सिंहदरवार यात्रा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिंहदरवार यात्रा


हरि बहादुर थापा

१२ श्रावण २०७५, शनिबार


सिंहदरवार

भृकुटीमण्डपको बृहत् पुस्तक प्रदर्शनीमा वडा खुसीका साथ गमक्क परेर बसेको थिएँ । साथमा थिइन, मेरो प्यारी जीवनसंगिनी मञ्जरी । यिनले मसँगको सहयात्रामा धेरै दुःख गरिन् । तर, कहिलेकाहीँ दुःख देखाइनन् । तर, आज विशेष खुसी देखिन्छिन्, यति खुसी विगतमा कहिलेकाहीँ देखेको थिइन । उनको खुसीको गहिराई म सहजै अनुमान गर्न सक्छु । विगतका सबै खुसीहरू बनावटी थिए होलान् । तर, आज यिनको चन्द्रमुखी मुहारमा देखिएको खुसी साच्चिकै अलौकिक थियो । उनले मलाई जीवनभरि खुसी दिइन् । मैले जीवनमा पहिलो पटक उनलाई खुसी दिएको महसुस गर्दै थिए । यस अर्थमा पनि साच्चिकै खुसी थिए । पाठकहरूसँग अन्तक्रिया मात्र होइन उनीहरूले खरिद गरेका पुस्तकको प्रतिमा हस्ताक्षर गर्नै मारामार थियो । यस्तो पनि लाग्यो कि त्यहाँ मेरो पुस्तकभन्दा पनि मेरो हस्ताक्षरको व्यावसायीकरण भएको छ । म आफ्नै पुस्तकको मोडेल वा ‘ब्राण्ड एम्बेसडर’ जस्तो महसुस भएको छु । हस्ताक्षर मात्र होइन, हामीसँगै बसेर सेल्फी खिँच्ने नयाँ पुस्ताको आकर्षण गजब लाग्यो । अहिलेसम्म मेरो पुस्तकको सात संस्करणमा गरी एक लाख ५० हजार प्रति बिक्री भइसकेछ । स्वदेशमा मात्र होइन, विदेशमा समेत यसको माग बढेको छ । प्रकाशकले अर्को महिना अन्तर्राष्ट्रिय पुस्तक प्रमोसन अभियानको लागि विभिन्न ११ मुलुकमा जान हामी दम्पतिलाई नै अनुरोध गरेको छ ।

वर्षैभरि राजधानी बाहिरका सहरहरूमा पुस्तक प्रर्वद्धन र प्रवचनमा भाग लिन जाने गरी तालिका तयार भइरहेको जानकारी दिएका छन्, प्रकाशकले । मानिसहरू मेरो पूर्व जिम्मेवारीको पदलाई लिएर पनि बोलाउँथें, सम्मानका साथ । तर, मलाई त्यसमा रुचि हुँदैनथ्यो, लेखक मनोज नै काफी थियो मेरा लागि । अहिले नाम चलेका प्रकाशन गृहहरू मेरो अर्को पुस्तकका लागि पेश्कीको लागि खाली चेक लिएर मलाई पिछा गरिरहेका छन् । म त्यस्तो व्यावसायिक लेखक वा साहित्यकार त होइन । त्यसैले त्यस्ता प्रस्तावहरू स्वीकार्ने कुरै भएन । चिया होटल, चोक, तारे होटल, बोर्डसिटका पत्रिका, सामाजिक सञ्जाल, कलेज जताततै आज यो पुस्तकको चर्चा चुलिएको छ । अबको एक वर्षमा दुई–चार वटा राम्रा पुरस्कार नै जित्छ कि भन्ने पो आशा जागेर आएको छ मलाई त । मिडियाहरूले धेरै पिछा गरेका छन् । हाल सार्वजनिक जिम्मेवारीमा नरहेको हुनाले अहिलेचाहिँ मिडियालाई सक्दो समय दिएको छु । आर्थिक रूपमा समेत यो पुस्तकले मलाई डेराबाट एक वर्षमा नै आफ्नै स्वामित्वको घरमा लैजाने अवस्था सृजना गरेको छ । साच्चिकै यो सपना हो कि विपना, मैले आफैलाई चिमोट्नुपरेको छ । वाफ रे वाफ ! एउटा कितावको तागत यति ठूलो हुँदो रहेछ । घरमा पुगेर टेलिभिजन हेदै (टेलिभिजनमा पनि यहि पुस्तक प्रदर्शनीबारे चर्चा आइरहेछ) चिया पिउँदै गर्दा विगतले मेरो टाउकोभित्र फेरि मथिंगल ल्याएरै छाड्यो, कता कता रिंगटा लाएर आएजस्तो पनि भयो ।

स्मृतिको रिल फनफनी घुमिसकेपछि सपनाबाट ब्युझिएजस्तै गरी क्यालेण्डरमा हेरें– २०७५ जेठ महिना थियो । मञ्जरीलाई भेटेको पनि ३३ वर्षै भइसकेछ । उसलाई जुन उमेरमा मैले पहिलो पटक भेटेको थिए, ढिलो गरि जन्मेकी छोरी पनि आज त्योभन्दा बढी उमेरकी भइसकी । यो बिचमा उसले एउटा ठूलो तपस्या नै गरी । जीवनमा आएका हरेक आँधीबेरी, हुरिबतास, घामपानी, तुफान, तुसारो, लू सबै खपेर एकनासले सतिसालझंै आज मेरो अगाडि ठडिएकी छ । अझै मलाई सोध्छे– हजुरलाई केही गाह्रो भयो कि ? वास्तवमा नारीहरू सृष्टि चलाउनै जन्मेका हुँदा रहेछन् । आमा, श्रीमती र छोरी मेरा निकटका तीन जनासँगको सामीप्यतामा मैले अनुभव गरेको सबैभन्दा मिठो जीवनको सत्य हो यो । मेरो राजनीतिले उनको राजनीतिलाई बेलैमा निल्यो, मलाई अलि ढिला गरी निल्यो । उनको समर्पण र तपस्याले मेरो जिम्मेवारीको यो परिवाररूपी डुंगा पार लाग्यो । अर्थात् मेरो राजनीतिक भविष्यको लागि उनको राजनीतिक भविष्यको बलि चढाइयो । महिलाले नै पटक–पटक हार्नुपर्ने नियतिविरुद्ध मैले जति नै सिद्धान्तको मन्त्र जपे पनि म स्वयंको व्यक्तिगत जीवनमा पनि मेरै जीवनको सहयात्रीलाई यो नियतिबाट मुक्त गर्न सकिनँ । राजनीतिले मलाई नेता र मन्त्री त बनायो । तर, त्यसमा सफल बनाउन सकेन । सिंहदरवारको तातो कुर्सीमा बसेर निस्कँदा मलाई जीवनको ठूलो पाठचाहिँ सिकायो ।

प्रजातन्त्र पुनस्र्थापनापछि ०४८ र ०५१ सालमा चुनाव लड्ने ठूलो धोको थियो । जनताबाट छानिएर गएर मुलुकको मुहार फेर्ने ठूलो ऊर्जा थियो । धेरै शुभचिन्तक र साथीभाइले लबिङ पनि गरेकै हुन् । मभन्दा कनिष्ठहरूले टिकट पाउँदा पनि मैले पाइनँ । तर, पनि पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले टिकट पाएका साथीहरूलाई जिताउन ठूलै मेहनत गरियो । म नउठे पनि हाम्रै दलका साथी हुनुहुन्छ उम्मेदवार, उहाँलाई नै विनाशर्त सघाउनुपर्छ भनेर सबैलाई थामथुम पार्दै मतदातालाई आकर्षण गरी विश्वासमा लिइएको थियो । राजनीतिप्रति मेरो लगाव र ऊर्जा देखेर मञ्जरीले आफ्नो सबै राजनीतिक हैसियत, सपना र लगानीलाई तिलाञ्जली दिएकी थिइन्, एउटा अलिखित सम्झौता जस्तै भयो, मैले राजनीति गर्ने र उनले परिवार सम्हाल्ने । सिद्धान्तमा जे भनिए पनि, पढिए पनि व्यवहारमा हामी स्वयं पनि आम परम्परा, संस्कृति र व्यवहारभन्दा पृथक हुन सकेनौ, बाध्यताको लेप लाएरै भए पनि । राजनीतिमा लाएका साथीहरूले विस्तारै भित्रभित्रै आ–आपm्नो दुनो सोझ्याउँदै गएको सुनिन्थ्यो, देखिन्थ्यो पनि । मचाहिँ राजनीतिमा लाएको मानिस अन्य लाभकारी धन्दामा चासो राख्नु हुँदैन भन्ने मन्त्र जपेर बसेको हुनाले घर व्यवहार चलाउन सकश पर्दै गएको थियो । राजनीतिमा आन्दोलनको राप र ताप सेलाउँदै थियो, राजनीति गर्नेहरूले सत्ताको तातो अनुभूति गर्दै आर्थिक व्यवस्थापन गर्दै गएका थिए । ठिकविपरित मेरो परिवारमाचाहिँ आन्तरिक राजनीतिको सरगर्मी बढिरहेको थियो । छोरा र छोरी गरी दुई सन्तान जन्मिसकेका थिए । घरतिरको खास सम्पर्क, समन्वय र सहयोग लगभग हराइसकेको थियो । उनीहरूको सोच यो थियो कि मनोज अब राजनीतिमा लाग्यो, उसलाई अब यहाँको केही चाहिँदैन, खोज्दैन । आफै मालामाल हुन्छ भन्ने आम सोचबाट ग्रस्त थियो । मैले पनि यो विषयमा खास स्पष्टीकरण दिन उचित सम्झिइनँ । जे होस, ससुरालीतिर औपचारिक सम्बन्ध सामान्य र सुमधुर हुन नसके पनि नातीनातिनाको खातिरको नाममा भरथेग भइरहेको थियो । केही साथीहरूको कर्जा पनि चुक्ता गर्नु थियो । यता मुलुकको राजनीतिले गलत दिशा लिइरहेको थियो ।

संसदीय राजनीतिमा देखिएका गतिविधिले मलाई दिक्क बनाउँदै लगेको थियो । मञ्जरी पनि राजनीतिक गतिविधिवाट आशा मार्न थालिसकेकी थिइन । यस्तैमा एक दिन गोरखापत्र देखाउँदै मलाई भनिन्– मनोज ! लोकसेवाले खरिदारको विज्ञापन गरेको रहेछ । म फाराम भर्छु है । आइए पास गरेर बिए पढ्दापढ्दै ४६ सालको आन्दोलनले उनको पढाइमा चट्याङ पार्यो । बहुदल आएपछि राजनीतिमा दुवै जना यसरी लागिएछ कि पढाइतिर सोच्नै भ्याइएन । दिनरात जनताको सेवा, समुन्नत मुलुक र प्रजातन्त्रको रक्षा यस्ता विषयबाहेक अरु कुनै पाठ्यक्रम नै आएन जीवनमा । मैले कुनै जवाफ नदिइकन प्रसंग मोडियो । उनले सायद यसलाई मौन स्वीकृतिको रूपमा बुझिन होला । कहिले फाराम भरिन, कहिले जाच दिइन, मैले मेसो नै पाइन । अन्तर्वार्ताको लागी छनोट भएको र गोश्वारा हुलाकमा जागिर सिफारिस भएको थाहा भयो । लगत्तै अर्को वर्ष उनको आइए पासको सर्टिफिकेटको पनि काम आयो, अर्थात् उनी नायब सुब्बाको परीक्षा पनि पास गरिन् । कता–कता मलाई पनि खुसी नै लागेर आयो, अरु कुराले नभईकन अब सानो आर्थिक आधार निश्चित भएकोमा । डेरा स्वयम्भु नजिकै ठूलो भर्यांङ भन्ने ठाउँमा थियो । अबचाहिँ टाढा भयो, सुन्धारा आउन जान । छोराछोरी स्कुल जान थालिसकेका थिए । नयाँ सेसन सुरु हुनेबित्तिकै डेरा सरियो, बानेश्वर पछाडि थापागाउँमा, मनकामना सिनेमा घरनजिकै । राजनीतिक अस्थिरता बीच २०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन तय भयो । मञ्जरी जागिरे भएपछि म राजनीतिमा कम र छोराछोरीको स्याहारमा बढी समय दिन थालेको थिएँ । खै किन हो, राजनीतिमा लागेका सहकर्मी साथीहरू पनि परपर हुन थालिसकेका थिए । सायद, उनीहरू र मबीच वर्ग अन्तर भइसकेको थियो । कतिपयको सहरमा आफ्नै घरसमेत बनिसकेको थियो भने अधिकांशको सहकारी, गैरसरकारी संस्था र निजी व्यवसायमा राम्रो प्रगति हुँदै गएको तथ्यबाट म बेखवर पनि थिइनँ । यो समूहमा नवप्रवेशीहरूको हालीमुहाली अझ गजबकै थियो । कतिपय साथीहरूले त सरकारबाट राजनीतिक नियुक्ति पाएर अरु धेरै आफन्त र कार्यकर्ताहरूलाई रोजगारी समेत दिलाएका थिए । यसै कारणले हुनसक्छ, उनीहरूको जनसम्पर्क पनि मजबुद हुँदै गईरहेको थियो । राजनीति गति ठिक दिशामा नगएको, जनताका आकांक्षाहरू सम्बोधन हुन नसकेको र प्रजातन्त्र नै खतरामा परेको भनेर गुनासो गर्ने गरेको कारणले होला केन्द्रीय नेताहरू मसँग सन्तुष्ट थिएनन् । तर, यी साथीहरूसँग चाहि राम्रो सम्पर्क र विश्वास कायम हुदै गएको थियो । मैले भेट्नका लागि समय माग्दा धेरै दिन कुर्नुपथ्र्यो । तर, उनीहरूको लागि समय नै माग्नु पर्थेन । म यसरी मुल राजनीतिवाट किनारातिर लाग्दै थिए ।

सिंहदरवार बदल्ने कसम खाएर त्यहाँ छिरेकाहरूलाई नै कति सजिलै सिंहदरवारले बदलिदियो, म सोच्नै नसक्ने भए । यसैबीचमा घोषणा भएको चुनावले मलाई खासै आकर्षण गरेन । राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन भन्थे । तर, यो भनाई मेरो हकमा लागू भएन, अर्थात् म राजनीतिबाट छिट्टै थाके । परिस्थति यस्तो बन्दै थियो कि घरगृहस्थीले मलाई आइज आइज भन्थ्यो भने राजनीतिले मलाई जा जा भन्थ्यो । एक किसिमले भन्ने हो भने परम्परागत रूपमा पुरुषको जिम्मेवारीमा मञ्जरी थिइन भने परम्परागत श्रीमतीको भूमिकामा म थिएँ । राजनीतिले मलाई जति नै बितृष्णा दिए पनि हुर्कदै गएका छोराछोरीले मलाई जीवनको अलौकिक आनन्द दिएका थिए । राजनीतिको चटारोमा लाग्दा जीवनका अन्तिम क्षणमा मैले बुबा आमालाई साथ दिन सकिनँ । आज छोराछोरी हुर्काउँदा मैले पलपलमा उहाहरूलाई स्मरण गरिरहेको थिए । मलाई यस्तो लाग्न थालेको थियो कि मानिसले जन्मदातालाई सही रूपमा पहिचान गर्न आफूले सन्तान जन्माएर हुर्काउनै पर्ने रहेछ । त्यो पलमा मैले मेरा जन्मदातालाई खुब मिस गरे । चुनावले गति लिँदै गर्दा मेरो डेरा पनि गुल्जार हुँदै गयो । पार्टीभित्र नेताहरू र कार्यकर्ताहरूले मलाई खोजी गर्न थालेछन् । चुनाव प्रसारका क्रममा मतदाताहरूले पनि खुब सोधेछन्, खोजेछन् । हजुरले टिकट पाउनुपर्छ, हामी लबिङ गर्छौ भन्नेहरू पनि देखिए केही । मैले चासो नदिएपछि, मेरो नाममा समर्थन गरिदिनुहोस् भन्थे । नेताहरूले बोलाउँथे आफै, अनि मनोजजी सहयोग गर्नुस् है भन्थे । तर, के सहयोग गर्ने कसरी गर्ने भन्ने विषय खुलाउँदैनथे । म पूरै इन्कार गर्न नसके पनि खुलेर बोल्न पनि सकेको थिइनँ । कोही त आत्मिय साथी नै थिए, हिजोका सहकर्मी हितैषीहरू पनि थिए । व्यक्तिगत रूपमा म कसैको मन दुखाउन चाहँदैनथे । हजुर चुनावमा लाग्नुपर्ने भए म एक महिना जति बिदा लिन्छु नि त भनेर मञ्जरीले भनेकी थिइन । तर, कहाँ त्यसरी हुन्छ र तिमी त चुनावमा खटिनुपर्छ जागिरे मान्छे भनेर मैले भने । चुनावका क्रममा कतिपय शुभचिन्तकहरूले त भाउजूलाई भन्सारमा सारिदिने आश्वासन समेत दिन भ्याए । हामीलाई न यसमा रुचि थियो, न चासो । जे थियो त्यसैमा रमाएका थियौ हामी । चुनाबका लागि पार्टीका उम्मेदवारहरूको सूची दैनिक पत्रिकाबाट थाहा पाएपछि अवकास दिनमा पूरै समय डेराभित्रै सीमित रहेर केटाकेटीसँग रमाउने निर्णय गर्न सजिलो भयो ।

केन्द्रको राजनीति चुनावमय भए पनि जिल्लाहरू र गाउँबस्तीमा द्वन्द्वले क्रमशः अनिश्चित बन्दै थियो । माओवादी जनयुद्धले ल्याएको सुरक्षा चुनौतीलाई सामना गर्न सरकारले दुई चरणमा चुनाव सम्पन्न गर्यो । चुनावकै क्रममा रुकुममा गौतम थरका उम्मेदवारको हत्या नै भयो र पछि उनकी विधवा श्रीमतीले चुनाव जितिन् पनि । जति गर्दा पनि मलाई राजनीतिमा तान्न नसकेको हुनाले चुनाव सम्पन्न भए पश्चातको समीक्षामा केही साथीहरूले मलाई ‘माओवादीमा लागेको’ भनेछन् भने केहीले ‘राजातिर ढल्केको’ भनेछन् । केहीले त विद्रोहीलाई सघाएकोले कारवाही गर्नुपर्छ पनि भनेछन् । तर, औपचारिक रूपमा मलाई अरु कुनै जानकारी आएन । व्यक्तिगत रूपमा केही साथीहरूसँग सम्पर्कचाहिँ कायम थियो, नितान्त व्यक्तिगत ।

राजनीतिको नाममा रेडियो सुन्ने र पत्रिका पढ्ने बाहेक अरु समय पूर्णरूपमा घर व्यवहारमा समर्पण गरेको थिए । मञ्जरीको सल्लाहबमोजिम नै पहिला अलपत्र परेको पढाईलाई प्राइभेट विद्यार्थीका रूपमा पुनर्जागरण गरेर स्नातकोत्तर सम्म उतीर्ण पनि गरे, घरमा छोराछोरीसँगै पढदै । परीक्षा दिन जाँदा सेन्टरमा विद्यार्थी अनि विद्यार्थी नेताहरूको चासो एवं गतिविधि र क्याम्पसहरूको हालत देख्दाचाहिँ मन साह्रै अमिलो भएर आउँथ्यो । २०५८ जेठ १९ को दरवारमा घटेको विवादस्पद घटनापश्चात माओवादी र नयाँ राजा ज्ञानेन्द्रका गतिविधिहरूले झन तीव्रता लिँदै गर्दा आम जनताको दैनिक जीवन साह्रै सकसमा फसेको थियो । एक थरि मानिसहरू मलाई राजातिर आकर्षण गर्न खोज्थे भने अर्को थरि मानिसहरू मलाई माओवादी आन्दोलनतिर लोभ्याउँथें । ५६ सालको चुनावपश्चातको समिक्षामा मलाई राजावादी वा माओवादी कित्तातिर करार गर्न खोज्ने तत्वहरू स्वयं नै यी दुई शक्तिको नजिक पुगेको आभास भएको थियो मलाई । मलाई न यताको आशा थियो न उताको भरोसा । म त केवल एक सहयोगी पति, माया गर्ने बाबु अनि स्वतन्त्र नागरिक हुनुमा नै सन्तोष थिए । बचेको समयमा वरु अनुभवको डायरी लेखेर समय बिताउँथें, यसैमा म रमाइरहेको थिएँ ।

समयसँगै राजनीतिक ध्रुवीकरण भयो । ४६ सालमा वाममोर्चा र नेपाली कांग्रेसले राजाका विरुद्ध उभिए जस्तै संसदीय राजनीतिका सात दल र जनयुद्ध गरिरहेको माओवादी मिलेर राजाका विरुद्ध आन्दोलन सुरु गरे । शान्ति र सहज निकासका लागि आम नागरिक जस्तै म पनि यो अभियानमा समर्थककै लाइनमा उभिए । हरेक दिन हुने आन्दोलनका कार्यक्रममा दलको झण्डामुनि जाने उत्साहचाहिँ पलाएन । ६२ चैतताका केही स्वतन्त्र छवि भएका विभिन्न क्षेत्रका परिचित मानिसहरू मलाई भेट्न आए र आन्दोलनमा सहभागी हुन आग्रह गरे । नेताहरूले अब गल्ती नगर्ने बाचा छताछुल्ला पारे । मुलुक र नागरिकको अवस्था धेरै बिग्रिसकेको थियो । फेरि मेरो राजनीतिक ग्रन्थी अचानक भरिएर आयो । छोराछोरीको भविष्य मुलुकमै बनाउनुपर्छ भन्ने अभिभावकत्वले पनि मलाई थप जिम्मेवारी महसुस गरायो । मेरो सहभागिता सक्रियताको सर्वत्र प्रसंसा र कदर भयो । आन्दोलनले लय लिँदै गयो । ६३ वैशाख ११ राति राजाले राजनीतिक आत्मसमर्पण गरे । मलाई ४६ चैत २६ रातिको याद आयो । तर, खै किन हो कुन्नी ऊबेलाको जस्तो उत्साह र भरोसा भने पलाएन कतै । मुलुकले शान्तिको ठूलो स्वासचाहिँ फेर्यो । मुद्दाहरु अनिर्णित भए पनि आम नागरिकलाई शान्तिपूर्ण आवतजावत गर्न यो परिवर्तनले ठूलो योगदान दियो । नयाँ र फरक राजनीतिक सिलसिला सुरु भयो । सांसद वा मन्त्री हुन चुनाव लड्नु वा जित्नु परेन । दुई आम निर्वाचनमा मरिहत्ते गर्दा टिकट पाइएन, एउटा चुनावमा टिकटै मागिएन आफै पर सरियो राजनीतिबाट । अहिलेचाहिँ अचानक चुनावै नलडी एक्कासी मन्त्रीको जिम्मेवारी हासिल भयो । सपना हो कि विपना मलाई नै विश्वास भएन । कताकता मेरो विगतको राजनीतिक योगदानको मूल्यांकन भए जस्तो पनि लाग्यो । घरमा मञ्जरी पनि खुसी नै भइन्, सायद उनको बलिदानीको फल प्राप्त भएको ठानिन कि । आफन्त, नातेदार, साथीभाइ, ससुराल खलक, छिमेकीलगायत सबै फेरि अचानक आफ्ना भएर निस्के । हनुमानस्थानबाट थापागाउँ जाने धोवीखोलाको पुलमा सवारी साधन बढे । मेरो डेरा नजिकको गल्ली ठेलामठेल भयो । अचम्म लाग्यो, यो मन्त्री पदको यो तागत र तुजुक देखेर ।

रेडियोमा सुनेरै थाहा पाएको मैले त । मलाई सुशासन प्रर्वद्धन तथा विकास व्यवस्थापन मन्त्रालयको जिम्मेवारी प्राप्त भएको रहेछ । प्रधानमन्त्री हुनेबित्तिकै बधाई दिन जाँदा उनले सोधेका थिए– मनोजजी अवका चुनौती के हुन जस्तो लाग्छ भनेर । अनि ४६ सालपछिको राजनीतिले बाटो बिराएको आफ्नै आँखाले देखेको मैले तत्कालै भनेको थिएँ– अबको मुख्य चुनौती भनेको शासनमा सुशासन र विकासमा व्यवस्थापन भनेर । सायद यही कुरामा प्रधानमन्त्री विश्वस्त भएर होला मन्त्रिपरिषद्को कार्य विभाजन नियमावली नै परिवर्तन गरेर यो मन्त्रालयको व्यवस्था गरेको । मलाई साह्रै उत्साहित बनायो र आशावादी पनि । समाचार सुनेलगत्तै प्रधानमन्त्री निवासमा फोन गरेर उहाँलाई धन्यवाद दिए र आफूले इमान्दारितापूर्वक सहयोग गर्ने वचन पनि दिए । डेरामा ठूलो मेला लागिसकेको थियो । मैले अरु केही सोच्नै सकिनँ । प्रधानमन्त्रीलाई भेट्न जान्छु भनेर भीडलाई छक्काउँदै ट्याक्सी मगाएर निस्के म । बाहिर सुरक्षाकर्मीहरू पनि आइसकेका रहेछन् । तर, भीडमा चिनेनन् उनीहरूले मलाई । प्रधानमन्त्री निवास त जानु थिएन मलाई । म सिधै गए सामाखुसी, एक जना स्वतन्त्र नागरिककर्मीको घरमा । हामी पहिलाका राजनीतिक सहकर्मी र आन्दोलनताका स्वतन्त्र एवं इमान्दार छविका अधिकारकर्मीको पहिचान वनाएका व्यक्ति । एक दशक जति राजनीतिबाट पर रहेकोले आम समाजमा मेरो पहिचान पनि धमिलो भएकोले मलाई राहत मिल्यो यहानेर । ती सहकर्मीसँग राती १० बजेसम्म छलफल गरिसकेपछि म फर्कन खोजेको थिएँ । तर, उनले फर्कन दिएनन् । अब म सार्वजनिक महत्वको व्यक्ति भइसकेकोले यसरी आफूखुसी नहिँड्न उनले सुुझाए । मैलै पनि जिद्धि गरिनँ । मञ्जरीलाई खबर गरेर वसे, शुभचिन्तकहरूले मलाई पर्खिरहेका थिए । विगतमा राजनीतिक नियुक्त पाएर छोटो अनुभव समेत सम्हालेका उनीसँगको भलाकुसरीले मलाई निकै राहत मिल्यो र मलाई नयाँ खाले जिम्मेवारी निभाउन पनि निकै आत्मबल प्राप्त भयो । रातभर निद्रा लागेन, विगतका घटनाहरू सिनेमाको रिलझैं दिमाखमा घुमिरहे । यसैको आधारमा मैले आफ्ना प्रतिवद्धता र मुलुकको पक्षमा सारभूत योगदान दिने गरी केही पृथक कार्यशैलीहरूको विन्यास पनि गरे । बिहान ४ बजेपछि मात्र हल्का निद्रा आयो । साथीबाटै थाहा पाए कि दिनको १ बजे शपथ ग्रहण रहेछ प्रधानमन्त्री कार्यालयमा नै । पोशाकको खास उर्दी नभएकाले उतैबाट सिधै प्रधानमन्त्री कार्यालय जान निधो गरे । मैले मोबाइल बोक्ने गरेको थिइन ।

प्रधानमन्त्री कार्यालयबाट डेरामै फोन पनि आएको रहेछ । प्रधानमन्त्रीबाट शपथ पनि लिए, अरुले के भनेर शपथ लिए वा कागजमा के लेखिएको थियो मलाई महत्व लागेन । तर, मैले मनमनै इमान्दारीपूर्वक काम गर्छ र परिवर्तन गरेरै छोडछु भनेर कसमै खाए । बधाई दिनेको लर्को छिचोल्दै तम्तयार भएको झण्डाजडित गाडी चढेर सुरक्षाकर्मीसहित तोकिएको मन्त्रालय पुग्ने संस्कृति पछ्याए । त्यहाँ पनि माला, खादा, अविर, फूल यसैको मात्र लर्को रहेछ । काम त केवल औपचारिकता निभाउने मात्र भयो । औपचारिकता निभाउँदा नै साँझ पर्यो । मेरो डेरा सामान्य भएकोले सरकारी मन्त्री क्वाटरमा मलाई प्राथमिकता दिइएको रहेछ । सुरक्षाकर्मीले सिधै क्वाटर लगे । उता पनि यस्तै लर्को रहेछ, स्वागत गर्नेको । राति १० बज्यो औपचारिक रूपमा बधाई लिँदै । परिवार त आएका रहेछन् । तर, न त मसँग उनीहरूलाई दिने समय थियो न त उनीहरूले गृहकार्यलगायत आफ्ना नियमित तथा निजी काम गर्न सक्ने वातावरण र माहोल नै थियो । विस्तारामा पुग्दा पूरै थाकेको थिए । वास्तवमा आज न मुलुक र जनताको पक्षमा कुनै काम गरिएको थियो न त परिवारको लागि कुनै समय दिइएको थियो । सोच्न बाध्य भए अब यो सिलसिलालाई टुंगो लगाउर्ने पर्छ भनेर । मुलुकमा लामो संघर्षपश्चात राजनीतिक परिवर्तन आएको थियो । परिवर्तनलाई विकास, सुशासन तथा शान्ति प्रक्रियाले सम्बोधन गरी नागरिकलाई यसको औचित्य सावित गर्नु थियो । नयाँ मन्त्रालय स्थापना भएको थियो, नयाँ जिम्मेवारीका साथ । मैले फरक तरिकाले र द्रुततर गतिले काम गर्नु थियो । यसका लागि परम्परागत संस्कृतिका रूपमा रहेका केही विकराल विकृतिहरूको जरा नउखेली नहुने मैले निक्र्यौल गरिसकेको थिएँ ।

नागरिकको ठूलो आशा र भरोसा अनि दलहरूको आत्मआलोचनासहित आएको थियो, यो राजनीतिक परिवर्तन । मुलुकलाई नयाँ दिशा र फरक गियरमा हाक्नु थियो । परम्परागत रूपमा जगडिएका शासकीय र राजनीतिक रुढीहरू विरुद्ध परिवर्तनको शंंखघोष गर्नुथियो । समग्र परिवर्तन त गर्नै पर्ने थियो । तर, सुरुवात आफैबाट गर्नु थियो । यो मुल स्प्रिटका साथ मैले आफूलाई तयार पारे । प्रतिबन्धित अवस्थामा ग्रामीण क्षेत्र र दुरदराजका जनताहरूको साथमा रहेर उनीहरूका आम सरोकार एवं समस्याहरूको अनुभव गरी उनीहरूलाई बुझेको थिए भने पछिल्लो दशकमा राजनीतिक रूपमा निस्कृय रहेर सहरी जनजीवन अनि राजनीतिक विकृतिले पीडित बनेको आम समाजको स्वयं भुक्तभोगी भई अनुभव गरेको थियो । यसर्थ, समाज र जनताका आम समस्याहरूप्रति म पूर्ण रूपमा जानकार थिए । यसैको आधारमा आफ्ना पाइलाहरू अगाडि बढाउनु थियो । भोलि ९ वजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने निधो गरे । चर्चित मिडिया क्लबमा खवर पठाए । उताबाट हमालजीले खबर गरे– मन्त्रीज्यू पत्रकार क्लवमै पत्रकार सम्मेलन गरौ कि ? यो मन्त्रालयको कार्यक्रम हो, हुँदैन अन्यत्र, मन्त्रालयमा गरौ भने मैले । उनले फेरि भने उसो भए हाम्रो ब्यानर राखेर मन्त्रालयमै गरौ, साह्रै प्रभावकारी हुन्छ भनेर भनेपछि मेरो कम्परा छुटेर आयो । अनि उनीहरू मन्त्रालय आउन राजी भए । पत्रकार सम्मेलनमार्फत मैले निम्न कुराहरू बुँदागत रूपमा नै सार्वजनिक गरिदिए ।

१. हरेक दिन ९ बजे मन्त्रालय आइसक्ने र साँझ ७ बजेसम्म मन्त्रालयमा नै पूर्णरूपमा काम गर्ने ।

२. मन्त्रीको पदमा रहुञ्जेल नेपाल सरकार तथा मन्त्रालयले आयोजना गर्नेवाहेक कुनै पनि सभा, समारोह, गोष्ठी, उद्घाटन, शिलान्यास जस्ता अनुत्पादक र प्रचारमुखी कार्यमा सरिक नहुने ।

३. मन्त्रालयको बैठक तथा छलफल बिहान ११ बजेभित्रै वा ४ बजेपछि मात्र गर्ने ।

४. हरेक हप्ताको शुक्रबार अपरान्ह ३ वजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने र मिडियाका जिज्ञासाहरूको त्यहि समाधान गर्ने । यसबाहेक कुनै पत्रकार तथा मिडियाकर्मीसँग भेटघाट र छलफल नगर्ने ।

५. मिडियालगायतका सरोकारवालाहरूलाई आवश्यक सूचना मन्त्रालयका सूचना अधिकारीबाट तत्काल लिन सकिने र मन्त्रालयका सबै गतिविधि एवं सामाग्रीहरू हरेक साँझ मन्त्रालयको वेबसाइटमा अद्यावधिक गर्ने ।

६. नागरिक, कार्यकर्ता तथा अन्य सर्वसाधारणको लागि हरेक दिन अपरान्ह ३ बजेदेखि ४ बजेसम्म मात्र आगन्तुक कक्षमा भेटघाट गर्ने ।

७. मन्त्री निवासमा नजिकका नातेदार तथा परिवारका सदस्यबाहेक अरु कसैसँग कुनै विषयमा भेटघाट नगर्ने । बिदा बसेको वखत सरकारी सुविधाका सवारीसाधन समेत प्रयोग नगरी आम नागरिकसरह जीवनयापन गर्ने ।

८. हरेक शनिवार परिवारसँग पूर्णरूपमा निजी र स्वतन्त्र तरिकाले बिदा मनाउने । मन्त्रिपरिषद्को बैठक वा प्रधानमन्त्रीले बोलाएको अवस्थामा बाहेक मन्त्रीको हैसियतमा कुनै काम र भेटघाट नगर्ने ।

९. मन्त्रालय र निवासको संयुक्त सुरक्षाका लागि खटिएका बाहेक निजी सुरक्षाका रुपमा कुनै पनि सुरक्षाकर्मी नलिने ।

१०. एक जना निजी सहयोगी र सवारी चालकबाहेक औपचारिक रूपमा कुनै सहयोगी र सल्लाहकार नराख्ने । आफु आवद्ध दलको सबै जिम्मेवारीबाट अलग रहने तथा दलगत स्वार्थभन्दा माथि उठेर स्वतन्त्र एवं साझा मन्त्रीको हैसियतमा कार्यसम्पादन गर्ने ।

११. सरकारी कामको सिलसिलामा निस्कँदा दोहोरो पर्ने गरी कुनै सुविधा र सहुलियत नलिने । आफू र परिवारको कुनै उपचार गर्न परे सरकारी स्वास्थ्य संस्थामा मात्र गर्ने ।

१२. हरेक दिन बिहान १०ः३० वजे मन्त्रालयका सचिव र सहसचिवहरूसँग छलफल तथा समीक्षा गर्ने ।

१३. शासन व्यवस्था, सेवाप्रवाह तथा विकास निर्माण सम्बन्धमा सदाचार प्रवद्र्धन केन्द्रमा आएका उजुरीहरूको विश्लेषण र उजुरी सम्बोधनको अवस्था निक्र्यौल गर्ने । हरेक मंगलबार साँझ ४ बजेदेखि कर्मचारीका प्रत्यक्ष तथा लिखित रूपमा प्राप्त भएका गुनासाहरू सुन्ने र समस्या समाधानको सुत्र पहिल्याउने ।

१४. मन्त्रालयमा कार्यरत कर्मचारीहरूले अनुशासन, समयपालना तथा सेवाप्रवाहमा कुनै कसुर गरेको भेटिएमा शुन्य सहनशिलताको अवधारणामा तत्काल कारवाही गर्ने ।

१५. मन्त्रालयमा कार्यरत कर्मचारीको वस्तुगत मूल्यांंकन पद्धतिको कार्यान्वयन गरी त्यसको आधारमा हरेक महिनाको अन्तिम दिन मन्त्रालयको उत्कृष्ट कर्मचारीको छनोट गरी पुरस्कारको समेत व्यवस्था गर्ने ।

मेरा यति कुरा सुनिसकेपछि पत्रकार तथा कर्मचारीहरू एक आपसमा खासखुस गर्न थाले । यसको सही कार्यान्वयनमा शंंका गरेर प्रश्न सोधेका थिए, मैले चित्त बुझाएर बिदा गरे र अर्को शुक्रबार ३ बजेको लागि निम्ता पनि दिए । उनीहरू गए । म पनि जुरुक्क उठे, कर्मचारीहरू असमञ्जस्यमा परेजस्तो लाग्यो । सचिवलाई नजिकै बोलाएर यसै कार्ययोजना अनुसार व्यवस्थापन गर्नुहोस् भने । अनि म सिधै कार्यकक्षमा पुगेर मुलुकमा विद्यमान सुशासन तथा विकास व्यवस्थापन सम्बन्धी कानुनी र नीतिगत व्यवस्थाबारे संकलन भई मेरो टेबुलमा सजिएर बसेका पुस्तकहरूको अध्ययन गर्ने सोच बनाए । नयाँ मन्त्रालय भएकोले यसको संगठन कार्यान्वयनमा आउन बाँकी नै थियो र कार्यविधि तय गरी लागू गर्नु थियो । अबका ३ दिनमा यसको निक्र्यौल गरिसक्नुपथ्र्यो । साथमा ल्यापटप लिएर यसको टिपोट गर्दै थिए । सचिव र सहसचिवहरू पनि यहि काम गर्दै थिए, अलग्गै समूहमा । उनीहरूले ल्याउने प्रस्तावमा सही निर्णय गर्न पनि मैले स्वयं अध्ययन र तयारी गर्नु जरुरी थियो । यदि यसो गर्न सकिएन भने राजनीतिले कर्मचारी होइन कि कर्मचारीले राजनीति चलाउँछन् भन्ने निश्चित थियो । मुलुकलाई अब राजनीतिको सही नेतृत्वमा कर्मचारीको ईमान्दारीतापूर्वक परिचालन चाहिएको थियो ।

निजी सुरक्षाकर्मीलाई पनि फिर्ता गरिसकेको थिए । यसबारे गृहमन्त्रालयबाट मलाई धेरै सोधपुछ र अनुरोध पनि भयो । तर, मलाई आफू असुरक्षित छु भन्ने कतैबाट पनि लागेन । हिजो भूमिगत अवस्थामा त कुनै खतराको प्रवाह गरिएन, १० वर्षे द्वन्द्वको बेलामा समेत कुनै पनि समस्या व्यहोर्नु परेन भने अहिले त मुलुकमा शान्ति सम्झौता भइसकेको थियो । आम नागरिकमा शान्ति सुरक्षाको मनोवैज्ञानिक प्रत्याभूति गर्न पनि हामीले रोेल मोडेल बन्नु जरुरी थियो । फेरि मलाई वरिपरि सुरक्षाकर्मीहरू हुँदा झन् असजिलो महसुस भएको थियो । एकथरि शुभचिन्तक र सुरक्षा सरोकार राख्ने निकायहरूले पदीय हैसियत अनुसार मेरो भौतिक ज्यानको सुरक्षाको प्रश्न गरेका थिए । मलाई चाहि के लाग्यो भने जनताको लागि असल नियतले काम गर्छु भन्दा कसैले ज्यान नै लिन्छ भने मेरो के दोष भयो र । म हिजो पनि जानीनजानी जनताको लागि नै भनेर जोखिमपूर्ण राजनीति गरे । अहिले पनि जनताकै लागि मन्त्री भएको हुँ । यही भूमिकामा काम गर्दै जाँदा मरिन्छ भने पनि के प्रवाह भयो र । आखिर एक दिन मरेर जानै पर्छ । अनि पूर्ण सुरक्षा त यो संसारमा कसको रहेछ र भन्ने अनुभव त ५८ सालको दरवार काण्डले हामी सबैलाई दिएकै थियो । मैले सुरक्षालाई छोेडे पनि सुरक्षाले मलाईचाहिँ छोडेन ।

मैले सोचे जस्तो सहज भएन कार्य सम्पादन । मैले त जिम्मेवारीलाई सहजीकरण गर्ने गरी मेरो कार्ययोजना बनाएको थिए । तर, मेरा हरेक पाइलामा परम्परागत ढर्राले खुट्टा अल्झाइरह्यो । जति नै संघर्ष गर्नु परे पनि म मेरो कार्यशैलीवाट विचलितचाहिँ भइन ।

धेरै मानिसहरू मलाई भेट्न चाहन्थे । तोकिएको समयमा मैले उनीहरूलाई भेटेर उनीहरूका कुरा सुने पनि । किनकि म जनताकै हितका लागि मन्त्री भएको थिए । उनीहरूसँग भेटेर मैले मेरो मन्त्रालयको कार्यसम्पादनको पृष्ठपोषण लिन र उचित सहयोग एवं सल्लाहको अपेक्षा गर्थे । तर, भेट्नको लागि मरिहत्ते गरेर आउनेहरूले औपचारिकताका रुपमा मेरो कार्यशैलीको प्रसंसा नै गरे पनि अन्ततः मेरो कार्यशैलीको मर्म तोड्ने गरी निजी स्वार्थ लिएर आउँदा रहेछन् । मलाई भेट्न आउने मानिसहरू मुख्य गरी पाँच किसिमका पाए । पहिलो खालका मानिसहरू घुमाइफिराइ राज्य संयन्त्रमा आफ्नै नियुक्तिको सिफारिस गर्थे । उनीहरूका कुरा सुन्दा यस्तो लाग्थ्यो कि उनीहरु असाध्यै विज्ञ र धुरन्धर हुन् । उनीहरूको सहयोगबिना राज्य असफल नै हुन सक्छ । उनीहरूले राजनीतिक नियुक्ति हुन सक्ने सरकारी पदहरूको सूची नै बोकेर आउँथे । त्यो सुची देख्दा मलाई त अचम्म लाग्यो । नेपालमा यति धेरै निकायहरू रहेछन् कि तीमध्ये धेरैको त मैले यसअघि नाम नै सुनेको थिइनँ । यस्ता निकाय र यसमा राजनीतिक भर्ति हुने पदाधिकारीहरूले खास कामचाहिँ के गर्दा हुन् ? नयाँ मन्त्रालय भएकाले मेरो मन्त्रालय मातहत चाहिँ एउटै संरचना थिएनन् यस्ता । तर, कतिपय विद्धानहरूले मन्त्रालय मातहतमा रहने गरी विभिन्न नामका निकायहरू खडा गर्न प्रस्ताव समेत लिएर आउँथे । अचम्म त के लाग्थ्यो भने यसरी आउने विद्धानहरूको अनुभव, योग्यता र कार्ययोजना उनीहरूले स्वयं प्रस्ताव गरेको संस्था र पदसँग खास मेल खाने हुँदैनथ्यो । राजनीतिक कतिपयले त आफूलाई मेरो सल्लाहकार नै राख्न समेत प्रस्तुत गर्थे । म भन्थें– मेरो मन्त्रालयमा सबै विषयका एक से एक विज्ञ र अनुभवी कर्मचारीहरू छन् । उनीहरू शिक्षित, छानिएका, अनुभवी, तालिम प्राप्त र देश विदेशको अनुभव भएका र राज्यको सेवा गर्ने कसम खाएका कर्मचारी थिए । मैले तुलना पनि गरे कि मेरोमा आउने विद्धानहरूको योग्यताभन्दा यही मन्त्रालयमा कार्यरत कर्मचारीको योग्यतामाथि रहेछ, धेरै आयामले । यो वर्गका मानिसहरू फेरि आएनन् । बरु अरु नै मन्त्रालयतिर धाऊन र मेरोबारे खेदो खन्न थालेछन्, पछि थाहा पाए ।

वडा कठिन र जीवनको नमिठो वस्तु रहेछ अरुको आशा र भरोसालाई सम्बोधन गर्न नसक्नु दोस्रो थरि मानिसहरू कर्मचारीको सरुवाको लागी आउँदा रहेछन् । उनीहरू सुरुमा मञ्जरीकै सरुवाको प्रसंगबाट कुरा झिक्थे (वास्तवमा यो प्रसंगवाट म अवाक् भइसेकको थिए) । यसबारे मैले यसरी भन्थे कि उनीहरूले तत्कालै सरी भन्ने अवस्था आउँथ्यो । कर्मचारी सरुवाको बारेमा निजामती सेवा ऐन र नियमावली राम्रोसँग पढ्न भन्थे । यसको विरुद्ध कुनै क्रियाकलाप भएको भए वा कसैलाई मर्का परेको भए लिखित गुनासो गर्नु वा पीडित स्वयं मंगलबार ४ बजेपछि आउनु भनेर भनिदिन्थे । यीमध्ये कतिपय कर्मचारीबाहेकका मानिस पनि हुन्थे । कतिपयले मन्त्रालयमा कार्यरत रहेका कर्मचारीको चुक्ली पनि लगाउँथे । तर, मन्त्रालयका कुनै पनि कर्मचारीलाई हचुवाका आधारमा सरुवा गर्ने मेरो मनसाय थिएन । अर्का थरि मानिस धेरै टाढाबाट पनि आउँथे । मेरो चिनजानका अनि पहिला कुनै न कुनै सम्बन्ध भएका र दलका कार्यकर्ताहरू उनीहरूको क्षेत्रमा, बस्तीमा बाटो, बत्ती, खानेपानी, सिँचाई, हेल्थपोस्ट, स्कुल जस्ता विकासका कार्यहरूको सरोकार लिएर आउँथे । उनीहरू मेरो प्रसंसा गर्न पनि जानेका थिएनन् । वास्तवमा समाजसेवी थिए, समाज विकासको भोक लिएर आउँथें । उनीहरूको सबै कुरा मैले मन लगाएर सुने पनि उनीहरूले सोचेजस्तै गरेर समस्या समाधान गर्न म असमर्थ हुन्थे । तर, उनीहरूलाई कुरो बुझाएर पठाउँथें । बुझेझैं गरेर फर्कन्थे । चौथो थरिका मानिसहरू विशुद्ध व्यापारी हुन्थे । मेरोमा यी व्यापारीहरू किन आउँथे, म मेसो नै पाउँदैनथे । केही व्यापारीहरूचाहिँ कर्मचारीले अनावश्यक दुःख दिएको गुनासो गर्थे । यस प्रकारको गुनासोलाई मैले मिहिन तरिकाले सुन्थे र कार्ययोजनामा समावेश पनि गर्थे । तर, अन्त्यमा सबैखाले व्यापारीहरूले आफ्नो निहित स्वार्थ भने चुहाउन बिर्सिदैनथे । म हासेर हात जोडेर पठाउँथें । यस्ता व्यापारीहरू पनि दोहोर्यार आएनन् मलाई भेट्न । सबैभन्दा धेरै भेटघाटका लागि आउने अर्को समूह थियो, जागिर लगाई माग्नेको । जिन्दगीभर ससुराली खलकसँग न्यानो र सिधा सम्बन्ध भएन । घरतिरका छिमेकीले पनि उतिसारो गन्दैनथे, किनकी मैले आर्थिक उन्नति गर्न सकेको वा कसैलाई कुनै व्यक्तिगत गुन लगाउन सकेको थिइनँ । तर, जसै मन्त्रीको यो तातो कुर्सीमा आसन जमाइयो तब घर तथा ससुरालतिरका बन्धुहरु, नातेदार र शुभचिन्तकहरूको ठूलो ताँती नै लाग्यो । क्वाटरमा पनि घुइँचो हुन थाल्यो । मन्त्री क्वाटर भए पनि साधारण तरिकाको भान्सा र परिकार हुने भएकोेले होला, उनीहरू टिक्नचाहिँ टिक्दैनथे, भोलिपल्टै फिर्ता हुन्थे । यो वर्गका मानिसहरूको एक मात्र चाहना हुन्थ्यो कि उनीहरु स्वयं वा नजिककालाई सरकारी जागिरमा छिराउने ।

आफू मातहतका कर्मचारीलाई विश्वासमा लिएरै काम गर्नुपर्छ । उनीहरूका समस्याहरु सुनेर समाधान पनि गर्नुपर्छ भन्ने मेरो सोच थियो । अनि कुनै खराव वा कामचोर कर्मचारी छ भने पनि उसलाई राज्यले नियुक्ति दिएको हो र उसले राज्यकोषवाट सुविधा लिएको छ भने उसलाई सुधार गरेर काम लिनुपर्छ भन्ने मान्यता थियो । यस्ता केहि कर्मचारी सुरुमै पहिचान गरेको थिएँ, उनीहरूलाई सरुवा गर्न सुझाव प्राप्त भएको थियो । सरुवा मन्त्रालयको लागि त समाधान हुन सक्थ्यो । तर, राज्यको लागि थिएन । म त राज्यको जिम्मेवार मन्त्री । त्यसैले सरुवाभन्दा पनि उनीहरूलाई मैले मेरै नजिक राखेर जिम्मेवारी दिएँ । वास्तवमा उनीहरू असल कर्मचारी रहेछन्, राम्रो र ईमान्दारीका साथ खटेर काम गरे । उनीहरूले अवसर नपाएर त्यस्ता भएका थिए वा कुनै समूहको स्वार्थमा परेर त्यस्तो अवस्थामा पुगेका थिए उनै जानुन् । तर, ति कर्मचारीहरू अहिलेसम्म पनि वडा आदर र सम्मान गर्छन् मलाई, जहाँ भेटे पनि । एक दिन सचिवलाई सोधें– सचिवज्यू मन्त्रीको कारणबाट तपाईँलाई कुनै अप्ठ्यारो छ भने सिधा भन्नुस् म सच्चाउने कोसिस गर्छ । उनले विस्तारै भने– त्यस्तो केही छैन माननीयज्यू । तर, मेरो पहिलाको अनुभव अनुसार एउटा विषयचाहिँ बिन्ती गर्छु । मैले भन्नुन न त भने । उनले भने– माननीय मन्त्रिज्यु म सधै यही हजुरकै समीपमा रहन्छु । कुनै आदेश वा निर्देशन छ भने हजुरले सिधै मलाई भन्नु होला । कार्यकक्षमा बोलाउनु भयो भने जतिखेर पनि हाजिर हुन तयार छु । पछि थाहा भयो उनले यसो भन्नुको कारण बडो गजबको रहेछ । मन्त्रीज्यूले यसो भन्नुभएको छ, उसो भन्नु भएको छ, यो गर्नुपर्यो, त्यो गर्नुपर्यो भनेर मन्त्रीका सहयोगीहरूले सचिवलाई भन्दा रहेछन् । ती कतिपय विषयवस्तुहरू मन्त्रालयको कार्यक्षेत्र, स्थापित मान्यता तथा नियमभन्दा बाहिरका निजी स्वार्थका पनि हुँदा रहेछन । मन्त्रीले भन्नुभएको छ भने र उनको पिएले नै भनिसकेपछि नाई वा हुन्न भन्दा अनर्थ हुने हो कि भन्ने डर, गर्न पनि कठिन काम । फेरि हजुरले यसो मर्जी भएको हो र भनेर पटक–पटक मन्त्रीसँग भेरिफाई गर्न सचिव जाने कुरा पनि भएन । कतिपय गलत प्रवृत्तिका सहयोगीहरूका कारण सचिवहरु अप्ठेरोमा पर्ने र मन्त्री बदनाम हुने विडम्बना रहेछ । यसलाई मैले तुरुन्तै बुझेर कार्यान्वयन पनि गरे । सहयोगीमार्फत कुनै काम सचिवलगायत कर्मचारीलाई लगाउनुपर्यो भने मेमोमा स्पष्ट लेखेर हस्ताक्षर नै गरेर पठाउन थाले नत्र अधिकांश कामहरू सिधै बोलाएर र वैठकमा भन्ने गर्थे । यस मामिलामा कर्मचारीहरू खुशी नै भए ।

धेरै काम गरियो विकास व्यवस्थापन र सुशासन प्रवद्र्धनका लागि संस्थागत संरचना, स्पष्ट कार्यदिशा र वस्तुगत अभ्यास सुरु पनि भयो । बडो कठिन भयो मेरो कार्ययोजना अनुसार चल्न । तर, म जस्तोसुकै परिस्थितिमा पनि मैले आफ्नो १५ बुँदामा सम्झौता गरिनँ । जतिसुकै कठिनाई र बाधा आएको भए पनि एक किसिमले म सफल भएको थिएँ । मनमनै खुुसी थिए । तर, राजनीतिक अस्थिरताको परिणाम स्वरूप सरकारले बहुमत गुमायो । सरकारले बहुमत गुमाएको भए पनि अर्को सरकार गठन नभएसम्म यहि सरकारले कामचलाउ सरकारको रुपमा काम गर्नैपर्यो । हामीले उही लयमा काम गर्ने सोच बनायौं । तर, बहुमत गुमाएको अवस्थामा मन्त्रालयमा फरक माहोल देखा पर्दै गयो । अर्थात्, राज्य संयन्त्र हाम्रो नियन्त्रणमा राख्न नै ठुलो कठिनाई हँुदै गयो । मानिसहरूले नयाँ सरकार कहिले आउँछ, को मन्त्री भएर आउँछ जस्ता मात्र कुरा गर्थे । कर्मचारीहरू पनि लोसे र परपर हुँदै गएको भान हुन थाल्यो । लगभग १ महिनापछि नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण भयो । यो एउटा प्रजातान्त्रिक र स्वभाविक प्रक्रिया नै थियो, त्यसैले सो समारोहमा हामी पनि गएका थियौं, सरकारी गाडी नै चढेर । तर, फर्कने बेलामा म गएको गाडी नै रहेनछ । हुन त मेरो गाडी चालक पहिलेदेखि मसँग खुसी नभएको छनक मलाई थियो । अरु चालकहरूले यो सुविधा पायो, ऊ सुविधा पायो, यति कमायो, उता यो गर्यो भनेर सुनाउँथ्यो घरिघरि । मलाई किन सुनाउँछ यस्ता निजी कुरा जस्तो लाग्थ्यो । पछि थाहा पाए कि उसले पनि मबाट यस्तै धेरै अमुक सुविधाहरूको अपेक्षा गरेको रहेछ, जुन कार्य मेरो रुचि, प्राथमिकतामा पनि थिएन र उचित पनि होइन, अरुले जस्तै उसले पनि राज्यबाट नियमानुसार तलव र सुविधा पाएकै थियो । झन् सरकार फेरिने पक्का भएपछि त उसको झर्कोफर्को नै अनुभव गरेको थिए । अचम्म पनि लाग्यो र सम्झे यसले पनि मज्जाले दनक दिएछ मलाई । तर, अब के गर्ने के, जानु त थियो नै । सबै जना आफ्नै सुरमा थिए, कसैले पनि चिने जस्तो गरेनन् ।

सरकारी मन्त्री निवास त पहिले नै छाडेको थिएँ, त्यसैले अब सरासर डेरा जाने सोच्दै थिएँ । शपथग्रहण समारोहस्थल बाहिर सडकमा उभिरहेको थिएँ, यस्तैमा अचानक एक भाइ देखापरे मोटरबाइकमा सवार । मेरो त्यो हालत देखेर उनी पनि दंग परे । उनलाई मेरो सबै कुरा भने । उनले सुझाए कि म मन्त्रालय जाने अनि त्यहाबाट पत्रकार सम्मेलन गरेर ट्याक्सी वोलाएर डेरा जाने । यसले मेरो सदाचारिताको खुब हाइलाइट्स हुन्छ र म रातारात सेलिब्रेटी हुन्छु रे । मलाई झनक्क रिस उठ्यो । म राजनीतिक आस्था वोकेको नेता हुँ, कुनै चटके वा रंगकर्मी होइन भन्ने कुरा मलाई राम्रो थाहा थियो । मलाई काम चाहिएको थियो, मुलुक र नागरिकको समुन्नति चाहिएको थियो न कि विज्ञापन र प्रचारप्रसार । मैले उनलाई भने ‘भाई ! मलाई मेरो डेरा नजिकसम्म छोडिदिनुु ।’ उनले नाई भनेनन् । म डेरा पुगे । बाटोमा भेटिएका छिमेकी र चिनजानकाले पनि खासै चासो दिएनन् । कोही खासखुस गर्दै थिए । ठूलो भारी बिसाएर आएको भरियाझैं महसुस भएको थियो । मञ्जुश्रीले मिठो खाना पकाएकी रहिछन् । धेरै पछि आज आनन्दको भोजन अर्थात् सुःखको मानो खाइयो भने जस्तो भयो । परिवारमा नयाँ खुसी फर्केर आए जस्तो भयो । छोराछोरी पनि साह्रै खुसी देखिए, मञ्जुश्रीको मुहारमा अलग्गै चमक थियो । मानौं कि धेरै दिनदेखि हराएको खुसी फर्केर आएको छ, त्यो परिवारमा । अनि मैले भने – ‘मञ्जु भोलिदेखि भान्सा मेरो जिम्मा, अव तिमीले अलि आराम गर ।’ क्रमशः चाउरिँदै गएका गालाको बिचमा डिम्पल पार्दै उनी मुसुक्क हासिन्, विगतको रंगिन र प्रेमिल संसार फेरि उछालिएर आयो मनैभरि । हामीले दशकौ अगाडि लुकिलुकि सँगै हलमा गएर हेरेको ‘कुशुमे रुमाल’ भन्ने सिनेमाकी हिरोनी तृप्ति नाडेकर गालामा डिम्पल पार्दै बादल फाट्ने गरी हासेको याद आयो मलाई । मैले याद गराए पनि उनलाई, अनि दुबै जना फेरि मज्जाले हास्यो दिल खोलेर । छोराछोरीले यसको खासै रहस्य थाहा नपाए पनि हासोमा हासो मिलाएर डेरा गुञ्जाएमान बनाए । टेलिभिजनमा नयाँ प्रधानमन्त्रीको जीवनी आइरहेको थियो ।

मैले आफुले जतिसुकै राम्रो र इमान्दारीपूर्वक काम गरेको भनेर गर्व गरे पनि आम समाज, पार्टी, राजनीति, नातेदार र छिमेकीमा मेरो छवि असफल मन्त्रीको रूपमा दरिएको रहेछ । मलाई पछि मात्र थाहा भयो । मलाई महसुस भयो कि यो सिंहदरवार साच्चिकै अजिवको रहेछ । मैले सिंहदरवारलाई चिन्न सकिनँ कि मलाई सिंहदरवारले चिन्न सकेन, मैले मेसो नै पाइन । मेरा असफलताका कारणहरू पनि विस्तारै खुल्दै गए र मलाई कतै न कतैबाट जानकारी पनि हुँदै गए । पार्टीलाई यथेष्ट रूपमा सहयोग गर्न नसकेको, कार्यकर्तालाई कतै नियुक्ति तथा ठेक्कापट्टा दिलाउन नसकेको, आफन्त र नातेदारलाई भनसुन गरेर कतै जागिर लगाउन नसकेको, बिहे, पास्नी, भोज, व्रतवन्ध, शिलान्यास, उद्घाटनमा वोलाएको ठाउँमा नगएर उनीहरूको अपमान गराएको, गाउँमा अनि ससुरालतिर कुनै योजना पार्न नसकेको, कसैलाई विदेश पठाउन नसकेको, जिल्लातिर जाँदा दलबलसहित सान मान गराउन नसकेको, सामाजिक संघसंस्था, क्लब तथा देउसीभैलीलाई मोटो चन्दा तथा दान दिन नसकेको, नजिकका कर्मचारीहरूको मालदार अड्डामा सरुवा गराउन नसकेको, आफू बस्ने क्षेत्रतिर सडक पिच गर्न नसकेको, लोडसेडिङ हटाउन, खानेपानीको बन्दोवस्त गर्न नसकेको, टोले क्लवहरूलाई सहयोग नगरेकोे, उद्योगी व्यापारीमैत्री नीतिगत निर्णय गराउन नसकेको, यथेष्ट विदेश भ्रमण गराउन नसकेकोमा कर्मचारीहरूले पनि मेरो व्यवहार उतिसारो मन पराएनछन् । यस्तै आरोप ममाथि आएका रहेछन् ।

वास्तवमा यी कुनै पनि कार्य मेरो कार्यक्षेत्रमा पर्ने कार्य थिएनन्, मेरो रुचि र प्राथमिकताका कार्य पनि थिएनन् । यी कार्यहरू गर्न नसकेकोमा मलाई रत्तिभर पछुतो वा ग्लानी पनि थिएन । जसकाकारण म असफल भएको रहेछु रे । अनि मन्त्री भएर पनि काठमाडौंमा घरजग्गा, मोटरगाडी, बैंक ब्यालेन्स नभएको जस्ता कारणले पनि मलाई असफल मन्त्रीका रूपमा दर्ज गरिएको थाहा भयो । म मात्र होइन, हाम्रा छोराछोरीहरू पनि ‘मन्त्रिका छोराछोरी जस्ता’ नभएको श्रीमती समेत सधैझंै सामान्य जीवनशैली अपनाउँदै निरन्तर उहि जागिरमै झुण्डिरेहेको भन्ने गुनासो समेत सुन्न पाइयो । मलाई कसैको भनाई र विचारप्रति प्रतिकार गर्ने रहर र आवश्यकता नै महसुस भएन । मलाई केवल एउटा मात्र चिन्ता रहेको थियो कि मन्त्रालयमा मैले शुरु गरेका अभियानले दिगोपना पाउँछ कि पाउँदैन । म मन्त्री हुँदा मैले गरेका सकारात्मक पहल, मुलुकको शासन, प्रशासन, विकास निर्माण र सुशासन प्रवद्र्धनमा ल्याएका ठोस उपलब्धिहरूको कतै चर्चा र लेखाजोखा देखिएन । तत्काल समाजले मूल्यांकन नगरे पनि, यसको प्रभाव त अनुभव भएकै छ ।

दीर्घकालीन प्रभावका आधारमा इतिहासले मूल्यांकन गर्ला भन्ने अपेक्षा मात्र बाँकी थियो मसँग । कार्यकारी पदमा रहँदा त काम नै गर्ने हो भाषण र अर्ति उपदेश त पछि फुर्सदमा गर्दा हुन्छ भन्ने मेरो विचारले काम गरेनछ । मन्त्री हुँदा पूरै मन्त्रालयमा व्यस्त हुने र मन्त्री पदबाट निवृत्त भएपछि पूर्ण रूपमा समाजमा गएर आम नागरिक, तिनका सोच, भावना र समस्यासँग एकाकार हुने मेरो विचार ‘शहिद’ भयो । साच्चिकै भन्नुपर्दा म डेराबाट बाहिर निस्कन नसक्ने जस्तो भए । अनि मैले घरपरिवारसँग नै बाँकी जीवन बिताउने र आत्मसन्तुष्टिको लागि मन्त्री हुँदाखेरिका मेरा प्रयास, अनुभव तथा समसामयिक समाज र राजनीतिमा केन्द्रित भएर आत्मकथा लेख्ने निर्णय गरे । यसले मेरो समय मात्र कटाएन कि मनभित्र छचल्किएका भावनाहरू लिपिवद्ध गर्ने अवसरका रूपमा उपयोग गरे । तीन वर्ष डायरी लेखेझंै लेख्दै गएपछि अन्त्यमा यसले एउटा कितावको रुप लियो ‘सिंहदरवार यात्रा’ । अनि मलाई यो पुस्तक छाप्ने रन्को लागेर आयो । पाँचवटा नाम चलेका प्रकाशकहरूकोमा धाए पनि । हुँदैन भन्दैनथे तर जति पर्खे पनि किताव पनि छाप्दैनथे । अन्त्यमा तीमध्यको एउटा प्रकाशककोमा काम गर्ने एकजना भाइले सुटुक्क एउटा नम्बर टिपाए र भेट्न सुझाए । त्यो नाम चलेको, मैले पहिला कतै सुनेको प्रकाशक थिएन । तर, मेरो किताव छाप्न तयार भयो । प्रकाशनको चक्करमा थाकेको मेलै उसका सबै शर्त मानेर किताव छापियो र बजारमा पनि आयो । नपत्याउँदो पाराले कितावको बिक्री रातारात ह्वात्तै बढेर गयो, भाइरल भन्दा रैछन यस्तो प्रवृत्तिलाई आजकल ।

मलाई अचम्म लागेर आयो हाम्रो समाज र प्रवृत्ति कस्तो हुँदो गएको रहेछ । जुन काम मैले स्वयं गरे, त्यो चाहिँ पटक्कै बिकेन, कसैलाई पचेन, म सर्वत्र असफल मन्त्रीका रूपमा दरिए । तर, त्यहि कुरा लेखेर छाप्दाचाहिँ यति विधि बिक्री भयो । सिद्धान्त पच्ने तर, त्यहि सिद्धान्त अनुसारको व्यवहार नपच्ने । मैले जे भोगे, जे गरे त्यहि कितावचाहिँ समाजका सबै तह र तप्काबाट लोकप्रिय भयो । तर, त्यहि अनुसार व्यवहार मैले जिम्मेवार पदमा रहेर गर्दाचाहिँ म सबैतिरबाट खेदिए, अलोकप्रिय भए । लामो समयसम्म मैले नेपालमा राजनीतिक समस्या देखेको थिएँ, अर्थात् राजनीतिमा समस्या देखेको थिएँ । तर, वास्तवमा यो सत्य रहेनछ । मूल समस्या त हाम्रो समग्र समाज, सोच, संस्कृति र आम व्यवहारमा रहेछ । राजनीतिको जरा त समाजमा रहेको हुँदो रहेछ । अरु क्षेत्र जस्तै राजनीति पनि समाजबाटै उम्रने, हुर्किने र फल्ने, फूल्ने रहेछ ।

राजनीति गर्नेहरूको सम्पूर्ण आधार अनि अस्तित्व समाजमै रहने र आम नागरिकको चरित्र नै राजनीतिक नेतृत्वको चरित्रमा प्रतिविम्वित हुने भनाई सत्य रहेछ । ‘राम्रो चाहने तर राम्रो नगर्ने, राम्रोलाई राम्रो भन्न नसक्ने’ हाम्रो आम चरित्र बनिसकेको रहेछ । यसमा मलाई अव कुनै दुविधा वा शंका रहेन । जबसम्म समाज र संस्कृति सुधार हुँदैन तबसम्म यसैमा अडेको राजनीतिलाई सुधार गरेर मुलुक बनाउँछु भन्नु र ऐना पुछेर अनुहारमा लागेको दाग पुछे जस्तो मात्र रहेछ । राजनीतिबाट अलग भएर बसेको मलाई अचानक सिंहदरवारको ढोका खुल्यो । यसलाई ठूलै अवसर सम्झेको पनि थिएँ र प्राप्त जिम्मेवारीलाई योजनावद्ध अनि ईमान्दारितापूर्वक पूरा गर्ने कोशिस पनि गरे । तर, मलाई सिंहदरवारले गजबको पाठ सिकायो, मेरो सोच र बाटो बदलिदियो । राजनीति गरेर सबैको मन जित्छु भन्ने सोचेको थिएँ, त्यसमा सफल नभए पनि त्यहि अनुभव छापेर चाहि धेरैको मन जित्न सकेकोमा मनमनै दंग पनि परेको थिए । मुलधारका नेताहरू भन्दै थिए– राजनीतिक क्रान्ति सफल भयो अब मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्छ । तर, मेरो निष्कर्षमा चाही अबको कार्यदिशा सामाजिक क्रान्तिमा केन्द्रित हुनुपर्छ भन्ने हो । यदि हामीले सामाजिक रूपमा मुलुकलाई स्पष्ट दिशानिर्देश र नागरिकलाई पूर्ण प्रशिक्षित गर्न सकेनौ भने मुलुकले राजनीतिक परिवर्तनवाट मात्र आर्थिक समृद्धि हासिल गर्न कठिनाई पर्नेछ । यसैले, अबका दिनमा मैले विभिन्न वाद र सिद्धान्त हैन मेरो शासकिय अनुभव सहितको पुस्तकलाई लिएर देशव्यापी रूपमा सामाजिक क्रान्ति जगाउँछु, यो पुस्तकले मलाई फरक तरिकाले ठूलो अवसर दियो ।

राजनीतिवाट विश्राम लिएका मेरा पाइला अब जागिरबाट अवकास लिएकी मञ्जरीका पाइलासँगै सामाजिक क्रान्तिको नयाँ यात्रामा, राजनीति होइन, राजनीतिको जरै सुधार्ने यात्रामा । इच्छा र क्षमता हँुदाहँुदै राजनीतिको मुलप्रवाहबाट परिस्थितिको बगरमा पछारिएकी मञ्जरीको सही र परिपक्व राजनीति त अब पो सुरु हुने भयो, एउटा समावेशी सहयात्रा । वास्तवमा राजनीतिमा लागेको मानिस थाक्ने रहेनछ, म पुनः जागे, सिंहदरवार यात्राले देखाईदिएको एउटा फरक बाटोबाट, आखिर जुन रूपमा गरे पनि मुलुक र नागरिककै सेवा गर्ने हो, फरक परिभाषाको नेपालको माटो सुहाउँदो मौलिक राजनीतिको नाममा । म धन्य छु, सिंहदरवारको छोटो यात्राले मेरो सोच, बोध, वाटो र विधि बदलिदियो, तर गन्तव्यचाहिँ उहि ।

Tags :
प्रतिक्रिया दिनुहोस