लै बसिरहेकी हुन्छे अफिसमा । उसलाई सँगै पढेको साथी अर्पणको याद आउँछ एकदमै ।

अर्पणलाई बिर्सन के नै पो गरिन उर्वशीले ! बिहेपछि उसले कहिल्यै सम्पर्क गरिन अर्पणलाई । अर्पणले पनि त्यसपछि कहिल्यै सम्पर्क गरेन उसलाई । आज भने अचानक अर्पणलाई फोन गर्न मन लाग्छ उर्वशीलाई । दिमागमा गढेर बसेको उसको पुरानो नम्बरमा फोन लगाउँछे पनि । तर अर्पणको फोन भने उठ्दैन । निराश बन्छे उर्वशी । उसको छट्पटी झनै बढेर जान्छ । वासरुम जान्छे, फ्रेस भएर आउँछे । फेरि फोन गर्छे । यसपटक भने तुरुन्तै उठ्छ अर्पणको फोन ।

‘हेल्लो ! एकछिनपछि गर्नु ल !’ सधैं सुनिरहेको महिलाको आवाज थियो त्यो । उसले चिनिहाल्छे शर्मिलाको आवाजलाई ।

‘शर्मिला ! तँ ? कसरी पुगिस तँ त्यहाँ ? हेर्दा त कति सोझी देखिन्थिस् । यस्ती पो रहिछेस् ।’ छाँगाबाट खसेजस्तै हुन्छे उर्वशी । उसलाई खपिनसक्नु घोचिरहन्छ, शर्मिलाको त्यो आवाजले ।

‘हा हा हा हा हा !’ खित्का छोडेर हाँसिरहन्छे शर्मिला । उसको हाँसो निकैबेरसम्म रोकिँदैन ।

उर्वशीले फोन काट्न खोज्छे । तर, उताबाट शर्मिलाले फेरि बोल्न सुरु गर्छे ।

‘उर्वशी ! हि इज माई ब्रदर । अस्तीमात्रै फर्केको अमेरिकाबाट । पिएचडी सकाएर । नेपाल र नेपालीले तान्यो अरे उसलाई । नेपालमै काम गर्ने भनेर फर्किएको अब सधैंलाई । मोबाइल छोडेर गएरहेछ । अहिले साथीहरू आएका छन् उसका, तल वेटिङ रुममा छन् तिनीहरू ।’

काट्नै लागेको फोन फेरि ध्यान लगाएर सुन्छे उर्वशी । तर, उसलाई के भनौं के भनौं भइरहेको हुन्छ ।

उसले माफी माग्छे शर्मिलासँग । ‘सरी शर्मिला । मैले तिमीलाई चिन्न सकिन । मेरो दिमागले त के पो सोच्यो आत्तिएर ।’

‘इट्स ओके, उर्वशी । मैले पनि तिमीलाई मेरो दादाको बारेमा भनेकी थिइनँ नि । तर, तैले मेरो दादालाई कसरी फोन गरिस् हँ ? म त अचम्म परे उर्वशी ।’

‘साथी हो अर्पण मसँगै पढेको,’ उर्वशीले बिस्तारै भन्छे शर्मिलालाई ।

‘हा हा हा ! इट्स मोर देन फ्रेन्डसिप । तिमीले बिर्सियौं अघि मलाई भनेको कुरा ? यु वेर डाउटिङ मी !’

एकैछिन सोचमग्न देखिन्छे शर्मिला । उसको एकत्रित दिमागमा…एउटी कल्कलाउँदी, हिस्सी परेकी, दुई चुल्ठा कपाल बाटेकी, निधारमा बिन्दी लगाएकी चुलबुले उर्वशीको आकृति बिस्तारै सदृश भएर आउँछ । ऊ फेरि हाँस्न थाल्छे खित्का छाडेर… ‘हा हा हा हा !’

दादा पनि आइपुग्छ तलबाट । ‘कोसँग हाँस्दै छस् हँ शर्मिला ?’ दादाले सोध्छ ।

‘उर्वशीको फोन रहेछ । उठाइदिएको ।’

‘हँ ! खै यता ले त फोन मलाई ।’ अर्पणले बोल्न सुरु गर्छ । ‘हेल्लो उर्वशी !’

उर्वशी बोल्नै सक्दिनँ, अर्पणसँग । उसले आफ्नो आवाज निकाल्नै सक्दिनँ । उर्वशीका आँखाबाट खुसीका आँशु धर्धरी बग्न थाल्छन् । आफूलाई सम्हाल्नै सक्दिनँ उर्वशीले । सुक्कसुक्क हुँदै रोएको उसको आवाजलाई उसले आफ्नो अर्को हातले दबाउनै सक्दिनँ । अनायासै फोन काटिदिन्छे उर्वशीले र अफिसको ढोका बन्द गरेर रोइरहन्छे निकैबेरसम्म ।

अर्पणलाई फेस गर्न निकै गाह्रो भइरहेको हुन्छ उर्वशीलाई । र, आफैंले अर्पणलाई बिर्सन गरेको निरर्थक प्रयासप्रति ग्लानी पनि । घर जाने बेलामा उसले एउटा टेक्स म्यासेज पठाइदिन्छे अर्पणको मोबाइलमा । ‘हाई अर्पण ! वेलकम ब्याक इन नेपाल । होप, आई विल बी एबल टु सी यु भेरी सुन ।’

Tags :
प्रतिक्रिया दिनुहोस