चिमखोलालाई चिनाउने थाली नृत्य « प्रशासन
prasaLogo
१५ भाद्र २०७५, शुक्रबार

चिमखोलालाई चिनाउने थाली नृत्य


प्रकाशित मिति : 31 August, 2018 3:05 pm

म्याग्दी ।

“यो देशको सबै कला संस्कृति सपारौं
यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौं
ए हो ओ….. ओझेलमा नपारौं”
कति राम्रो नेपालको थाली
झिलीमिली नचाउँछु यसपाली…..”

म्याग्देली कलाकार लाली बुढाथोकी र मीना गर्बुजाको स्वर रहेको दिलकुमारी रम्जालीको “खुशी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको सालैजो भाकाको यो गीतमा जस्तै म्याग्दीको मौलिक थाली नाचले विस्तारै लोकप्रियता कमाउँदै गएको छ । रघुगंगा गाउँपालिका ७ चिमखोलाबाट चार दशक अघि यो नृत्यको शुरुआत भएको हो । गीतको लय र शब्दसँगै हातमा थाल राखेर गरिने थाली नृत्य नेपालमा मात्र सीमित नभई सात समुद्रपारि प्रवाससम्म पुगेको छ ।

हातमा थाल राखेर हत्केलाले घुमाइघुमाई नचाएको र नाचेको दृश्य निकै रोचक हुन्छ । सावधानीपूर्वक गरिने थाली नृत्य मौलिक, आकर्षक र संयमित भएकाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नृत्यसम्बन्धी गीतको स्वरांकनसमेत गरिएकाले यसको लोकप्रियता अझै बढेको छ ।

देशका विभिन्न ठाउँमा हुने मेला, महोत्सव, सम्मेलनमा मात्र नभएर विदेशमासमेत थाली नाच देखाउने गरिएको कलाकार विजया थापाले बताए । थापाले भने, “चिमखोलाको पहिचान थाली नाचको संरक्षणमा लागेका छौं । चिमखोलावासी पुगेको ठाउँमा थाली नाच पुगेको छ ।” उनीहरुले अभिभावक र अग्रजबाट थाली नाचको कला सिकेका हुन् ।

वि.सं. २०२८ सालमा चिमखोलाकी हीरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेका थिए । वि.सं. २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थाली नाच राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । कलाकार थबिना तिलिजाले आफ्नी आमाबाट थाली नृत्य सिकेको बताए । हातमा थाल राखेर नचाउने भएकाले यसलाई थाली नृत्य नामकरण गरिएको हो ।

पुन र धनकुमारी थापासहितको ४ जनाको टोलीले वि.सं. २०४२ मा वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेको थियो । वि.सं. २०३५ मा शान्ति पुन र थापाले थाली नाचसम्बन्धी गीत पनि स्वरांकन गराएका थिए । उक्त गीतको वि.सं. २०७३ मा म्युजिक भिडियो छायांकन गरिएको छ ।

थाली नाच चिमखोलाको मौलिक पहिचान भएको अग्रज लोक कलाकार थापा बताउँछन्। विगत सम्झँदै थापाले भने, “२०४२ सालको नाच राम्रो मानेर २०४४ सालको सार्क सम्मेलनमा बोलाइएको थियो । थाली नाचका कलाकार उत्पादन भएको र गीतसमेत तयार भएकाले यसको प्रचारप्रसारमा सहयोग पुगेको छ । यसबाट हामी धेरै खुशी र उत्साही छौं ।”

पहिले चरेशको थाल नचाउने चलन थियो । पछिल्लो समय दुवै हातमा स्टिलका थाल राखेर नचाउने गरिन्छ । नृत्यको समयमा थाल भुईंमा खसेमा अशुभ हुने मान्यता छ । थाली नृत्यको संरक्षण र प्रवर्द्धनमा चिमखोलाका वृद्धा, महिला र युवतीहरु सक्रिय भई लागेका छन् । हिमालयन आमा समूहले युवतीहरुलाई थाली नाचको प्रशिक्षण कक्षा नै सञ्चालन गर्दै आएको छ । पृथक पहिचान बोकेको थाली नाच अहिले चिमखोलामा मात्रै नभएर जिल्ला, देशका विभिन्न शहर र विदेशमा समेत लोकप्रिय बन्दै गइरहेको छ ।

मगर समुदायको मौलिकता झल्कने थाली नृत्य जो कोहीलाई प्रस्तुत गर्न गा¥हो हुन्छ । पोख्त हुन धेरै प्रयास गर्नुपर्छ । गीतको सुर तालसँगै हातखुट्टा र शरीरको चाल मिलाउनुपर्ने कलाकार यनु पुनले बताए । “कतिले हातमा गम लगाएर थाल राखेको भनी शंका गर्छन् तर, त्यस्तो होइन,” कलाकार पुनले भने, “दर्शकलाई विश्वास दिलाउन नाचको बीचमा थाललाई केही समय भुईंमा राख्ने गरेका छौं ।”

शुरुमा कठिन भएपनि अभ्यास गरेपछि गीत र नृत्यमै ध्यान केन्द्रित गर्न सकिएपछि सजिलो हुने कलाकार सञ्जु गर्बुजाले बताए । बसाइँसराइसँगै चिमखोलावासी पुगेको ठाउँमा थाली नृत्यको संस्कृति मौलाएको छ । नयाँ पुस्ताले थाली नृत्य संरक्षणमा चासो दिएका छन् । पुरानो र नयाँ पुस्ताबीच संस्कृति हस्तान्तरणका लागि नृत्यको प्रशिक्षण दिने काम भइआएको छ । महिला कलाकारले गून्यु, चोलो र पटुकीको पहिरनमा सजिएर थाली नृत्य गर्ने चलन छ । म्याग्दीमा आयोजना हुने हरेक सभा समारोहमा थाली नृत्य देखाउने गरिन्छ ।

जापान, हङकङ, बेलायत, अमेरिकालगायतका देशमा रहेका म्याग्देलीहरुले पनि चाडबाडको समयमा थाली नृत्य हेरेर मनोरञ्जन लिन्छन् । प्रवासका म्याग्देलीले आयोजना गर्ने प्रायःजसो कार्यक्रममा थाली नाच देखाउने गरिएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) का उपाध्यक्ष ओमनारायण जुक्जालीले बताए । जिल्लाको मौलिक संस्कृति संरक्षणमा मोनाले प्राथमिकता दिँदैआएको उनको भनाइ छ ।

थाली नाचकी सर्जक हिरामायाँ

दुबै हातका पञ्जामा थाल राखेर छमछमी नाच देख्दा जो कोही अचम्ममा पर्छन् । अहिले नेपालमा मात्रै होइन विदेशमा समेत निकै लोकप्रिय बनिरहेको थाली नाचको उद्गम थलो म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला हो । वि.सं. २००८ सालमा चिमखोलामा जन्मिएकी हिरामायाँ पुन श्रीस थाली नाचका सर्जक हुन् ।

बाबु शक्त बहादुर र आमा नन्दिका पुनको ६ भाइ छोरा र २ बहिनी छोरीमध्ये कान्छी छोरीका रुपमा जन्मिएकी उनले खाना खाएको भाँडा माझेर धारोदेखि घरभित्र जाँदा हातमा थाल घुमाउने गर्दै गर्दा त्यसलाई नाचमा रुपान्तरण गरेका थिए । पहिले गाउँमा पुरुषहरुले देशी नाच देखाउँदा हातमा थाल राखेर घुमाउने गरेको देखेपछि त्यसको सिको गर्दै आफू नाचकै रुपमा स्थापित गर्न सफल भएको उनको भनाइ छ ।

हाल बागलुङमा बसोबास गर्दै आएकी थाली नाचकी सर्जक हीरामायाँले थाली नाचको बढ्दो लोकप्रियताले आफू खुशी भएको बताइन् । उनले भनिन्, “मैले त्यतिबेला थाली नाच देखाउँदा धेरै आरोपहरु खेप्न प¥यो । दुई हातमा चरेशका थाल नचाउँदा मलाई बोक्सी र टुनामुना गर्ने मान्छेसम्म भने कतिपयले । अहिले यो नाच देश विदेशमा महत्वका साथ देखाएको पाउँदा धेरै सन्तुष्टि मिल्छ ।”

प्रतिक्रिया दिनुहोस