दुई किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक सार्वजनिक


२० भाद्र २०७५, बुधबार


सुनसहित एकजना पक्राउ

चितवन । नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ७६ ग्राम सुन, चार किलो ६१७ ग्राम चाँदी र रु १२ लाख नगद सार्वजनिक गरेको हो ।

पक्राउ परेका नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलका सञ्चालक भारत महाराष्ट्र घर भएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई सार्वजनिक गरिएको हो ।

सो अवसरमा प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले प्रहरीको ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले सुराकीको आधारमा खोजतलास गर्दा उक्त परिमाणको सुन, चाँदी र नगद बरामद गरिएको बताए । पाटिलले अवैधरुपमा ल्याएको सुन बिक्री गरेको रु १२ लाख प्रहरीले बरामद गरेको जनाएको छ ।

सो अवसरमा दिइएको जानकारीअनुसार रसुवा जिल्लास्थित तिब्बतसँग जोडिएको नाका हुँदै अवैधरुपमा सुन भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका पाटिलले उक्त सुन एक भारतीय नागरिकबाट खरीद गरेको बयानमा बताएका छन् । नियन्त्रणमा लिइएको सुन, चाँदी बजार मूल्यअनुसार रु एक करोड बराबरको रहेको छ ।

बरामद गरिएको सुन, चाँदी, नगद र पक्राउ परेका व्यक्तिसमेतलाई प्रारम्भिक अनुसन्धानपश्चात् भन्सार ऐन २०७४ अनुसार विस्तृत अनुसन्धान र आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइने प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस