दुई हजार ६ सय परिवारद्वारा स्वास्थ्य बिमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दुई हजार ६ सय परिवारद्वारा स्वास्थ्य बिमा


२५ श्रावण २०७५, शुक्रबार


म्याग्दी । डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६ सय परिवारले स्वास्थ्य बिमा गराएका छन् ।

विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको हो । यस क्रममा ११ हजार ७३० जनाले स्वास्थ्य बिमा गराएको समितिको बेनीस्थित कार्यालयले जनाएको छ ।

अघिल्लो आवमा बिमा गरेका छ हजार २९६ जनाले नविकरण गरेका छन् । आव २०७४÷७५ मा पाँच हजार ४३४ जनाले स्वास्थ्य बिमा गराएका थिए । बिमा गरेकाहरुले नौ हजार ३२३ पटक सो सेवा लिएका छन् । बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ ।

पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आवद्ध हुन सक्नेछन् । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी सदस्य भएमा एक लाखसम्मको सेवा पाउने प्रावधान छ ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउन सकिन्छ । जिल्लामा ४३ दर्ता सहयोगी परिचालित छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस