बिम्स्टेक शिखर सम्मेलन : पर्यटन प्रवर्द्धनको आधार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बिम्स्टेक शिखर सम्मेलन : पर्यटन प्रवर्द्धनको आधार


१४ भाद्र २०७५, बिहिबार


काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।

अन्तर्राष्ट्रिय सभासम्मेलनले नेपालको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान गर्ने जनाउँदै यस क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन् । दक्षिण एशियाका पाँच र दक्षिणपूर्वी एशियाका दुई देशको साझा संस्था बिम्स्टेक क्षेत्रीय सहयोग प्रवर्द्धन तथा साझेदारीलाई सफलतापूर्वक अघि बढाउने माध्यम बन्न सक्छ । हिमाच्छादित सेता हिमालदेखि नभ झैँ नीला समुद्रसहित विविध भूबनोट भएको यो क्षेत्र पर्यटन विकासको अथाह सम्भावनाले भरिपूर्ण छ ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता एवं मानव संसाधनले परिपूर्ण बिम्स्टेकका सदस्य देश पुरातात्विक एवं ऐतिहासिक सम्पदाले वैभवशाली छन् । पर्यापर्यटन र बौद्ध परिपथजस्ता धार्मिक पर्यटन प्रवर्द्धन गर्दै सदस्य राष्ट्रका राष्ट्रिय सम्पदा र सम्पत्तिको भरपूर उपयोग गर्ने माध्यम पर्यटन पनि भएकाले चौथो शिखर सम्मेलनमा प्रस्ताव हुने बिम्स्टेक विकास कोष सहयोगी हुन सक्छ ।

आफ्ना देशका नागरिकको चौतर्फी समृद्धिमा केन्द्रित बिम्स्टेकका सदस्य राष्ट्रले मानव जीवनमा प्रत्यक्ष सरोकार भएका व्यापार, लगानी, पर्यटन, ऊर्जा, यातायात तथा सञ्चारका क्षेत्रमा साझेदारी र सहकार्य गर्दै आएका छन् ।

सदस्य मुलुकको साझा समृद्धि र विकास, क्षेत्रीय सम्बन्ध र मैत्रीको भावना प्रवर्द्धन, वाणिज्य र व्यापारका खातिर स्थल, जल र हवाईमार्गबाट एकापसमा सम्पर्क विस्तार, जनस्तरमा पनि सम्बन्ध र सम्पर्क बढाउँदा एकार्का देशका नागरिकबीच समझदारी बढ्ने मात्र नभई पारस्परिक साझेदारी एवं सहयोगमा टेवा पुग्नेछ ।

यस्तै सम्मेलनको अन्त्यमा जारी गर्न लागिएको काठमाडौं घोषणापत्रमा समेत बौद्ध परिपथ र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखिएको छ । त्यस्तै सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्ग तथा अप्टिकल फाइबरबाट जोड्ने र बिम्स्टेक क्षेत्रमा व्यापार विस्तारलाई बढावा दिने उपाय अवलम्बन गर्ने विषय समावेश गरिएको छ । त्यस्तै बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन र पर्वतीय अर्थतन्त्रसमेत विशेष महत्वमा छन् ।

सम्मेलनमा सहभागी हुन आएका राष्ट्रप्रमुख एवं सरकार प्रमुखले नेपालका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनका लागि सरकारले तयार गरेको केही भनाइमध्ये ‘बुद्धजन्मभूमि नेपालमा हार्दिक स्वागत छ’ भन्ने छ । यस्तै ‘सगरमाथाको देश नेपालमा स्वागत छ’ भन्ने भनाइ पनि सम्मेलनका लागि तय भएको छ । सरकारले सम्मेलनको नारामा नै पर्यटन प्रवर्द्धन गर्ने ध्येय राखेको छ ।

म्यान्माका राष्ट्रपति विन मिन्तले बुधबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरे। राष्ट्रपति मिन्तले मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’(सिद्धार्थ गौतमको पदचाप शिला) बारेमा जानकारी लिएका थिए । म्यान्मामा ८८ प्रतिशत बढी मानिस बुद्धधर्मावलम्बी छन् । सन् २०१८ को हालसम्म म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीले लुम्बिनीको भ्रमण गरेका छन् ।

सन् १९६७ मा संयुक्त राष्ट्र सङ्घका महासचिव म्यान्माका ऊ थान्तले लुम्बिनी भ्रमण गरी यसलाई सहयोगको वचन दिएका थिए । लुम्बिनीमा म्यान्माको कलात्मक बौद्ध विहारसमेत छ । यस्तै श्रीलङ्कका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले पनि बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।

सन् २०१८ जुलाइसम्म नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष सोही महीनाको तुलनामा पर्यटक आगमन ७३।५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सो महीनामा ४२ हजार २४० जनाले नेपाल भ्रमण गरेका थिए । बिम्स्टेक सदस्य राष्ट्र भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा गत वर्षको सोही महीनाको तुलनामा ८०.४ प्रतिशतले वृद्धि भएको छ ।

भारतबाट १८ हजार ३८५, थाइल्याण्डबाट ८७२ र श्रीलङ्काका एक हजार ४५७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा ६६.१ प्रतिशतले वृद्धि भएको छ । विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेका कारण पर्यटन आवागमनमा वृद्धि भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । सो कार्यक्रमलाई सफल पार्न बिम्स्टेकजस्ता अन्तर्राष्ट्रिय सम्मेलन सहयोगी हुनेछन् ।

बोर्डका अनुसार बिम्स्टेक सदस्य राष्ट्र बङ्गलादेशबाट सन् २०१७ मा २९ हजार ६०, म्यान्माबाट ३० हजार ८५२, श्रीलङ्काबाट ४५ हजार ३६१, थाइल्याण्डबाट ३९ हजार १५४ र भुटानबाट १० हजार ९२३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सम्मेलनका लागि निर्माण गरिएका स्वागतद्वार तथा सम्मेलनस्थलमा राखिएको नेपालको पर्यटकीय गन्तव्यका तस्वीरले समेत थप चासो बढाउने विश्वास लिइएको छ ।

पछिल्ला दिनमा भुटानमा पर्यटन प्रवर्द्धन आक्रामक रुपले अगाडि बढेको छ । थाइल्याण्ड विश्व पर्यटनको प्रमुख केन्द्र बन्दै आएको छ । यस्तै छिमेकी भारतले समेत पछिल्लो दशकमा पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधार नै बनाएको छ । श्रीलङ्का पनि पर्यटन क्षेत्र विकासको प्रमुख आधार बन्दै गएका सन्दर्भमा त्यसबाट नेपालले फाइदा लिन सक्ने देखिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले ‘माइस टुरिज्म’(मिटिङ, इन्सेन्टिभ्स, कन्फेरेन्स एण्ड एक्जिबिसन) को विस्तारमा प्रमुख योगदान दिने बताए ।

विश्वका नेताहरु एकै ठाउँमा भेला हुँदा त्यसको प्रचारप्रसार अन्तर्राष्ट्रिय क्षेत्रमा हुने भएकाले निःशुल्क पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ । टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले नेपाल आयोजक रहेको बिम्स्टेक सम्मेलन नै आफैँमा महत्वपूर्ण रहेकाले पर्यटन प्रवर्द्धन गर्न सहयोगी हुने बताए । उएले भने, “यस्ता सम्मेलनले सरकारलाई पनि पूर्वाधार विकास र सम्पदाको संरक्षण गर्न सकारात्मक दवाव दिन्छ । विशिष्ट व्यक्ति नेपाल आउनु आफैँमा पनि नेपालको प्रवर्द्धन हो ।”

शिखर सम्मेलन अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्ने महत्वपूर्ण अवसर भएको हो भन्दै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले लामो समयपछि यस्तो सम्मेलन हुनु आफैँमा पनि पर्यटन प्रवर्द्धनको माध्यम भएको बताए । नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले हिमाल र वातावरण संरक्षणको विषयसमेत सम्मेलनका क्रममा उठेकाले महत्वपूर्ण छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस