सपनाको फूल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सपनाको फूल


१२ श्रावण २०७५, शनिबार


उनले धरतीको काँडा टेकेको रात

उनकै पैतालाबाट उम्रिएको थियो

सायद, एउटा विधवा नदी !

आँगनको डिल नटेकी फर्किएको थियो सिन्दुरे घाम

आँखाको ऐना नहेरी तर्किएको थियो मिर्मिरे जून

बतासको बुई चढेर उडेको थियो शिरको छानो

सपनाको छाती भत्काउँदै

रोएको थियो प्रेमको नदी !

सर्पजस्तो बाटोमा

सर्पहरू नै पछ्याउँछन् उनको पैताला

महाप्रलयको जुलुस

आगोको झन्डा बोकेर लखेट्छन् उनलाई

उनी लोग्नेको श्यामश्वेत फोटोमा ढल्छिन्

फोटोबाट खसेको बन्दुक उनको छातीमा ठोकिन्छ

काला कागहरू रुन्छन् जिन्दगीको हाँगामा

गिद्धहरू इतिहासको जंगल ढुकेर फरिया तान्छन्

बाटो नै सर्प बनेर बेरिन्छ शरीरमा !

उफ् ! घरजस्तो छोरो

घरबाट हराएको पनि वर्षाैं भयो ।

कुन देशको उँटले चराउँदै होला उसलाई ?

कुन मरुभूमिको बालुवाले पिउँदै होला उसको आँसु ?

कुन बजारको कारखानाले चँडायो होला उसको हात ?

आमाले लगाइदिएको टीका उतै खसालेर

हावामा उड्दै उड्दै आइरहेछ रित्तो निधार !

बाबुको श्यामश्वेत फोटोबाट

छोराको निधारमा खस्छ रगतको आँसु

विधवा पत्नीको हिउँजस्तो सिउँदोमा खस्छन् ओठहरू

छाती खस्छ छातीमा

हात खस्छ हातमा

शिर खस्छ शिरमा

बगिरहेको समय अनायास जम्न थाल्छ

र, उनी बिस्तारै आफैं बन्छिन्– श्यामश्वेत फोटो !

फोटोको आँखा खुल्लै छ—

के तपाईं देख्न सक्नुहुन्छ,

त्यो श्यामश्वेत आँखाबाट खसेको सपनाको फूल ?

Tags :
प्रतिक्रिया दिनुहोस