गौरा पर्व सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गौरा पर्व सुरु


१५ भाद्र २०७५, शुक्रबार


डोटी । भदौ कृष्ण पञ्चमीमा मनाइने गौरा पर्व आज सुरु भएको छ । यो प्रदेश ७ का महिलाको प्रमुख चाडसमेत मानिन्छ ।

परापूर्वकालमा शिवको संजासँग विवाह गर्ने मनसाय बुझेपछि पार्वतीले संजालाई विभिन्न आभूषण दिई फकाएको र त्यसपछि शिव र संजाको विवाह नभएको किंवदन्ती छ । यस पर्वमा पार्वतीकी प्रतिक मानिने गौरा र शिवको पूजाअर्चना गरिन्छ । व्रत बस्ने महिलाको श्रीमान दिर्घायु हुने र सौता नआउने जनविश्वास छ । गौरा पर्वको पहिलो दिन व्रतालु महिलाले सार्वजनिक धारा तथा कुवामा गई पंच अन्न (बिरुडा) भिजाए । यस दिन गुराउस, गहत, मकै, केराउ र चना भिजाउने प्रचलन छ । बिरुडा भिजाउदा महिलाहरुले भगवान शिवका मंगल गान एंव फाग गाए ।

व्रत बस्दा सन्तान प्राप्ति, श्रीमानको दीर्घायु हुने गरेको व्रतालु महिलाहरू बताउँछन् । व्रत बस्ने महिलाले गौराको विवाह गरिसकेपछि महिलाले घाँटीमा दुवाधाको पहिरने गरेका छन् । दुवाधाको पहिरेमा सन्तान, अन्न, धन तथा सुख शान्ति पुरा हुने जनविश्वास छ ।

बिरुडा भिजाउदा गाईने फागमा दाईले बहिनीलाई गौराको ब्रत बस्न आग्रह गर्दा बहिनीले आफूसँग ब्रत बस्ने साम्रगी नभएको बताएपछि दाईले गौरामा आवश्यक पुजा साम्रगीको व्यवस्था गर्ने वचन दिएको उल्लेख छ । दाई र बहिनीबिचको संवाद फागमा गाइने गरेको उनले बताइन् । उनका अनुसार फागमा बहिनीले ‘पंचन बिरुडी भउले आथी लै न आथी कसै अरु लोलीको ब्रत ।’ भन्दा दाईले ‘पंच न विरुडी मुई खोजी दिउला ।’ भनेको गाथा बिरुडा भिजाउदा गाइने गरेको हो ।

ज्योतिषी देवीलाल उपाध्यायका अनुसार गौरा पर्व प्रदेश ७ सहित भारत, श्रीलंकाका केही भूभागमा समेत मनाइन्छ । धार्मिक ग्रन्थहरूमा भारत, श्रीलंकामा गौरा मनाईने तिथि समेत उल्लेख गरेको उनले बताए । धार्मिक ग्रन्थलाई उद्ददृत गर्दै उनले भने– ‘पंञ्यते उदितो लंका पंचयते हस्तीनापुर, पंच पंच पुन पंच गौरा व्रत तुकारयत ।’ उनका अनुसार गौरा पर्व श्रीलंकामा र भारतको हस्तीनापुरमा भदौ ५ गते मनाइन्छ भने नेपालमा भदौ १०–२५ गतेभित्र मनाइन्छ ।

अगस्त्य ऋषिको उदयपछि गौरा नमनाइने गरेको प्रचलन भएकाले भदौ २५ पछि गौरा नमनाइने उनले बताए । ‘सामान्यतया भदौ २५ गते अगस्त्य ऋषिको उदय हुन्छ । तर, भदौ २३ र २४ गते पनि हुन सक्छ,’ उनले भने, ‘अगस्त्य ऋषीको उदयपछि गौरा मनाइँदैन ।’ उक्त दिन भन्दा पछि गौरा पर्व नमनाईने गरेको उनले बताए । उनले यस वर्षमा परेको गौरालाई बाली वा संजा गौरा भन्ने गरेको र शुक्ल पक्षमा परेको गौरालाई वुढी वा पार्वती गौरा भन्ने गरेको बताए । उनले (होली) फागु पूर्णिमाका ग्रन्थमा गौराको गाथा लेखिएको बताए ।

गौरामा गाइने मंगल गान तथा फाग गाउँपिच्छे फरक छ । पंचमीमा भिजाएको बिरुडालाई षष्टीका दिन पखाल्ने प्रचलन छ । ‘चोखो लाई चोखै खाई बिरुडी पखालु, देउरानी जेठानी बैनाउ विरुडी पखालु । कुन देउ साची राखी बिरुडी पखालु, गौरा महेश्वर साची राखी बिरुडी पखालु ।’ लगायतका फाग गाएर महिलाहरुले बिरुडा पखाल्ने गरेका छन् । बिरुडा पखालेको दोस्रो दिन ब्रतालु महिलाहरु खेतमा गई साऊ, बलु, अवामार्ग, कुस लगायतका बनस्पतीबाट गौराको प्रतिमूर्ति बनाई गौरालाई भित्राउने गरेका छन् ।

गौरा भित्राएको दिन ब्रतालु महिलाहरु रातभर जाग्राम बस्ने गरेका छन् । गौरा भित्राएको भोलीपल्ट गौराको विवाह गर्ने प्रचलन छ । गौराको विवाह भएको तिन अथवा पाँच दिनमा गौरा विसर्जन गर्ने प्रचलन छ । गौरामा देउडा पनि खेलिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस