सोल्टी र मितिनीलाई साउन ३१ गते चीन पठाउने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सोल्टी र मितिनीलाई साउन ३१ गते चीन पठाउने तयारी


१८ श्रावण २०७५, शुक्रबार


चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताए । चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ ।

यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइएको थियो । दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम “सोल्टी” र डेढदेखि दुई वर्षको पोथीको नाम “मितिनी” राखिएको छ । बाटोका कारण दुई दिनअघि नै साउन २९ गते गैँडा काठमाडौं पठाइँदै छ । पहिलो जोडी गैँडा दुई दिनअघि नै काठमाडौं लगेर राखिएको थियो ।

निकुञ्जबाट नियन्त्रणमा लिइएका गैँडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ । निकुञ्जका अधिकारीले गैँडा मानिससँग घुलमिल भएकाले लैजान समस्या नहुने जनाएका छन् ।

यसअघि झैँ पछिल्लो जोडी गैँडा पठाउँदा निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाउने तयारी गरिएको छ । पहिलो जोडी गैँडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक फर्किसकेका छन् । सहयोगी अझै फर्किएका छैनन् ।

दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिनु भएको थियो । सोहीअनुरुप अहिले गैँडा पठाउन लागिएको हो । चीनमा दुई जोडी गैँडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या ३० पुग्छ । रासस

प्रतिक्रिया दिनुहोस