काठमाडौं । कांग्रेस महासमिति बैठक मंसिरमा हुने गरी सरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १६ को केन्द्रीय कार्यसमितिको बैठकले भने भदौ भित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।
सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित विधान मस्यौदा समितिले दुई साताभित्र विधानको मस्यौदा सम्पन्न गर्न नसक्ने र त्यसपछि चाडपर्व सुरु हुने भएकाले मंसिरमा महासमिति बैठक गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।