‘खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ’


२० श्रावण २०७५, आइतबार


काठमाडौैं । नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगतमा   खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट ।

देशका लागि ज्यानको बाजी राखेर खेल्ने खेलाडीहरू घाइते हुँदा उपचार गर्ने कहाँ छ त ? अहिले यस्तो प्रश्न सबैतिरबाट उठाउन थालिएको छ । खेलाडीहरुका लागि छुट्टै अस्पताल बन्न नसक्दा उनीहरु निरुत्साहित बनेका मात्र हैन खेलकूद क्षेत्रबाटै पलायन पनि भइरहेका छन् ।

यसो त खेलाडीका लागि छुट्टै अस्पताल हुनुप¥यो भनेर खेलाडीहरूले सरकारको ध्यानाकर्षण नगराएका पनि होइनन् । पछिल्लो पटक गगन थापा स्वास्थ्यमन्त्री हुँदा राष्ट्रिय खेलकूद परिषद् (राखेप) द्वारा गठित खेलाडी सुविधा सुझाव कार्यदलले खेलाडीको वर्गीकरणसहित स्वास्थ्य सेवामा सहुलियतको माग गर्दै एक ज्ञापनपत्र बुझाएको थियो ।

राखेपका सदस्यसमेत रहनुभएका उपेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित उक्त कार्यदलले २०७४ वैशाख ६ गते तत्कालीन मन्त्री थापालाई बुझाएको ज्ञापनपत्रमा छुट्टै अस्पतालको माग पनि समेटिएको थियो । थापा नौ महिनापछि सरकारबाट बाहिरिएसँगै त्यो विषय पनि त्यतिकै सेलायो ।

त्यतिबेला मन्त्री थापाले सरकार आफैँले सञ्चालन गरेको अस्पताल र सरकारबाट अनुमति लिएर सञ्चालन गरिएका अन्य अस्पताल दुवैथरीलाई समेटेर खेलाडीलाई स्वास्थ्य सुविधा दिने योजना अघि बढाउन सकिने जानकारी दिएका थिए ।

सरकारले खेलाडीका लागि छुट्टै अस्पताल बनाउने भन्दा पनि राखेप परिसरमा रहेको ‘मेडिकल’ विभागलाई व्यवस्थित गरी खेलाडीको उपचारमा लगाउने सोच बनाएको छ । अस्पताल निर्माण गर्नु सामान्य कुरा नभएको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने बताउँछन् । उनका अनुसार अस्पताल निर्माणका लागि जनशक्तिदेखि बजेटको व्यवस्थापन गर्नुपर्छ जुन कठिन काम हो । तत्कालका लागि सोही विभागमा जनशक्ति र उपकरण थपेर प्रशिक्षणमा रहेका वा प्रतियोगिता खेल्दै गरेका घाइते खेलाडीको उपचारको व्यवस्था मिलाउन सकिने उनको भनाइ छ ।

उपचार नपाएर खेलाडी हात बाँधेर बसेका भने छैनन् । केही खेलाडी सहयोग जुटाएरै भएपनि पुनः खेल क्षेत्रमा फर्किएका उदाहरणहरु छन् । जुडो खेलाडी रमेश मगरको देब्रे घुँडाको केही महिनाअघि सफल शल्यक्रिया भयो । मगरको धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा डा चक्रराज पाण्डेको टोलीबाट शल्यक्रिया भएको हो । नेपाली जुडो टोलीका आशलाग्दा खेलाडी मगरले अर्को वर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकूद (साग) मा राम्रो नतिजा ल्याउने लक्ष्य राखेको छ ।

सन् २०१० मा बंगलादेशमा आयोजित एघारौँ सागको उद्घाटन हुनु अघिल्लो दिन लिफ्ट दुर्घटनामा रमेशसहित केही नेपाली खेलाडी घाइते भएका थिए । दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहको प्रतिष्पर्धामा उत्रन सकेन । दुई वर्षअघि भारतमा भएको १२ औँ सागमा भने उनी कास्य पदक जित्न सफल हुनुभयो र ढाकामा दुर्घटनाको परेर बेहोर्नुपर्ने क्षतिको केही मात्रामा भएपनि पूर्ति गर्नुभयो ।

सन् २०१० को दुर्घटनाको चोट दुई वर्षअघिको सागमा फेरि बल्झिएपछि उनको शल्यक्रिया गरिएको हो । सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण पदक जित्ने उनको धोको छ र उनी छ महिनापछि प्रशिक्षणमा फर्कने सोचमा छन् । उनको शल्यक्रियामा रु तीन लाख पाँच हजार खर्च लाग्यो । नेपाल जुडो संघको आह्वानमा विभिन्न संस्था र व्यक्तिले गरेको उदार सहयोगबाट उनको उपचार सम्भव भएको छ ।

मगर जस्तै धेरै खेलाडीको उपचार अहिले ग्रान्डी अस्पतालले गरिरहेको छ । तर, अस्पतालले खेलाडीलाई यथेष्ट सहुलियत दिन सकेको छैन । खेलाडीहरूका लागि छुट्टै प्रकृतिको उपचार र सुविधाको खाँचो पर्दछ । नेपालमा भने खेलाडीका लागि त्यस्तो कुनै उपचार केन्द्र, अस्पताल वा चिकित्सकको व्यवस्था भइसकेको छैन ।

भलिबल खेलका प्रशिक्षक जगदीश भट्टले भने – “राम्रो अस्पताल सरकारी तवरबाटै व्यवस्था हुन सके आर्थिक अवस्था कमजोर भएका खेलाडीले पनि सहज उपचार सेवा पाउँछन् र उनीहरु फेरि खेल जीवनमा फर्कन सक्ने वातावरण बन्छ । तर, देशमा त्यस्तो अवस्था अझै आएको छैन ।” खेलाडीको उपचारका लागि छुट्टै अस्पताल खोल्नुपर्ने विषयमा धेरै अगाडि सरकारको ध्यान जानुपर्ने थियो भन्नुहुन्छ प्रसिद्ध म्याराथन धावक बैकुण्ठ मानन्धर ।

खेलाडीका लागि छुट्टै अस्पताल बनाइदिने दीर्घकालीन सोच सरकारमा हुनुपर्ने ठान्नुहुने उनी त्यस्तो व्यवस्था नहुँदासम्म खेलाडीको उपचारका लागि अहिले भएकै ठूला सरकारी अस्पतालमा कमसेकम ‘कोटा सिस्टम’को व्यवस्था गरिनुपर्ने बताउँछन् । उनी भन्छन् – “खेलाडीको आर्थिक अवस्था दयनीय छ । खेलाडी राष्ट्रका गहना हुन् भन्ने मात्रै हैन उनीहरुको निःशुल्क उपचारको व्यवस्था पनि गरिदिनुप¥यो ।”

पछिल्लो पटक सरकारले ल्याएको ‘खेलाडी स्वास्थ्य बीमा’ कार्यक्रमले केही राहत दिएको भएपनि त्यो पर्याप्त नभएको खेलाडीहरु बताउँछन् । अहिलेका लागि खेलाडीको सहजताका लागि राखेपमा भएकै मेडिकल विभागलाई थप प्रभावकारी बनाउनुपर्ने मानन्धरको सुझाव छ । पछिल्लो समय धेरै घाइते खेलाडीको उपचार गरिसक्नुभएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा पाण्डे उपचार गर्न मात्र होइन, मनोपरामर्शका लागि पनि छुट्टै अस्पताल आवश्यक रहेको ठान्छन् ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहनुभएका डा. पाण्डे खेलाडीलाई कसरी जोगिएर खेल्ने, तनावबाट कसरी मुक्त रहने र के के पोषणयुक्त खाना खाने भन्ने जानकारी दिन पनि आवश्यक भएको बताउँछन् ।

उनी भन्छन् – “भोलि राम्रो खेलाडी बनाउन आजैदेखि पर्याप्त लगानी गर्नुपर्छ । आजको भोलि नजिता खोजेर हुँदैन । स्वस्थ खेलाडीका लागि उपचार मात्र होइन, पोषण र अनुशासन पनि त्यत्तिकै जरुरी हुन्छ । त्यसैले यी सबै सुविधा उपलब्ध हुने खालको राष्ट्रिययस्तरको अस्पताल आवश्यक छ ।” रासस

प्रतिक्रिया दिनुहोस