डोटी । वर्षाका कारण एक महिनादेखि अवरुद्ध डोटीको केआइसिंह गाउँपालिकाको ६ र ७ नम्बर वडा जोड्ने १२ किलोमिटर सडक नेपाली सेनाले खोलेको छ ।
सडक खुलाउन सुदूरपश्चिम पृतना तथा गुरुबक्स गुल्मका सैनिक खटिएका थिए । उनीहरूले गाउँपालिकाको जेसिबी प्रयोग गरेका थिए ।
सुदूरपश्चिम पृतनाका पृतनापति तथा उपरथी झंकरबहादुर कडायतले सर्वसाधारणलाई मर्का परेको खबर पाएपछि सडक खुलाउन सेना परिचालन गरिएको बताए । उनका अनुसार करिब एक सय १० सैनिक खटिएका थिए । ‘सेना र नागरिकको सम्बन्ध सुमधुर होस् भन्ने हाम्रो चाहना हो,’ पृतनापति कडायतले भने ।
वर्षाका कारण सडकका विभिन्न ठाउँमा चिरा परेपछि सडक अवरुद्ध बनेको थियो, जसका कारण स्थानीयलाई आवतजावतमा समेत समस्या भएको थियो ।
सडक खुलेपछि सेनाप्रति सर्वसाधारणको दृष्ट्रिकोण सकारात्मक बनेको स्थानीय जगतबादुर बलायरले बताए ।