प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव


२७ श्रावण २०७५, आइतबार


बैतडी । सहिद दशरथचन्दको नामबाट प्रदेश नं. ७ को नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव संकलन गरिरहेका बेला बैतडीवासीले यस्तो सुझाव दिएका हुन् ।

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको २४ औं वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेश ७ को नाम दशरथचन्द राख्न उपयुक्त हुने सुझाव दिए ।

साधारणसभाले प्रदेश ७ को नाम दशरथचन्द राख्न सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको प्रतिष्ठान अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

सहिद दशरथचन्दको सपना लोकतान्त्रिक गणतन्त्र भएकाले सम्मानका लागि पनि प्रदेशको नाम दशरथचन्द प्रदेश राख्नुपर्ने उनले बताए ।

सहिद दशरथचन्द देशकै सहिद भएकाले उनको नामबाट प्रदेशको नामाकरण गर्नु जायज हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।

प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि गठन भएको संसदीय समितिले सुझाव संकलन गरिरहेको छ । समितिको म्याद साउन २१ गतेसम्म भए पनि अहिले एक हप्ता थपिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस