स्तनपान गराउनेको संख्यामा सुधार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्तनपान गराउनेको संख्यामा सुधार


१७ श्रावण २०७५, बिहिबार


काठमाडौं । नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्यामा सामान्य सुधार आएको छ ।

सन् २००६ मा एक घण्टाभित्रै स्तनपान गराउने दर ३५ प्रतिशत रहेको थियो । सन् २०१६ मा सो संख्यामा वृद्धि भई ५५ प्रतिशत पुगेको छ । राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले विश्व स्तनपान दिवसका सन्दर्भमा आज यहाँ जारी गरेको अध्ययन प्रतिवेदनमा नेपालमा १०० मध्ये ५५ जना शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइने जनाइएको छ ।

बाँकी शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुने एवं उनीहरुको निरन्तररुपमा स्तनपान गर्ने सम्भावना कम रहेको प्रतिवेदनले उजागर गरेको छ । विश्वमा जन्मेको एक घण्टामै स्तनपान नगराइने शिशुको संख्या सात करोड ८० लाख छ । यीमध्ये धेरै शिशु निम्न र मध्यम आय भएका देशका रहेका छन् ।

प्रदेश सातमा सबैभन्दा बढी स्तनपान गराउने

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश नं ७ मा सबैभन्दा धेरै ७०.७ प्रतिशत रहेको छ । प्रदेश नं २ मा सबैभन्दा कमअर्थात् ४५.३ प्रतिशत छ । सो प्रदेशमा जन्मिएका शिशुमध्ये पहिलो तीन दिनमा मह, पानी र अन्य दूधजस्ता पदार्थ खुवाइने गरिएको सर्वेक्षणले देखाएको थियो ।

प्रतिवेदनले जन्मेको पहिलो घण्टामा स्तनपान गराएका नवजात शिशु जीवित रहने सम्भावना धेरै हुने औँल्याएको छ । प्रतिवेदन अगाडि भन्छ “केही घण्टामात्र ढिलो स्तनपान गराउनाले पनि जीवन जोखिममा पार्न सक्छ । आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध र बिगौती दूध उत्पादनमा सहयोग पुग्दछ । बिगौती दूध एकदमै पोषिलो हुन्छ । रोग प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुन्छ ।”

शिशुको ‘पहिलो खोप’ को रुपमा स्तनपानलाई लिइन्छ । अर्कोतर्फ ‘क्याप्चर दि मोमेन्ट’ नामक प्रतिवेदनले जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने कुरा महत्वपूर्ण भए पनि विभिन्न कारणले स्तनपानका लागि शिशु लामो समय प्रतिक्षा गर्न बाध्य रहेका छन् ।

“बिगौती दूध फाल्ने, शिशुलाई मह चटाउने, पानीजस्ता तरल पदार्थ खुवाउने अभ्यासले आमाको पहिलो महत्वपूर्ण सम्पर्कबाट शिशु टाढिरहेका छन्,” प्रतिवेदन भन्छ । नेपालसहित विश्वका ७६ देशको तथ्यांक प्रतिवेदनमा विश्लेषण गरिएको थियो ।

शल्यक्रियाबाट शिशु जन्माउने दरमा दुई गुणा वृद्धि

अर्कोतर्फ पाँच वर्षमा नेपालमा शल्यक्रियाबाट शिशु जन्माउने दरमा दुई गुणा वृद्धि भएको छ । सन् २०११ मा शल्यक्रियाबाट शिशु जन्माउने दर ४.६ थियो । सन् २०१६ मा आइपुग्दा नौ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको छ । यसरी जन्मेका शिशुमध्ये कमैले मात्र एक घण्टाभित्र एक तिहाइले मात्र स्तनपान गर्ने मौका पाउँदछन् ।

स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने प्रतिशत सामान्य सुधार देखिएको छ । सन् २००६ मा यो संख्या ३९ प्रतिशत थियो । सन् २०१६ मा ५५ प्रतिशतमा उक्लेको छ ।

शिशुलाई जन्मनासाथ आमाबाट टाढा नराख्न र स्वास्थ्यकर्मीको सल्लाह बढाउन प्रतिवेदनले सुझाव दिइएको छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने अन्य पदार्थमा कडाइ गर्न र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लाई व्यावहारिकरुपमा कार्यान्वयनमा जोड दिएकोे छ ।

प्रतिक्रिया दिनुहोस