कांग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो : प्रधानमन्त्री ओली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कांग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो : प्रधानमन्त्री ओली


१२ श्रावण २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन् । तत्कालिन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

कांग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्र्नै नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिलेदेखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘माइतीघरमा दुई सय जना जती मान्छे अट्लान्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यती भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।’

माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘मण्डलामा आन्दोलन भएपछि त्यसको होहल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न’, उनले भने, ‘यहीबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ ।’

लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भूमिका भएको ओलीले बताए । सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डीकेट अन्त्यका लागि प्रतिवद्ध रहेको उनको भनाई छ । आगामी दुईबर्ष भित्र काठमाडौंको सडकलाई स्तरीय बनाइने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले नेपालीहरुले गौरवपूर्ण विवेकलाई कायम राख्न सक्नु पर्ने बताए । ‘तोपसँग खुकुरीले लडेर पूर्खाहरुले बचाइदिएको देशलाई हामीले स्वाभिमानपूर्वक बचाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘सार्वभौमसत्तालाई कायम राख्दै सन्तुलित छिमेकीसाग सन्तुलित सम्बनध राखेर देशलाई अघि बढाउन सरकार लागि परेको छ ।’

प्रतिक्रिया दिनुहोस