एसिया कप छनोट : नेपाल फाइनलमा पुग्ला ? यस्तो छ अंकगणित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसिया कप छनोट : नेपाल फाइनलमा पुग्ला ? यस्तो छ अंकगणित


१७ भाद्र २०७५, आइतबार


काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट प्रतियोगितामा नेपालले चार खेलमध्ये दुईमा मात्रै जित हासिल गरेको छ ।

नेपाल चार अंकसहित समूह चरणको चौथो स्थानमा छ । यस्तोमा नेपालको फाइनल पुग्ने सम्भावना झिनो मात्रै छ । नेपालले फाइनल पुग्न अन्य टिमको खेल नतिजामा निर्भर रहनुपर्नेछ ।

यस्तो छ अंकगणित

एसिया कप छनोटमा नेपालसहित युएई, ओमान, हङकङ, मलेसिया र सिंगापुरले प्रतिष्पर्धा गरिरहेका छन् । आइतबारसम्मको खेल नतिजा अनुसार नेपालसहित युएई, ओमान र हङकङ फाइनल यात्राको दौडमा छन् । अन्य दुई टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

समान ६ अंकका साथ युएई र ओमान अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । ओमानभन्दा एक खेल बढी खेलेको युएई रनरेटका आधारमा शीर्ष स्थानमा पुगेको हो । ओमान प्रतियोगिताका तीन खेलमा अपराजित छ । हङकङ चार अंकसहित तेस्रो स्थानमा छ । उसले तीन खेल खेलेको छ ।

ओमानले हङकङ र युएईसँग तथा नेपालले हङकङसँग प्रतिष्पर्धा गर्न बाँकी छ । यस्तोमा नेपालको फाइनल प्रवेशका लागि ओमानले दुवै खेल जित्नुपर्ने र नेपालले हङकङलाई फराकिलो अन्तरले हराउनुपर्नेछ । तर, ओमानले युएईलाई फराकिलो अन्तरले हराउनुपर्नेछ ।

ओमानले हङकङलाई जितेर युएईसँग फराकिलो अन्तरले पराजित भएको अवस्थामा नेपालले हङकङलाई फराकिलो अन्तरले हराए पनि नेपाल फाइनल पुग्न सक्छ ।
नेपालले आउँदो मंगलबार हङकङसँग प्रतिष्पर्धा गर्दैछ ।

नेपालको समूह चरणको यात्रा

समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलको नतिजा पनि आफ्नो पक्षमा पार्न सकेन । उक्त खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भयो ।

त्यसपछि भने नेपालले क्रमशः मलेसिया र सिंगापुरलाई हरायो । मलेसियालाई १९ रन र सिंगापुरलाई चार विकेटले हराएको हो ।

प्रतिक्रिया दिनुहोस