बैतडीको पाटन नमूना शहरको निर्माण कार्य सुस्त गतिमा « प्रशासन
prasaLogo
२९ श्रावण २०७५, मंगलवार

बैतडीको पाटन नमूना शहरको निर्माण कार्य सुस्त गतिमा


प्रकाशित मिति : 14 August, 2018 2:49 pm

बैतडी । नमूना शहरका रुपमा विकसित गर्न सरकारले घोषणा गरेको बैतडीको पाटन नमूना शहर बनाउने कार्यले गति लिन सकेको छैन् । सरकारले सात वर्ष अगाडि नमूना शहरका रुपमा विकसित गर्ने घोषणा गर्दा निकै खुशी भएका पाटनवासी निरास भएका छन् ।

सरकारले आर्थिक वर्ष २०६७/६८ सालमा मध्यपहाडी लोकमार्गअन्तर्गत १० शहरलाई नमूनाका रूपमा विकसित गर्ने निर्णय गरेको हो । तिनै १० नमूना शहरमध्ये १० औँ शहरको रूपमा बैतडीको पाटनलाई विकसित गर्ने निर्णय भएको थियो ।

एक लाख बढी मानिसको बसोबास गराउने र आधुनिक शहरको सुविधासहित व्यवस्थित शहर बनाउने निर्णय हुँदा पाटनवासी निकै खुशी भएका थिए । नमूना शहर बनाउने घोषणा भएको सात वर्ष बितिसक्दासमेत यो शहरमा विकास निर्माणका कामले खासै गति लिन नसकेकामा निरासा छाउँदै गएको स्थानीय दिनेश बिष्टको भनाइ रहेको छ ।

नमूना शहरको रुपमा विकसित गर्नकै लागि हालसम्म रु ११ करोड खर्च भइसकेको छ । सरकारले शुरुका दुई वर्षमा न्यून बजेट विनियोजन गर्दा अझै पनि आयोजनाको कामले सोचेअनुसार अघि बढ्न नसकेको हो ।

नमूना शहरका रूपमा विकसित गर्ने सरकारी घोषणा भए पनि नयाँ शहरको काम सोचेअनुसार अघि नै नबढेको पाटनका कपिल केसीले बताए । ‘पाटन शहर नमूना बन्छ भन्दा धेरै खुशी लागेको थियो, सुविधासम्पन्न अस्पताल, खानेपानी, विद्युत्लगायत आधारभूत विकासका कुरा अघि बढ्ने आशा गरेका थियौँ,’ उनले भने,‘तर, हालसम्म पनि निर्माण कार्यले गति लिन नसक्दा निरास बनाएको छ ।’

नयाँ शहर बनाउने घोषणा भएको दुई वर्षसम्म निकै थोरै बजेट आएको नयाँ शहर आयोजनाले जनाएको छ । बजेट आएपछि पनि धेरै काम हुन सकेको सकेको छैन आयोजनाका प्रमुख प्रवीण शाहले भने, ‘गत आवमा जस्तो यस वर्ष भने प्रगति हुन सकेन ।’

गत वर्ष गर्नुपर्ने ११ काममध्ये आठ काम सम्पन्न भएका थिए । साथै ९० प्रतिशत भौतिक प्रगति भएको छ आयोजनाका प्रमुख प्रवीण शाहले भने, ‘खर्च प्रगति ९७ प्रतिशत भएकोे छ ।’ पाँच करोड ६२ लाख रकम विनियोजन भएकामा पाँच करोड ४० लाख खर्च भएको उनले बताए ।

पाटनमा जग्गा खण्डीकरणमा समेत समस्या आएको छ । पाटन नयाँ शहर आयोजनाअन्तर्गत डोबरा, भट्टाडलगायत ठाउँमा जग्गा एकीकरण गरी बस्ती विकासको कामलाई अघि बढाउने योजना छ । सरकारले जग्गा एकीकरण, सडक निर्माणलगायत काम गर्ने भएकाले मासिएको जमीनको क्षतिपूर्ति दिने प्रावधान छैन । तर स्थानीयले भने घुमाउरो भाषामा क्षतिपूर्तिको माग गरिरहेका छन् ।

नहर तलतिरको जमीन निकै खेतीयोग्य रहेको र धेरैले यसै जमीनमा उब्जेका अन्नबाट परिवार धानिरहेकाले जग्गा एकीकरण गर्दा जमीन मासिने चिन्ता स्थानीय बासिन्दाको रहेको छ । सरकारले अन्य पूर्वाधारको काम पहिला सकेपछि जग्गा एकीकरण र विकासमा लाग्नुपर्ने स्थानीय छविराज जोशीको भनाइ रहेको छ ।

जग्गा खण्डीकरणको काम अघि नबढ्दा नयाँ शहरको काम अघि बढ्न सकेको छैन । जनप्रतिनिधिले समेत अपेक्षाकृत रूपमा काम गर्न नसकेको स्थानीयको गुनासो छ । ऐतिहासिक शहरका रूपमा रहेको पाटनलाई नमूना शहर बनाउने भने पनि नमूना शहर निर्माणका अधिकांश काम अलपत्र छन् ।

नमूना शहर बनाउन नगरपालिकाका तर्फबाट हुनसक्ने सहयोग तथा समन्वय गर्न पाटन नगरपालिका तयार रहेको नगर प्रमुख केशवबहादुर चन्दको भनाइ रहेको छ । पाटन प्राकृतिक हिसाबले रमणीय र सौन्दर्य ठाउँ हो । यसको चारैतिर डाँडाकाँडा र बीचमा मैदानी फाँट रहेको खेत छ । ऐतिहासिक रूपमा पनि पाटनलाई देवता र असुरबीचको लडाइँ भएको ठाउँको रूपमा चिनिन्छ ।

देवता र असुरबीचको लडाइँ भएकाले बीचमा बग्ने नदीको नाम सूर्नया रहेको हो । यो ऐतिहासिक शहरलाई आधुनिक बनाउने काममा सबैले सहयोग गर्नुपर्ने स्थानीय बासिन्दा तथा जिल्ला समन्वय समिति संयोजक सिद्धराज भट्टको भनाइ रहेको छ । उनले भने, ‘पाटन नयाँ शहरको काम अघि बढाउन हामी सबै मिलेर अघि बढ्नुपर्छ ।’

पाटन नयाँ शहरअन्तर्गतका चक्रपथ, डम्पिङ साइड, कर्भड हल निर्माण, बसपार्क निर्माण, ढल निकासका काम अझै सम्पन्न हुन सकेका छैनन् । ‘पाटन बजार क्षेत्रमा फोहरको पनि उस्तै समस्या छ ।’ ‘ढल निकासको व्यवस्था नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्ने गरेको छ,’ स्थानीय धनी कोलीको भनाइ रहेको छ । ‘बजेट छुट्याउनेतर्फ प्रदेश र सङ्घीय जनप्रतिनिधिको ध्यान जानुपर्छ ।’

नमूना शहर निर्माणका लागि भौतिक पूर्वाधार विकास उपसमिति, सामाजिक विकास समिति, आर्थिक समिति, पर्यटन तथा सांस्कृतिक विकास समिति, वातावरण तथा जलवायु अनुकूलन समिति, प्रकोप व्यवस्थापन समिति, वित्तीय विकास समिति र संस्थागत विकास समिति गरी विभिन्न आठ वटा उपसमिति समेत गठन भएका थिए ।

पाटनलाई आगामी वि.सं. २०८८ भित्र नयाँ शहरका रुपमा विकास गरिसक्ने लक्ष्य राखिएको छ । नयाँ शहरका रुपमा विकास गर्न छ अर्ब खर्च हुने अनुमान गरिएको छ । सरकारले पूर्वको फिदिङ र पश्चिमको पाटनसम्म मध्यपहाडी लोकमार्गमा पर्ने १० वटा नमूना शहर बनाउने घोषणा हो ।

पर्यटन तथा व्यापार व्यवसाय फस्टाउने

नेपाल सरकारले घोषणा गरेको १० नमूना शहरमध्येको पाटन शहर निर्माण सम्पन्न भएपछि व्यापार व्यवसाय फस्टाउनुका साथै नयाँ पर्यटकीय गन्तव्य स्थल बन्नसक्ने देखिएको छ । विभिन्न सांस्कृतिकरुपले भरिपूर्ण पाटनको विकास गर्नसके भारतसँग सीमा जोडिएकाले दुईदेशीय व्यापार फस्टाउने छ स्थानीय व्यापारी दिनेश विष्टको भनाइ रहेको छ उनले भने, ‘व्यापार व्यवसाय पनि फस्टाउने र विदेशी पर्यटकसमेत भित्र्याउन सकिन्छ ।’

यस्तै पाटन नगरपालिकामा रहेको पताल भूमेश्वर एशियाकै लामो गुफा भएकाले यसको प्रचारप्रसारका लागि विभिन्न कार्य सञ्चालन गर्ने नयाँ शहर आयोजना कार्यालय पाटन बैतडीले जनाएको छ । पाटन प्याराग्लाइडिङको लागि पनि निकै सम्भावना रहेको ठाउँ भएकाले पाटनमा थुप्रै पर्यटक भित्रिने सम्भावना छ । यहाँ नेपालकै गहिरो गुफा पत्ताल भूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्लाशैनी मन्दिर, ईश्वरी गङ्गाधाम, मेलौली भगवती मन्दिर, दोगडाधाम, रौलाकेदार मन्दिर, सिगासधामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।

विभिन्न पर्यटकीय सम्भावना बोकेको पाटन शहरको विकास भइसकेपश्चात् यो क्षेत्रका युवालाई प्रशस्त रोजगारीका सम्भावना पा्रप्त हुनेछ । अहिले बैतडीबाट हजारौँ मानिसले तराईतिर बसाइँसराइ गरिरहेको र हजारौँ युवा विदेश गइरहेका बेला पाटननै नयाँ शहर बनिसकेपछि यस अवस्थाको अन्त्य हुने स्थानीयवासी वसन्त विष्टको विश्वास छ ।

भौगोलिक दृष्टिले अति नै मनमोहक रहेको पाटन शहरका विभिन्न सम्भावित योजना निर्माण गरी विकास निर्माणका कार्यलाई तीव्रताका साथ अघि बढाउनु आवश्यक रहेको छ । बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित रहेको र पाटन विमानस्थल पनि पुनःसञ्चालनमा आएपछि यस क्षेत्रको विकासका लागि थप टेवा पुग्ने विश्वास गरिएको छ । पाटन विमानस्थल पुनःसञ्चालनका लागि भन्दै हाल स्तरोन्नतिको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस