गृहमन्त्री थापा र जापानी राजदुतबीच शिष्टाचार भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री थापा र जापानी राजदुतबीच शिष्टाचार भेट


६ भाद्र २०७५, बुधबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भइसकेको चर्चा गर्दै सुरक्षा निकाय लगायत अन्य क्षेत्रमा जापानले गर्दै आएको सहयोगप्रति राजदूत साईगो मार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गरे ।

गृहमन्त्री थापाले नेपालको पूर्वाधार, उर्जा, पर्यटन, कृषी लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागि समेत राजदुतसँग आग्रह गरे ।

उनले नेपालमा लगानी गर्ने अहिले उपयुक्त अवसर रहेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाइने प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँ ठुलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरे ।

राजदुत साइगोले आफु गत जुन महिनामा मात्रै नेपालको राजदुतको रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी दिँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुत बनाउने बताए ।

उनले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।

राजदुत साइगोले आफुलाई कृषी क्षेत्रको समेत अनुभव रहेको भन्दै सो अनुभवको आधारमा नेपालको कृषी क्षेत्रको विकसका लागि समेत पहल गर्ने बताए ।

नेपालमा बिभिन्न कामका लागि बसिरहेको तथा नेपाल भ्रमणमा आउने जापानीहरुको सुरक्षामा ध्यान दिन समेत उनले गृहमन्त्री थापासँग आग्रह गरे ।

जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने राजदुतले बताए । गृहमन्त्री थापाले राजदुत साईगोलाई कार्यकाल सफलताको लागि शुभकामना समेत दिए ।

प्रतिक्रिया दिनुहोस