केन्द्र सार्ने वा कायम राख्ने विवादले विकासमा अवरोध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

केन्द्र सार्ने वा कायम राख्ने विवादले विकासमा अवरोध


२२ श्रावण २०७५, मंगलबार


लहान । सिरहाको कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजार सार्ने कि बगाहामै राख्ने विषयमा विवाद बढ्दै गएपछि नगरपालिकाको कामकाज लामो समयदेखि प्रभावित हुँदै आएको छ । नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा सार्ने नगरप्रमुख र केन्द्र बन्दीपुर बगहामा राख्नुपर्ने विभिन्न वडाअध्यक्षको अडानका कारण विवादमा फसेको कर्जन्हा नगरपालिकाले अपेक्षित रुपमा कुनै काम गर्न सकेको छैन ।

जनप्रतिनिधिको विवादकै बीचमा स्थानीयवासीसमेत नगरपालिकाको केन्द्रका विषयमा दुई पक्षमा विभाजित भएपछि नगरपालिकाको विवाद थप पेचिलो बनेको स्थानीयवासीको भनाइ छ ।

नगरप्रमुख गंगा पासवानले नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा सार्ने र वडा नं. १ देखि ६ सम्मका वडाध्यक्षहरुले हाल वडा नं ११ मा सञ्चालित रहेको बन्दीपुर बगहामै केन्द्र कायम राख्नुपर्ने विवादकाबीच गत असार २६ गते नगरपालिकाको कार्यालयमा आगजनी भएको थियो ।

आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचरलगायतका समानमा क्षति पुगेको थियो । सो आगजनीको आरोप एक अर्कालाई जनप्रतिनिधिले लगाउँदै आएका छन् । नगरपालिकाको केन्द्रको विवाद नगरपालिकामा मात्र सीमित नभएर अदालतसम्म पुगेको स्थानीयवासी बताउँछन् ।

आर्थिक वर्ष २०७४/७५ सम्मका लागि भाडाको भवनमा कार्यालय सार्ने निर्णय पहिलो कार्यपालिका बैठकबाट गराएका थिए । त्यसपछि स्थानीयवासी बागबहादुर मगर र ओमप्रकाश महतोले उच्च अदालत राजविराजमा साविककै ठाउँमा केन्द्र हुनुपर्ने भन्दै मुद्दा दर्ता गरेका थिए ।

अदालतले राजपत्रमा तोकिएकै स्थानमा कार्यालय सञ्चालन गर्न परमादेश जारी गरे पनि पालना नभएपछि उनीहरूले अवहेलना मुद्दा हालेका थिए । भाडाको भवनबाट केही सामग्री सारेर साविकै ठाउँ बगहामा नगरपालिका कार्यालय सञ्चालन भइरहेको छ ।

दोस्रो नगरसभा बैठकमा नगरप्रमुख पासवानले फेरि केन्द्र कर्जन्हास्थित भाडाकै भवनमा सञ्चालन गर्न प्रस्ताव ल्याएपछि विवाद बल्झिएको स्थानीयवासी राजलाल कामत बताउनुहुन्छ । नगरपालिकाको केन्द्रको विषयमा विवाद बढे्कै कारण गत असारमा नगरसभा गर्न ढिलाइ भएको थियो ।

नगरसभा ढिलाइ भए पनि स्थानीय विकास मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा भएको छलफलमा तत्काललाई नगरपालिकाको केन्द्र सार्ने विषयलाई थाती राखेर नगरसभा गर्ने सहमति भएको थियो ।

नगरपालिकाको केन्द्र कर्जन्हामा सार्ने वा बगहा राख्ने विषयमा जनप्रतिनिधिबीच विवाद भइरहेकै बेला केन्द्र कर्जन्हामा सार्नुपर्ने माग गर्दै नागरिक समाजले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

नागरिक समाजका संयोजक कुशेश्वर महतोको नेतृत्वमा पुगेका टोलीले बुझाएको ज्ञापनत्रपमा नगरपालिकाले जनहितका लागि कृषि, शिक्षा तथा रोजगारी लक्षित जनपक्षीय कार्यक्रम जारी गर्नुपर्ने, कर्मचारीको मनोमानी तथा ढिलासुस्ती बन्द गर्नुपर्ने र नगरपालिकाको कार्यालयमा भएको आगजानीको अनुसन्धान गरेर दोषीलाई कारवाही गर्नुपर्ने माग गरिएको छ ।

अनियमित खर्च अविलम्ब बन्द गरी नगरपालिकाको आयव्ययको सम्पूर्ण विवरण सार्वजनिक गर्न पनि माग गरिएको छ । विगत लामो समयदेखि सुरक्षाको बहाना बनाउँदै अधिकृत कार्यालयमा नआउँदा कामकाज प्रभावित बनेको संयोजक महतोको कथन छ । कर्जन्हा नगरपालिकाको कार्यालयका लागि नागरिक समाजमा आवद्ध व्यक्तिले नौ कट्ठा १६ धुर जग्गासमेत उपलब्ध गराएको उल्लेख गर्दै ज्ञापनपत्रमा जग्गा नामसारी गर्दा पट्टामै जग्गा नगरपालिकाको कार्यालय निर्माण गरेर उक्त ठाउँमा लग्नुपर्ने उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै छलफलको माध्यमबाट समस्या समाधान गर्ने प्रतिबद्धता नगरप्रमुख पासवानले व्यक्त गर्नुभएको महतोको भनाइ छ । केही दिन अगाडि कर्जन्हा संघर्ष समितिले हाल रहेको बगहामै नगरपालिकाको केन्द्र राख्नुपर्ने माग गर्दै नगरप्रमुखलाई ध्यानकार्षण गराएको थियो । संघर्ष समितिले नगरपालिकामा आर्थिक बेथिति बढ्दै गएकाले आयव्यय सार्वजनिक गर्नसमेत माग गरेको थियो ।

कर्जन्हा नगरपालिकामा केन्द्र सार्ने विषयमा उत्पन्न विवादकै बीच केही दिन अगाडि नगरप्रमुख पासवानले आफूलाई दुव्र्यवहार गरेको भन्दै नगरपालिकाका कर्मचारी बलिराम यादव जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति सिरहासम्म पुगेका थिए ।

कर्जन्हा नगरपालिकामा उत्पन्न विवाद नियोजित रुपमा सिर्जना गराइएको आफूलाई घेरा बन्दीमा पार्न खोजेको नगरप्रमुख पासवान बताउँछन् ।

उनी भन्छन्, ‘‘आफू दलित समुदायका भएकाले विभिन्न विवाद सिर्जना गरी घेराबन्दीमा पार्न खोजेको छ ।” तर पनि आफू दुबै पक्षसँग छलफल गरी आवश्यक निर्णय लिने नगरप्रमुख पासवानको कथन छ । नगरपालिकामा थुप्रै समस्या सिर्जना गरिएको छ, तर सबैले सन्तुष्ट हुने खालको निर्णय लिने नगरप्रमुख पासवान बताउँछन् ।

यसरी कर्जन्हा गाउँपालिका विगत लामो समयदेखि विवादमा फसे पनि यसको समाधानमा कुनै ठोस् प्रगति छैन् । केन्द्र सार्ने वा राख्ने विवादलाई तत्काल समाधान खोजेर नगरको समग्र विकासमा जुट्न स्थानीय वुद्धिजीवीहरुले आग्रह समेत गरेका छन् । अन्यथा जनताको जनप्रतिनिधिप्रतिको विश्वास गुम्ने मात्रै होइन्, स्थानीय सरकारप्रति नै वितिष्ण बढ्ने बुद्धिजीवीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस