खोला पार गर्दैगर्दा बाढी आएपछि… « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खोला पार गर्दैगर्दा बाढी आएपछि…


८ भाद्र २०७५, शुक्रबार


बाँके । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो । 

सबै यात्रु छिटो–छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । तत्कालै डोजरको सहायताले खोलामा फसेको गाडी निकालिएको थियो ।

उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु–जाजरकोट सडक खण्डको उक्त खोलामा दैनिक आवतजावतमा समस्या हुने गरेको यातायात व्यवसायी नन्द पुनले दुखेसो गरे।

सो सडक खण्डमा आवतजावत गर्ने सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका नागरिकलाई प्रत्यक्ष असर गरेको अर्का स्थानीय मानसिंह धामीले बताए। खोला पार गर्दैगर्दा गाडीको इन्जिनमा पानी पसेर इन्जिन नै बन्द हुने गरेको छ । खोला बढेपछि यातायातका साधन गन्तव्यमा नपुग्दा सयौँ यात्रु बाटोमै अलपत्र पर्ने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस