प्रदेशबाहिर सरुवा गरिएका स्वास्थ्यकर्मीलाई रमाना नदिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेशबाहिर सरुवा गरिएका स्वास्थ्यकर्मीलाई रमाना नदिने


२१ भाद्र २०७५, बिहिबार


काठमाडौं । प्रदेश ७ को स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मीको सरुवाबारे संघीय सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

निर्देशनालयले प्रदेशबाहिर सरुवा गरिएका स्वास्थ्यकर्मीलाई रमाना दिई पठाउन नसकिने भन्दै बुधबार स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको हो ।

‘यस प्रदेशअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाबाट विभिन्न तह र पदका धेरै स्वास्थ्यकर्मीहरूको प्रदेशबाहिर सरुवा गरिएको र प्रदेशभित्र नगन्य स्वास्थ्यकर्मीको सरुवा भएको देखिएकाले स्वास्थ्य सेवा सञ्चालनमा निकै बाधा पर्ने हुँदा सरुवा गरिएका हरेक पदमा ती पदहरू पूर्ति नहुँदासम्म हाल सरुवा गरिएका स्वास्थ्यकर्मीहरूलाई यो प्रदेशबाट रमाना गरी पठाउन नसकिने जानकारी गर्दछौं,’ निर्देशनालयले विभागलाई लेखेको पत्रमा उल्लेख छ ।

संघीय सरकार मातहत रहेको विभागले गत मंगलबार विभिन्न स्वास्थ्यकर्मीको सरुवा गरेको थियो ।

प्रदेशभित्रभन्दा बाहिर सरुवा हुने स्वास्थ्यकर्मी धेरै भएकाले स्वास्थ्य सेवा प्रवाहमा बाधा पुग्न सक्ने निर्देशनालयको दाबी छ । प्रदेशअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूमा चौथौदेखि एघारौं तहसम्म सयभन्दा बढी दरबन्दी रिक्त रहेकाले स्वास्थ्य सेवा प्रवाहमा बाधा परेको पत्रमा जनाइएको छ ।

निर्देशनालयले सरुवा भएका कर्मचारीहरूको रमाना माग भएका नदिन प्रदेशका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा जिल्ला जन/स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ । साथै दरबन्दी रिक्त भएको ठाउँमा सरुवा भई आउने कर्मचारीलाई कार्यालयमा सम्पर्क गर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।
हेर्नुस् पत्र

 

Tags :
प्रतिक्रिया दिनुहोस