मिश्रको शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्मको यात्रा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मिश्रको शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्मको यात्रा


२५ भाद्र २०७५, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनले आज साँझ नै पदबहाली गर्ने जनाइएको छ ।

कानून मन्त्रालयको शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गर्नुभएका मिश्रलाई आजदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको छ । रुपन्देही जिल्ला रायपुरमा वि.सं. २०१० पुस २८ गते पिता महेशदत्त र माता अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मनुभएका ओमप्रकाश मिश्रले वि.सं. २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, राजनीतिकशास्त्रमा स्नातकोत्तर र भारत नयाँदिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर मिश्रले कानून मन्त्रालयमा शाखा अधिकृतका रुपमा काम गर्दागदै २०४२ साल कात्तिक ११ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा जगेडा जिल्ला न्यायाधीशका रुपमा काम शुरु गरे ।

त्यसैगरी उनले जाजरकोट, प्युठान, कैलाली, मोरङ र काठमाडौँमा जिल्ला न्यायाधीशका रुपमा क्रियाशील भएर काम गरे । मिश्रले वि.सं. २०६२ चैत १० गतेदेखि पुनरावेदन अदालत विराटनगरको न्यायाधीशका रुपमा काम शुरु गरी विशेष अदालत हुँदै २०६९ पुस २६ गतेदेखि तत्कालीन पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीशका रुपमा काम गरे ।

वातावरण र भ्रष्टाचार मुद्दामा छवि
वि.सं. २०७१ जेठ १३ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा काम शुरु गरेका मिश्रले वातावरण, भ्रष्टाचारलगायत मुद्दामा राम्रो फैसला गर्ने न्यायाधीशको छवि बनाएका छन् । मिश्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायिक अनुभव पनि छ ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले जापान र दक्षिण कोरियामा पुगेर मेलमिलाप पद्धतिको थप विकास र परिमार्जनसम्बन्धी अध्ययन गरेका छन् । सूचना प्रविधिलाई थप प्रभावकारी बनाउन उहाँले चीनको अदालतको अभ्यासको अध्ययन गरेका छन् ।

त्यसैगरी न्यायपालिकाको योजना, अभ्यास र प्रक्रियाका सम्बन्धमा फ्रान्स, जर्मनी, बेलायत, बेल्जियम र अमेरिकामा उनले अध्ययन भ्रमण गर्नुभएको छ । उहाँले मुद्दा व्यवस्थापन र मेलमिलाप सम्बन्धमा जापान र न्याय प्रणाली एवं न्यायपालिकासम्बन्धी अध्ययनमा अष्ट्रेलिया, श्रीलङ्का र फिलिपिन्सको अध्ययन भ्रमण गरेका छन् ।

मिश्रले कामु प्रधानन्यायाधीशका रुपमा गत साउन २० गतेदेखि काम शुरु गरेका हुन् । प्रधानन्यायाधीशका रुपमा उनले पाँच महीना काम गर्ने छन् । आगामी पुस १८ गते सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण उनले अवकाश लिनेछन् । उनको अवकाशपछि वरिष्ठतम न्यायाधीशका हैसियतले न्यायाधीश चोलेन्द्रशम्शेर जबराको हातमा न्यायालयको जिम्मेवारी आउनेछ ।

प्रतिक्रिया दिनुहोस