नेपालीका सुखका चाहना पुरा हुन्छन् : प्रधानमन्त्री ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपालीका सुखका चाहना पुरा हुन्छन् : प्रधानमन्त्री ओली


१७ श्रावण २०७५, बिहिबार


ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पुरा गर्न प्रयासरत रहेको बताएका छन् । २१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।

प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नसुहाउने प्रधानमन्त्री ओलीको भनाइ छ । “सरकार हरेक क्षेत्रलाई उत्पादनसँग जोड्न चाहन्छ । उत्पादनमा आधुनिकीकरणका माध्यमबाट उत्पादकत्व वृद्धि गरी उपभोगमा पनि सामाजिक न्याय सहितको प्रवन्ध गरिन्छ । ”

समृद्धिले मात्र सुख प्राप्त नहुने भन्दै प्रधानमन्त्री ओलीले समान अधिकार, समान अवसर, समान सुरक्षा र समान आत्म सम्मान प्राप्त भएमात्र सुख प्राप्त हुने बताए ।

केही केही राजनीतिक पार्टीहरु बिचारमा प्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिंजाउदै हिडेको प्रधानमन्त्री ओलीको भनाइ छ । “यस्ता हल्लालाई जनताले तिरस्कार गर्छन्” प्रधानमन्त्री ओलीले भने “ कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर सरकारको विरोधमा नेता कार्यकर्तालाई अलमलल्याएका छन् ।”

प्रधानमन्त्री ओलीले तुल्सीलाललाई वाम आन्दोलनका पुराना नेताको रुपमा स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न उनको महत्वपूर्ण योगदान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस