बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ : शिक्षामन्त्री पोखरेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ : शिक्षामन्त्री पोखरेल


४ भाद्र २०७५, सोमबार


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

 रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताए । “उच्च शिक्षा लिएर पनि कतिपय विद्यार्थी बेरोजगार भएका छन्”, उनले भने, “अब बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ, त्यसतर्फ ध्यान दिनु जरुरी छ ।” उनले परम्परागतरुपमा विश्वविद्यालय चलेकाले अब नयाँ ढङ्गले शिक्षा दिनुपर्ने धारणा राखे ।

शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउनुपर्नेमा जोड दिए । शिक्षा व्यापार नभई सेवा भएकाले त्यहीअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । दुई वर्षभित्र साक्षर नेपाल बनाइने मन्त्री पोखरेलले घोषणा गरे । उनले विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढङ्गले लागेर दुई वर्षभित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन आग्रह गरे।

यस वर्ष सञ्चालन गरेको विद्यालय भर्ना अभियान नमूना भएको र भदौभित्र विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस