के हो रक्षाबन्धन ? « प्रशासन
prasaLogo
१० भाद्र २०७५, आईतवार

के हो रक्षाबन्धन ?


प्रकाशित मिति : 26 August, 2018 11:33 am

काठमाडौं । रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । यसमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ । रक्षाको अर्थ हुन्छ भाइले बहिनीको रक्षा गर्ने बाचा, बन्धनको अर्थ भाइ बहिनीको सम्बन्धमा माया, स्नेह ,सामिप्य र प्रेम बढाउनु ।यसले पारिवारिक मेलमिलापलाई बढावा दिने जनविश्वास पनि छ । पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे ।

यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिन्छन् । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा ईन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन पनि छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ । आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहेको छ ।

आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ ।

शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति) को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस