एशियाली खेलकूद : तेक्वान्दोमा तेस्रो दिन पनि पदकविहीन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एशियाली खेलकूद : तेक्वान्दोमा तेस्रो दिन पनि पदकविहीन


५ भाद्र २०७५, मंगलबार


काठमाडौ । एशियाली खेलकूदमा नेपाल तेक्वान्दोको तेस्रो दिन पनि पदकविहीन बनेको छ ।

नेपालबाट तेस्रो दिन एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

महिला ५७ केजी मुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०–० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् ।

महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे ।

तेक्वान्दोमा नै सोमबार गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका थिए । सागर भियतनामका खेलाडीसँग २५–५ अंकले पराजित भए । त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

अब बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । भूपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् ।

एशियाली खेलकूदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपालले हालसम्म एक रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस