स्वस्थ व्यक्तिले पनि केही न केही खानेकुरा बार्नै पर्छ : डा.पौडेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वस्थ व्यक्तिले पनि केही न केही खानेकुरा बार्नै पर्छ : डा.पौडेल


२२ भाद्र २०७५, शुक्रबार


पछिल्लो समय बिरामीले खानपानमा निकै चासो राख्न थालेका छन् । यसबारे उनीहरूले चिकित्सकहरूसँग परामर्श लिने गरेका छन् । तर डाक्टरहरुको उत्तर भने फरक फरक आउने गरेको छ । थुप्रै डाक्टरहरुले त तपाईले जे खाए पनि हुन्छ समेत भन्ने गरेको पाइएको छ । बिरामीहरुले यसरी चासो देखाउँदा पनि किन डाक्टरहरुले गलत बाटो देखाउछन् त ? यसबारेमा अर्थो न्युरो हेल्थ केयरका प्राकृतिक तथा क्रोनिक ब्याक पेन एक्सपर्ट डा. सुनिल पौडेलसँग प्रशासन डट कमले गरेको कुराकानीको सम्पादित अंश ।

चिकित्सकहरूले जे खाए पनि हुन्छ भन्ने गुनासो बिरामी माझ धेरै पाइन्छ, किन होला ?
यसका थुप्रै कारणहरु छन् ।
१. यसको मुख्य कारण भनेको डाक्टरहरुलाई यस बारेमा राम्ररी नपढाइनु नै हो । मेडिकल कोर्षहरुमा यसको बारेमा राम्ररी पढाउँदै नपढाए पछि कसरी जान्नु त बिचरा डाक्टरहरुले ?

हुन त आयुर्वेद चिकित्सा विज्ञान तथा प्राकृतिक चिकित्सामा यसको बारेमा गहन अध्ययन गर्नु पर्ने हुन्छ तर आधुनिक एलोपेथिक चिकित्सामा भने हल्का फुल्का मात्र । तर दुर्भाग्यवस नेपाल एलोपेथि डाक्टरहरुले भरिभराउ छ र बिचरा बिरामीहरु गलत ठाँउमा खानपिनको प्रश्न राख्न पुग्छन् ।

२. अर्को मुख्य कारण डाक्टरहरुले आफुँलाई नयाँ रिसर्चबाट अपडेट गर्न नसक्नु पनि हो । प्रायःजसो विशेषज्ञ चिकित्सकहरूमा खानपानबारे भ्रम रहेको पाइन्छ । उनीहरूले बिरामीहरूलाई ‘जे खाए पनि हुन्छ’ भन्ने सल्लाह दिने गरेको सुनिन्छ, जुन गलत हो । हरेक रोगमा खाना बार्नै पर्छ भन्ने कुरामा दुई मत छैन । बिरामीले आफ्नो र रोगको प्रकृति र इन्टेनसिटी अनुसार खानेकुरा बार्नुपर्छ र जीवनशैली परिवर्तन गर्नुपर्दछ । यस्को विकल्प छैन ।

३. कतिपय डाक्टरलाई खाना बार्यो भने बिरामीको रोग ठिक होला अनि आफ्नो कमाई बन्द होला भन्ने पनि डर देखिन्छ ।

तपाई फेरी स्वस्थ व्यक्तिले पनि खाना बार्नुपर्छ भन्नु हुन्छ त ?
एकदमै सत्य हो, स्वस्थ व्यक्तिले पनि केही न केही खानेकुरा बार्नै पर्छ । शरीर र कामको प्रकृति अनुसार राम्रा र नराम्रा खानेकुरा हुन्छन् । त्यसमाथी सिजन अनुसार पनि फरक–फरक खानेकुरा सेवन गर्नु उपयुक्त हुन्छ । आफ्नो शरीर र शरीरको प्रकृति, आफुले गर्ने कामको प्रकृति, आफ्ना पूर्वजहरुबाट आउनसक्ने रोगहरुको सम्भावना अनुसार सबैले खाना बार्नै पर्दछ । त्यति मात्र होइन, कुन खाना कहिले, कति मात्रामा कसरी, के संग खाने भन्ने पनि हेक्का राख्नु पर्दछ ।

यदि तपाईले आज खाना बार्नु भएको छैन भने भोली रोगको शिकार हुनै पर्दछ । डिजेल इन्जिनमा पेट्रोल हालेर कति दिन चलाउन मिल्छ र ?

त्यसैले स्वस्थ व्यक्तिले पनि खानेकुरा बार्नैपर्छ । खानपानमा ध्यान नदिने हो भने स्वस्थ व्यक्ति पनि बिरामी हुन सक्छ ।

पछिल्ला अनुसन्धानले हरेक रोगका लागि खानेकुरा छुट्याइदिएको छ । यसबारे चिकित्सकहरूले अपडेट हुन जरुरी छ । बिरामीले जे खाए पनि हुन्छ भन्नु डिजलबाट चल्ने इन्जिनमा पेट्रोल वा मट्टितेल जे हाले पनि हुन्छ भन्नु जस्तै हो ।

अनि बिरामीले नि ?
बिरामीले त खानेकुरा बार्नु एकदमै जरुरी छ । कुनै पनि रोगमा शरीर र मन नै स्वस्थ छैन भने रोग कसरी ठिक हुन्छ त ? कुनै पनि रोग किन नहोस्, खाना त बार्नै पर्दछ । हरेक रोगमा के, कसरी खाने भन्ने हुन्छ जस्मा ध्यान दिनु एकदमै जरुरी छ ।

मेडिकल रिसर्चहरुले पनि हरेक रोगमा खानपिन चिकित्साका विभिन्न आयामहरु प्रस्तुत गरेका छन् । यसलाई ध्यान दिनै पर्दछ । तपाईलाई आफ्नो रोग राम्ररी ठिक गर्न छ भने हरेक रोगमा के खाने कसरी खाने भन्ने हाम्रो पुर्विय तथा पाश्चात्य मेडिकल विज्ञानले पत्ता लगाएका तथ्यहरुलाई पालना गर्नै पर्दछ ।

डा. पौडेल अर्थोन्युरो हेल्थकेयरका संस्थापक निर्देशक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस