एशियाली खेलकूद : दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एशियाली खेलकूद : दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर


७ भाद्र २०७५, बिहिबार


काठमाडौं । इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।

भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य प्रतिष्प्रधामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ ।

महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत भङ्ग गरेकी हुन् ।

अधिकारीले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।

पदकको आशा गरिएको तेक्वान्दोमा पनि नेपालको प्रदर्शन जम्न सकेन । तेक्वान्दोमा महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले आज नेपालको चुनौती प्रस्तुत गर्नेछन् । अन्य खेलाडी भने यसअघि नै बाहिरीए ।

बुधबार पाँचौँ दिनको खेल सकिँदासम्म नेपालको फुटबल, कुस्ती, उसु, लनटेनिस र सुटिङमा चुनौती समाप्त भएको छ । नेपालले २९ खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतियोगितामा भारतबाहेक दक्षिण एशियाली मुलुक सबैको अवस्था उस्तै छ । अहिलेसम्म नेपालसहित पाकिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्काले पदक तालिमा खाता खोल्न सकेका छैनन् । अफगानिस्तानले भने उसुको ६५ केजी तौल समूहमा बुधबार एउटा कास्य पदक जितको छ ।

भारतले प्रतियोगितामा चार स्वर्ण, तीन रजत र आठ कास्य गरी १५ पदक जित्न सफल भइसकेको छ । प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये पाँचौँ दिनको खेल सकिँदासम्म २४ देशले पदक जित्न सफल भएका छन् । अहिलेसम्म चीनले सर्वाधिक ४४ स्वर्ण, ३३ रजत र १५ कास्य गरी ९२ पदक जितेको छ । त्यसैगरी चीनलाई पच्छ्याउँदै जापानले २० स्वर्ण, २३ रजत र २६ कास्यसहित ६९ पदक जित्न सफल भएको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस